पाकिस्तानमा तेस्रो लिङ्गी समाचारवाचिका
तस्बिर स्रोत, KOHENOOR NEWS
पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे-नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ।
कोहे-नूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ।
पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीहरूको संख्या १० हजार ४१८ छ।
सामाचारवाचिकाको रूपमा जागिर पाएकी मलिक लहोरकी हुन्।
अनुभव
पहिलो तेस्रो लिङ्गी समाचारवाचिका बनेकी मलिकले यसअघि 'मोड्लिङ' गरिसकेकी छन्।
बीबीसी उर्दूसँग कुराकानी गर्दै मलिकले भनिन्, "कोहे-नूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचारवाचिकाका लागि आवेदन दिएँ। अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए।"
तस्बिर स्रोत, MARVIA MALIK
"मेरो पालो आएपछि कर्मचारीले मलाई कुर्न भने। पछि मलाई भित्र बोलाइयो र तपाईँलाई हामी प्रशिक्षण दिन्छौँ, कोहे-नूर न्यूजमा स्वागत छ भने। यति सुनेर खुशीले मेरा आँखाहरू रसाए।"
उनले थपिन्, "मैले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले मेरा आँखाहरू रसाएका हुन्। प्रशिक्षणका क्रममा मलाई कुनै कठिनाइ भएन। अरूलाई जस्तै मलाई पनि उनीहरूले सिकाए। मैले कुनै प्रकारको भेदभाव महसुस गरिनँ।"
'फेशन शो'
समाचारवाचिकाको प्रशिक्षणपछि हालै मलिक लहोरमा र्याम्पमा उत्रिएकी थिइन्।
उनले आफू पाकिस्तानकी पहिलो तेस्रो लिङ्गी मोडल पनि भएको बताइन्। मलिकले लहोर 'फेशन शो' मा ठूला मोडलहरूसँग सहभागी भएको बताइन्।
उनले भनिन्, म आफ्नो समुदायका लागि केही गर्न चाहन्छु ताकि उनीहरूको अवस्था राम्रो हुन सकोस्।
मलिकले थपिन्, "मैले समाचारवाचिकाको जागिर पाएँ। तर मेरो र सडकमा माग्ने एवं नृत्य गर्ने तेस्रो लिङ्गीहरूको कथा उस्तै छ। र, त्यसलाई बदल्न जरूरी छ।"
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन