ग्वाटेमाला: ज्वालामुखी विस्फोटका कारण दर्जनौँको मृत्यु
फोएगो ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक हो।
सन् १९७४ मा ठूलो विस्फोट हुँदा नजिककै कृषिजन्य क्षेत्रमा क्षति पुगेको थियो। तर त्यति बेला कोही हताहत भएको विवरण भने आएको थिएन।
अहिलेको विस्फोट भने ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण हो। यसबाट कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ।
झन्डै १७ लाख व्यक्ति ज्वालामुखी विस्फोटबाट प्रभावित भएको बताइएको छ।
खरानीको मुस्लो
राजधानी ग्वाटेमाला सिटीबाट झन्डै ४० किलोमिटर दक्षिण-पश्चिममा रहेको स्थानमा आइतवार फोएगो ज्वालामुखीबाट चट्टान, ग्यास तथा खरानीको मुस्लो निस्किएको थियो।
तीव्र गतिमा लाभा गाउँहरूतर्फ बगेको थियो र धेरै मानिसहरूको आफ्नै घरभित्रै ज्यान गएको थियो।
तस्बिर स्रोत, Guatemala Government
तस्बिर स्रोत, Reuters
सयौँ अन्य घाइते भएका छन् र कैयौँ मानिसहरू हराइरहेका छन्।
देशको मुख्य विमानस्थल पनि बन्द गरिएको छ।
यसै वर्षको फ्रेबुअरीमा भएको अर्को ज्वालामुखी विस्फोटमा १.७ किलोमिटर माथिसम्म खरानीको मुस्लो उडेको थियो।
तस्बिर स्रोत, Reuters
आइतवारको विस्फोट अझ ठूलो स्तरमा भएको हो। खरानीको मुस्लो ६ किलोमिटरभन्दा पनि माथिसम्म उडेको थियो।
वेग
पाएरोक्लास्टिक भनिने रातो अनि तातो चट्टान र ग्यासको मिश्रण पहाडी भेग हुँदै तल बगेको थियो र गाउँहरू त्यसको चपेटामा परेका थिए।
सुस्त गतिमा बग्ने लाभाभन्दा पाएरोक्लास्टिकको बग्ने प्रकृति फरक हुन्छ किनकि यो निकै तीव्र वेगमा बग्दछ र सुस्त गतिमा बग्ने लाभाका क्रममा जस्तो मानिसहरू भाग्न सक्दैनन्।
तस्बिर स्रोत, Reuters
आइतवारको ज्वालामुखी विस्फोट सन् १९०२ देखिकै यता ग्वाटेमालामा भएको सबैभन्दा घातक विस्फोटन हो। त्यतिबेला स्यान्टा मरिया ज्वालामुखी विस्फोट हुँदा हजारौँ मानिसको ज्यान गएको थियो।
उद्धारकार्य
प्रहरी, रेडक्रस तथा सेनाका सयौँ सदस्यहरू उद्धार कार्यमा परिचालन गरिएका छन्। उनीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न तथा अस्थायी आश्रयको व्यवस्था गरिरहेका छन्।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडिओहरूमा उद्धारकर्ताहरूले खरानीले ढाकिएका मानिसहरू तथा लाभाको थुप्रोमा रहेका शवहरू निकालिरहेको देख्न सकिन्छ।
ग्वाटेमालाका राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुखले एल रोडिओ नगर "पुरिएको" जनाएका छन्।
तस्बिर स्रोत, AFP
तस्बिर स्रोत, AFP
उद्धारकर्ताहरू कयौँ गाउँहरूसम्म पुग्न प्रयास गरिरहेका छन् र मृत्यु हुनेको सङ्ख्या बढ्ने ठानिएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन