सैन्य सम्बन्ध विस्तार गर्न भारत र चीन सहमत

तस्बिर स्रोत, Getty Images

भारत र चीनले आफ्ना साझा सीमा क्षेत्रमा तनाव घटाउनका निम्ति सैन्य सम्बन्ध विस्तार गर्नुका साथै आपसी विश्वास बढाउने उपाय लागु गर्न सहमति जनाएका छन्।

दुवै देशले तिनका सशस्त्र फौजबीच एउटा हटलाइन फोन सम्पर्क स्थापित गर्ने कार्य चाँडै सम्पन्न गर्ने भनेका छन्।

तनाव

दिल्लीमा बिहीवार साँझ भारतीय रक्षामन्त्री निर्मला सीतारमण तथा उनका चिनियाँ समकक्षी जनरल वेइ फेङ्हेबीचको वार्तामा ती सहमति भएका हुन्।

तस्बिर स्रोत, AFP

एशियाका यी दुई विशाल छिमेकीबीचको सम्बन्ध गत वर्ष निकै बिग्रिएको थियो।

भुटान नजिकैको विवादित हिमाली क्षेत्रको एक दुर्गम भूभागबारे दुई देशबीच झन्डै ७० दिनसम्म चर्को तनाव कायम रह्यो।

दोक्लाम विवाद भनिने सो प्रकरण शान्तिपूर्वक समाधान भएपछि दुई छिमेकीबीच आपसी विश्वास बढाउने प्रयास भइरहेका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। तस्बिर: Hulton Archive