अभिनन्दन वर्तमान: पाकिस्तानले बुझायो भारतीय वायुसेनाका पाइलट भारतलाई

तस्बिर स्रोत, PTV

पढ्ने समय: २ मिनेट

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ।

भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो।

पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।

उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।

चिकित्सकीय परीक्षण

उनलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयकी अधिकारी फारेहा बुट्टी आएकी थिइन्।

सेनाको प्रचलनअनुसार उनलाई चिकित्सकीय परीक्षणका लागि लगिँदैछ।

मुक्त हुनुअघि वर्तमानले पाकिस्तानी टीभीलाई पाकिस्तानी सेनाबाट आफू "धेरै प्रभावित" भएको बताएका थिए।

उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।

भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए।

वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो।

तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, "हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।"

अभिनन्दन वर्तमानलाई स्वागत गर्न भारतको पन्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि जाने इच्छा राखेका थिए। तर मर्यादा भङ्ग होस् भनेर उनी सीमामा गएनन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनी मुक्त हुनुभन्दा अगाडि भारतका प्रधानमन्त्रीले तमिलनाडुको कन्याकुमारीमा बोल्दै तमिलनाडु निवासी वर्तमानप्रति आफू गौरवान्वित भएको बताएका थिए।

किन गर्‍यो पाकिस्तानले मुक्त?

तस्बिर स्रोत, Reuters

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो।

कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीहरूको ज्यान गएको सो घटनामा पाकिस्तान संलग्न भएको आरोप भारतले लगाएको छ।

तर पाकिस्तानले त्यसको खण्डन गरेको छ। सो घटना गराएको दाबी गर्ने लडाकु समूह जैश-ए-मोहम्मदको शिविर रहेको भन्दै भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

यसै क्रममा भारतले आफ्नो वायुसेनाका विमानहरू प्रयोग गरेर विभिन्न कारबाही गरेको थियो। त्यसको आफूले प्रतिरोध गरेको पाकिस्तानले बताएको छ।

बढ्दो तनाव मत्थर पार्ने प्रयासस्वरूप पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई वार्ताका लागि आह्वान गरेका छन्।

भारतलाई शान्तिको सन्देश दिन उनले भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गर्ने घोषणा बिहीवार संसद्‌मा गरेका थिए।

दुवै देश तनाव कम पार्ने दबावमा छन्।

तर विवादास्पद कश्मीरको नियन्त्रणरेखाको दुवैपट्टि दुवै देशले ठूलो सङ्ख्या सुरक्षाकर्मी तैनाथ गरेका छन्।

तस्बिरको क्याप्शन, भारतले पाकिस्तानको बालाकोटमा जैश-ए-मोहम्मदको शिविर रहेको र हवाई आक्रमण गरेर त्यसलाई ध्वस्त पारिदिएको दाबी गरेको छ

तस्बिर स्रोत, AFP

तनाव चर्किएपछि पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरिदिएको छ। त्यसबाट धेरै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापना कालदेखि नै यी देशबीच सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

कश्मीर विवादकै कारण उनीहरूबीच दुईचोटि युद्ध भइसकेको छ।

यो पनि पढ्नुहोस्