प्रदेश सभा शपथका झलक

नेपालमा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनबाट चुनिएका सदस्यहरूले आइतवार आ-आफ्नो प्रदेशको अस्थायी मुकाममा शपथ ग्रहण गरेका छन्।

तस्बिरको क्याप्शन, प्रदेश १ को अस्थायी मुकाम विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख गोविन्द सुब्बाले प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ दिलाएका थिए। त्यसपछि सरावगीले प्रदेशसभाका अन्य सदस्यहरुलाई शपथ दिलाएका थिए। प्रदेश १को प्रदेशसभामा ९३ सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश २ मा शपथअघि केहीबेर भाषालाई लिएर विवाद भएपनि पछि विवाद मिलेको थियो। नेपाली भाषामा रहेको शपथपत्रमा हस्ताक्षर नगर्ने अडान केही सदस्यले राखेका थिए। तर पछि विभिन्न भाषामा शपथ लिने तर हस्ताक्षर चाहिँ नेपालीमै लेखिएको शपथपत्रमा गर्ने गरी विवाद सुल्झिएको थियो। सदस्यहरुले नेपाली, मैथिली, भोजपुरी, हिन्दी लगायतका भाषामा शपथ लिएका थिए। प्रदेश २ को प्रदेशसभामा १०७ सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ दिलाएकी थिइन्। त्यसपछि पौडेलले अन्य सदस्यहरूलाई शपथ दिलाएका थिए। प्रदेश ३ को प्रदेशसभामा ११० सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश ४ को अस्थायी मुकाम पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य ६७ वर्षिय जनकलाल श्रेष्ठलाई शपथ दिलाएका थिए। मनाङबाट निर्वाचित राजीव गुरूङ शपथमा अनुपस्थित थिए। गुरूङलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय सुनाएको छ। प्रदेश ४ को प्रदेशसभामा ४० सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ दिलाएका थिए। एमालेकी समानुपातिक सदस्य जलपा भुषाल र राष्ट्रिय जनता पार्टीकी समानुपातिक सदस्य बिना पन्त उपस्थित भएनन्। आइतवारै बसेको नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेललाई सर्वसम्मत चयन गरेको छ। प्रदेश ५ को प्रदेशसभामा ८७ सदस्य छन्। एमालेको मात्र ४१ जना सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश ६ को अस्थायी मुकाम वीरेन्द्रनगर, सुर्खेतमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ दिलाएका थिए। त्यसपछि शाहीले अन्य सदस्यहरूलाई शपथ दिलाएका थिए। प्रदेश ६ को प्रदेशसभामा ४० सदस्य छन्।
तस्बिरको क्याप्शन, प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभाकी ज्येष्ठ सदस्य दिव्येश्वरी शाहलाई शपथ दिलाएका थिए। त्यसपछि शाहले अन्य सदस्यहरूलाई शपथ दिलाएकी थिइन्। शपथ लिने बेला नेपाली कांग्रेसका तर्फबाट डोटीका प्रदेशसभा सदस्य भरत खड्का र नेकपा एमालेकी सभासद् चुनकुमारी चौधरी उपस्थित थिएनन्। प्रदेश ७ को प्रदेशसभामा ५३ सदस्य छन्।