किम-ट्रम्प वार्ताबारे दक्षिण कोरिया के भन्छ?
तस्बिर स्रोत, Reuters
दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी तनावबारेका वार्तामा महत्वपूर्ण प्रगति हासिल भएको घोषणा गरेको छ।
उत्तर कोरियाली नेता किम जङ अनलाई हालै भेटेका दक्षिण कोरियाली बरिष्ठअधिकारीहरुले किमको सन्देश अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकहाँ पुर्याएका छन्।
उक्त सन्देशमा किमले वार्ताको आग्रह गर्दै उत्तर कोरियाले पारमाणविक हतियार त्याग्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
ट्रम्पलाई ह्वाइट हाउसमा भेटेपछि दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा प्रमुख जङ यी योङले दिएको विज्ञप्तिको पूर्ण पाठ:
"आज राष्ट्रपति ट्रम्पलाई मेरो हालैको उत्तर कोरिया भ्रमणबारे 'ब्रीफ' गर्ने मौका पाएँ। राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति र मेरा नजिकका मित्र जनरल म्याकमाष्टर (अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार) सहित राष्ट्रपतिको राष्ट्रिय सुरक्षा सम्बन्धी समूहलाई म धन्यवाद दिन चाहन्छु।
"मैले राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व र उच्चतम दबाब दिने नीति तथा त्यसमा व्यक्त अन्तर्राष्ट्रिय एक्यबद्धताले हामीलाई यो बिन्दुमा पुर्याएको छ भनेर व्याख्या गरेँ। राष्ट्रपति ट्रम्पको नेतृत्वप्रति मैले हाम्रा राष्ट्रपति मुन जे इनको व्यक्तिगत कृतज्ञता पनि ज्ञापन गरेँ।
"मैले राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किम जङ अनले पारमाणविक निश:स्त्रीकरण प्रति प्रतिबद्धता प्रकट गरेको बताएँ। किमले उत्तर कोरियाले अब कुनै पारमाणविक या क्षेप्यास्त्र परिक्षण नगर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छन्।
"उनले कोरियाली गणतन्त्र र संयुक्त राज्य अमेरिकाबीचको नियमित सैन्य अभ्यासले निरन्तरता पाउनुपर्छ भन्ने बुझेका छन् र राष्ट्रपति ट्रम्पलाई जतिसक्दो चाँडो भेट्ने तत्परता व्यक्त गरेका छन्।
"राष्ट्रपति ट्रम्पले उक्त व्रिफ्रिङको प्रशंसा गरे र आफूले किम जङ अनलाई स्थायी नि:शस्त्रीकरण हसिल गर्न मे महिनसम्ममा भेटघाट गर्ने बताए।
"कोरियाली गणतन्त्र, संयुक्त राज्य अमेरिका र हाम्रा विश्वभरका धेरै साझेदारहरु कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु अस्त्रबाट मुक्त गर्न दृढ एवं प्रतिबद्ध रहेका छौँ।
"राष्ट्रपति ट्रम्प सहित हामी सबै शान्तिपूर्ण समाधानको प्रयासको परीक्षण गर्न कूटनीतिक प्रक्रियालाई निरन्तरता दिन आशावादी छौ।
"कोरियाली गणतन्त्र, संयुक्त राज्य अमेरिका र हाम्रा साझेदारहरु एक ठाउँमा उभिएर विगतका गल्ती नदोहोर्याउने अडान व्यक्त गर्दछौँ र उत्तर कोरियाले आफ्ना बोली अनुसारको ठोस व्यवहार नदेखाएसम्म दबाब दिइराख्नेछौँ। धन्यवाद।"
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन