जापान: विदेशी कामदार भित्र्याउन नयाँ कानुन बन्दै
तस्बिर स्रोत, Getty Images
जापानको मन्त्रिपरिषद्ले अध्यागमनसम्बन्धी नियम खुकुलो पार्न कानुनको एउटा मस्यौदा पारित गरेको छ।
नयाँ कानुनअनुसार देशमा कामदार अभाव भएका क्षेत्रमा काम गर्न दिन विदेशीका लागि दुई प्रकारका प्रवेशाज्ञाको प्रावधान गरिनेछ।
कडा अध्यागमननीति भएको जापानमा थौरै विदेशीले मात्र काम गर्न पाउँछन्।
नयाँ नियम लागु भएपछि निर्माण, कृषि र स्वास्थ्यसेवाका क्षेत्रमा काम गर्न विदेशी श्रमिकहरूले अनुमति पाउनेछन्।
पहिलो प्रकारको प्रवेशाज्ञा पाउने कामदारले जापानमा पाँच वर्ष काम गर्न पाउँछन्।
केही सीप र जापानी भाषाको ज्ञान पनि भएमा तिनका परिवारले पनि जापानमा बस्न पाउनेछन्।
उच्चस्तरको सीप भएका कामदारलाई दोस्रो प्रकारको प्रवेशाज्ञा दिइनेछ। अन्तत: उनीहरूले जापानमै बसोबास गर्न आवेदन पनि दिन पाउनेछन्।
विरोध
सरकारले पारित गरेपछि सो मस्यौदा जापानको संसद्बाट स्वीकृत हुनुपर्छ।
विपक्षी दलहरूले त्यसको सम्भावित प्रभाव र अपराध दरमा हुने वृद्धिप्रति चिन्ता व्यक्त गर्दै सो कानुनको आलोचना गरेका छन्।
विदेशी कामदार प्रयोग गर्न पाउनुपर्ने भन्दै जापानी व्यापारिक संस्थाहरूले लामो समयदेखि अध्यागमनसम्बन्धी नियममा परिवर्तनको माग राखेका थिए।
तर प्रधानमन्त्री शिन्जो आबेले प्रस्तावित कानुनबाट देशको अध्यागमननीति पूरै फेर्न नखोजिएको बताएका छन्।
सांसदहरूलाई उनले बिहीवार 'जापानले विशेष सीप भएका र श्रमिक अभाव भएका क्षेत्रमा तत्काल आवश्यक काम गर्न सक्ने' विदेशी कामदारलाई मात्र लिने बताएका थिए।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन