यु-१९ एसियाली क्रिकेट: भारतविरुद्ध नेपालको ऐतिहासिक जित

तस्बिर स्रोत, NSJF

तस्बिरको क्याप्शन, भारतविरुद्ध क्रिकेटको कुनैपनि आधिकारिक प्रतियोगितामा नेपालले जितेको यो पहिलो पटक हो।

मलेसियामा जारी १९ वर्षभन्दा कम उमेर समूहको एसियाली क्रिकेट प्रतियोगिता यु-१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ।

टेष्ट खेल्ने राष्ट्र भारतविरुद्ध नेपालले कुनैपनि आधिकारिक क्रिकेट प्रतियोगितामा जित हात पारेको यो पहिलो पटक हो।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले उमेर समूहकै प्रतियोगितामा अविस्मरणीय नतिजाहरु निकाल्दै आएको छ।

महत्वपूर्ण

यो क्रममा नेपालले दक्षिण अफ्रिका र न्युजिल्याण्डलाई दुई,दुई पटक तथा पाकिस्तान, बांग्लादेश र जिम्वावे जस्ता टेष्ट राष्ट्रलाई एक,एक पटक हराइसकेको छ।

यु-१९ प्रतियोगितामा आइतबार नेपालले टस हारेर पहिलो ब्याटिङ् गर्दै १८५ रन जोडेको थियो।

जवाफमा भारतीय टोली १६६ रनमा समेटिन पुग्यो।

नेपाललाई जित दिलाउन कप्तान दिपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण रह्यो।

ब्याटिङ्मा ८८ रनको योगदान दिएका उनले चार विकेट लिएका थिए।

तस्बिर स्रोत, NSJF

तस्बिरको क्याप्शन, ८८ रन बनाउनुका साथै चार विकेट लिएका कप्तान दिपेन्द्र सिंह ऐरी खेलको 'म्यान अफ द म्याच' भए।

सम्भावना

शनिबार भएको खेलमा नेपालले बांग्लादेशलाई अन्तिम ओभरमा १० रन बनाउनबाट रोक्न नसक्दा हार बेहोरेको थियो।

यो जितसँगै नेपालको प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा आयोजक मलेसियासँग मंगलवार खेल्नेछ।

प्रतियोगितामा एसियाका आठ राष्ट्रहरुले सहभागिता जनाइरहेका छन्।