गाजा-इजरेल सीमा: केही प्यालेस्टिनी प्रदर्शनकारीहरू हताहत

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गाजाको पूर्वी भेगमा विरोधप्रदर्शनमा सहभागी हुँदै प्यालेस्टिनीहरू

गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा प्यालेस्टिनीहरू छ हप्ता लामो विरोधप्रदर्शनको पहिलो दिन इजरेली सीमातिर अगाडि बढेका छन्।

ती प्रदर्शनकारीहरूमाथि गोली इजरेली पक्षले आक्रमण गर्दा केहीको मृत्यु भएको र ३५० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली सेनाले छ स्थानमा 'दङ्गा' भएको र 'उत्तेजना फैलाउने मुख्य व्यक्तिहरूमाथि गोली हानिएको' बताएको छ।

प्यालेस्टिनीहरूले 'फिर्तीका लागि महान् मार्च्' नाम दिइएको विरोधप्रदर्शनका लागि इजरेलको सीमानजिकै पाँच स्थानमा शिविर बनाएका छन्।

इजरेलको प्रतिरक्षा फौज (आईडीएफ) ले सीमानजिकै १७ हजार प्यालेस्टिनीहरू भेला भएको बताएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइट हानूनमा भएको भिडन्त

आईडीएफले दङ्गा नियन्त्रण गर्नका लागि उत्तेजना फैलाउने काममा संलग्न मुख्य व्यक्तिहरूमाथि गोली हानिएको दाबी गरेको छ।

उसका अनुसार दङ्गाका क्रममा टायर बालिएको र सीमाको बारमा पेट्रोल बम र ढुङ्गा हानिएको थियो।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जबालियामा एक जना घाइतेको उद्धार गरिँदै

इजरेलले गाजावरपर 'बन्द सैन्य क्षेत्र' लागु गरेको छ।

आरोप

आज ज्यान गुमाउने पाँच जनामध्ये १६ वर्षीय एक किशोर पनि रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

अर्का जना २७ वर्षीय किसानको मृत्यु विरोधप्रदर्शन आरम्भ हुनुअगाडि नै इजरेली पक्षले गरेको तोप आक्रमणमा भएको बताइएको छ। खान युनुसमा भएको सो घटनामा अर्को एक जना घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार ती दुई जना किसान खेतमा काम गर्दै गरेका बेला सो घटना भएको थियो।

गाजापट्टीमा प्रभाव भएको लडाकु समूह हमासले इजरेलले किसानको हत्या गर्दै अन्य प्यालेस्टिनीलाई विरोधप्रदर्शनमा भाग लिन निरुत्साहित गर्न खोजेको आरोप लगाएको छ।