फ्रान्स: हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

तस्बिर स्रोत, IBO/SIPA/REX/SHUTTERSTOCK

गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।

फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित समातिएको बताइएको छ।

छयालीस वर्षीय फइद गुन्डाहरूबारे बनाइएका चलचित्र धेरै मन पराउँछन् र उनी तिनबाटै आफू प्रेरित भएको बताउने गर्छन्।

सशस्त्र डकैतीको आरोपमा उनलाई सन् १९९८ मा पहिलो चोटि पक्राउ गरिएको थियो।

जुलाई १ मा उनी दोस्रो पटक जेलबाट भागेका थिए।

कसरी भागेका थिए?

दक्षिणपूर्वी प्यारिसस्थित कारागारको आगन्तुक कक्षमा छिरेका तीन सशस्त्र व्यक्तिहरूले उनलाई हेलिकप्टरमा राखेर भगाएका थिए।

त्यसका लागि उनीहरूले बन्धक बनाइएका एक उडान प्रशिक्षकलाई बलपूर्वक हेलिकप्टर चलाउन लगाएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, फइदलाई प्यारिसबाहिर रहेको कारागारमा राखिएको थियो

यसअघि सन् २०१३ मा उनले चार सुरक्षाकर्मीलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै ढोकाहरूमा विस्फोटन गराएर भागेका थिए।

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको कारागार सजाय सुनाइएको थियो।

सो घटनामा एक महिला प्रहरीको मृत्यु भएको थियो।

फइदलाई बुधवार बिहान सबेरै उनको गृहनगर क्रईबाट पक्राउ गरिएको हो।

फ्रान्सकी कानुनमन्त्री निकोल बेलुबेले युरोप वन रेडिओलाई बताएअनुसार फइदलाई अब उच्चसुरक्षा भएको स्थानमा अहोरात्र निगरानीमा राखिनेछ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, फइदलाई उनको गृहनगर क्रईमा पक्राउ गरिएको हो

कानुन कार्यान्वयन गराउने सर्वोच्च भूमिकामा भएका आन्तरिक मामिलामन्त्री जेरा कोलोमले राष्ट्रपति एम्मानुएल माक्रोँलाई अप्ठ्यारो पर्ने गरी राजीनामा दिएको केही घण्टामै फइदलाई पक्राउ गरिएको हो।

कोलोमको राजीनामापछि प्रधानमन्त्री इद्वा फिलिपले नै सो मन्त्रालयको जिम्मेवारी लिएका छन्।

को हुन् रिदुअन फइद?

फइदको जन्म सन् १९७२ मा भएको हो। उनी क्रई नगरमा हुर्केका हुन्।

सन् १९९० को दशकमा उनले सशस्त्र डकैती र बलपूर्वक पैसा उठाउने एउटा आपराधिक समूह सञ्चालन गरेका थिए।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१३ मा भागेपछि उनलाई इन्टर्पोले आफ्नो खोजीको सूचीमा राखेको थियो

हलिवूडमा निर्मित तथा अल पचिनोद्वारा अभिनित चलचित्र स्कारफेसबाट आफ्नो जीवनशैली र केही योजनाहरू प्रेरित भएका उनले बताउने गरेका छन्।

हीट नामक चलचित्रमा देखाइएजस्तै आइस हकी खेल्दा लगाइने मास्क लगाएर उनले सहयोगीहरू सहित सन् १९९७ मा सुरक्षाकर्मीको गाडीमा आक्रमण गरेका थिए।

पछि उनले आफूले हीट चलचित्र सयौँ चोटि हेरेको बताएका थिए। सो चलचित्रका निर्देशक माइकल म्यानलाई फइदले प्यारिसमा आयोजित एउटा चलचित्र महोत्सवमा "तपाईँ मेरा प्राविधिक सल्लाहकार हुनुहुन्थ्यो' भनेका थिए।

सन् २००९ मा प्रकाशित एउटा पुस्तकमा बाल्यकाल प्यारिसका सडकमा व्यतीत गरेका फइद कसरी आपराधिक वृत्तिमा लागे भनेर चित्रण गरिएको छ।

सो पुस्तकले उनलाई फ्रान्सेली प्रहरीभित्र 'ले क्रिभा' अर्थात् 'लेखक' उपनामले चिनाएको थियो।