अक्सफाम यौन काण्ड: पीडितलाई 'न्याय दिइने'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मलाई थाहा छ - हामीसँग समस्या छ'

ब्रिटिश परोपकारी संस्था अक्सफामले आफ्ना कर्मचारीहरूसँग जोडिएका यौन दुर्व्यवहारका आरोपबारे छानबिन गर्न एउटा स्वतन्त्र आयोग गठन गर्ने जनाएको छ।

उक्त अन्तर्राष्ट्रिय सहायता संस्थाका केही कर्मचारीहरूले हेइटी र चाडमा मानवीय सहयोग गर्न जाँदा यौनकर्मीहरू प्रयोग गरेको आरोप छ।

अक्सफामकी प्रमुख विनी ब्यान्यीमाले कुनै पनि कर्मचारीहरुले गलत गरेको भेटिए उत्तरदायी बनाइने बीबीसीलाई बताएकी छन्।

आफू उत्पीडनमा परेका सबै महिलाको पक्षमा रहेको भन्दै उनले पीडितहरूलाई न्यायका लागि अगाडि आउन आग्रह गरेकी छन्।

सो संस्थाले सन् २०११ मा हेइटी मा सहयोग गर्दा कर्मचारीहरूले यौनकर्मीहरू प्रयोग गरेको भन्दै आलोचनाको सामना गरिरहेको छ।

क्षमायाचना

उनले भनिन्, "संस्था उक्त कार्यप्रति दु:खी छ। यो संस्था कुनैपनि तरिकाबाट मर्न सक्दैन। विश्वलाई यो संस्था चाहिन्छ।"

तस्बिरको क्याप्शन, 'अक्सफामले त्यस्ता व्यवहारलाई नसहने नयाँ वातावरण स्थापित गर्नेछ'

ब्यान्यिमाले गत हप्ताको समाचारपछि मात्र आफूले उक्त विवादास्पद विषयबारे सुनेको बताइन्।

बीबीसी संबाददातासँगको अन्तर्वार्तामा उनले युगान्डेली भाषामा बोल्दै भनिन्, "म मनभित्र बाटै भन्छु - अक्सफामलाई क्षमा दिनोस्।"

तर संस्थामा अहिले पनि यौन दुराचारीहरू छैनन् भनेर ग्यारेन्टी गर्न आफूले नसके पनि उनले अक्सफामले त्यस्ता व्यवहारलाई नसहने नयाँ वातावरण स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले सुधारका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्ने र त्यसले यौन उत्पीडनसँग सम्बन्धित आरोपहरूको छानबिन गर्ने बताइन्।

तस्बिर स्रोत, VRT

तस्बिरको क्याप्शन, रोलन्ट भन होअरमाइरनले यौनकर्मी प्रयोग गरेको समाचार अघिल्लो महिना आएको थियो

सन् २०११ मा हेइटीमा मानवीय सहायताको समयमा अक्सफामका राष्ट्रिय निर्देशक रोलन्ट भन होअरमाइरनले यौनकर्मी प्रयोग गरेको समाचार अघिल्लो महिना आएको थियो। सन् २०११ मा अक्सफाम छोडेका होअरमाइरनले यौनकर्मी प्रयोग गरेको आरोप अस्वीकार गरेका थिए।

डतर आफ्नो सम्बन्ध यौनकर्मी नभएकी एउटी महिलासँग भएको उनको दाबी थियो।

हेइटीमा सन् २०१० मा दुई लाख मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि सहयोग गर्न अक्सफामका कर्मचारी त्यहाँ गएका थिए।