दार्चुला: विद्यालयमा मोबाइल फोन प्रतिबन्ध किन
- Author, मञ्जु कल्याल
- Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली
नेपालभरि इन्टर्नेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत् इन्टर्नेट चलाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ।
त्यसरी मोबाइल चलाउनेमा विद्यालयका विद्यार्थीदेखि जागिरेसम्म छन्।
सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ।
विद्यार्थीले मोबाइल धेरै हेर्न थालेको भन्दै दार्चुलास्थित महेन्द्र नमुना माध्यामिक विद्यालयले मोबाइलको फोन प्रयोगमाथि प्रतिबन्ध लगाएको छ।
विद्यालय सञ्चालन भइरहँदा पनि विद्यार्थीहरू फोनमै व्यस्त हुन थालेको भन्दै उक्त विद्यालयले आफ्नो परिसरभित्र मोबाइल फोनको प्रयोगलाई निषेध गरेको हो।
निषेध
शिशु कक्षादेखि १२ कक्षासम्म १८ सय विद्यार्थी रहेको उक्त विद्यालय परिसरमा सम्पूर्ण विद्यार्थीहरूलाई मोबाइल फोन निषेध गरिएको छ।
त्यस्तो प्रतिबन्ध विद्यार्थीलाई मात्रै नभई शिक्षकहरूलाई समेत लगाइएको उक्त विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए।
उनले भने, "शिक्षकहरूले पढाउँदै गरेको बेला विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गर्ने, फोन चलाउँदै बस्ने जस्ता गतिविधिहरू गरेपछि त्यसले नतिजा पनि अपेक्षाकृत नआउने जस्तो देखियो।"
हातहातमा अहिले मोबाइल फोन देखिन थालेको छ। मोबाइलमा इन्टर्नेट समेत उपलब्ध हुन थालेकोले अहिले विश्वका खबरहरू हत्केलामै हेर्न, पढ्न र सुन्न सकिन्छ।
तर विद्यार्थीले फोनलाई खालि फोटो खिच्ने र सामाजिक सञ्जाल चलाउन प्रयोग गर्ने गरेको पाइएपछि मोबाइलको प्रयोग निषेध गरिएको विद्यालयले जनाएको छ।
ध्यान
कक्षा १० मा अध्ययनरत छात्र शङ्कर सिंह बोहोराले विद्यालयमा मोबाइल फोनको गलत प्रयोग भएको पाइएपछि शिक्षक र विद्यार्थी दुवैलाई विद्यालय परिसरमा मोबाइलको प्रयोगमाथि प्रतिबन्ध लगाइएको बताए।
सञ्चारको प्रयोगले कामकाजलाई छिटोछरितो तथा प्रभावकारी बनाउने भए पनि पछिल्लो समय भने धेरै मानिसलाई मोबाइल हेरिरहने लत लागेको छ। त्यसबाट कलिला विद्यार्थीहरू अछुतो छैनन्।
तस्बिर स्रोत, Getty Images
कक्षा १० मै अध्ययनरत छात्रा माया जोशीले भनिन्, "अहिले मोबाइल फोनमा प्रतिबन्ध लगाइएपछि कक्षामा धेरै होहल्ला हुँदैन र हामी विद्यार्थीले पनि ध्यान पढाइमा केन्द्रित गर्ने गरेका छौँ।"
केही समयपहिले विद्यालयले विद्यार्थीको पढाइमा सहज होस् र विद्यार्थी पनि केही सिकून् भन्ने सोचका साथ नि:शुल्क इन्टर्नेट जडान गरेको थियो।
तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थाले।
त्यसपछि विद्यालयले मोबाइल फोनको प्रयोगमा बन्देज लगाइदिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ।
तिनमध्ये झन्डै डेढ करोड फोनबाट इन्टर्नेट प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँछ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन