यमन भोकमरी: 'विश्व उदासीन'

तस्बिर स्रोत, Reuters

यमनमा हिंसाको कारण बढ्दै गएको संकटप्रति अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरिरहेको आरोप लगाउँदै सहायताकर्मीहरुले अबको केही महिनामा त्यहाँ व्यापक भोकमरी निम्तने चेतावनी दिएका छन्।

यमनमा रहेका संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले त्यहाँ मानवीय संकट देखा पर्दा विश्वले आँखा चिम्लिएको आरोप लगाएका हुन्।

संयुक्त राष्ट्रसंघका यमनस्थित सहायता संयोजक जेमी मक्गोडरिकले बीबीसीसँग बोल्दै बालबालिकाले भोकमरीका कारण ज्यान गुमाउन थालिसकेको बताए।

परिणाम

मक्गोडरिकले यमनमा करिब दुई वर्षयता भएको द्वन्द्वमा देशका थुप्रै भौतिक संरचनाहरु ध्वस्त भएको र देशको आधा भन्दा बढी जनसंख्याले बाँच्नका लागि आधारभूत सामाग्री गुमाएको बताए।

यस्तो अवस्थामा रहेको यमनलाई सहायता नगरेकोमा विश्वले पछुताउनुपर्ने चेतावनी पनि उनले दिएका छन्।

बीबीसीसँग बोल्दै उनले भने, "यो संकट यस्तो हो जुन हामीले पहिचान गरेनौं र यसले हामीलाई नै सताउन आइपुगेको छ। किनभने हाम्रो असमनताको परिणामको मूल्य हामीले नै चुकाउनुपर्नेछ।"

अक्सफामले भनेको छ, करिब दुई वर्षदेखिको द्वन्द्वले यमन बिस्तारै भोकमरीमा फसिरहेको छ।

तस्बिर स्रोत, Reuters

आह्वान

उसले यमनमा खाद्य सामग्रीको आयातलाई सिमित बनाउने प्रतिबन्धहरु हटाउन हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनलाई आह्वान गरेको छ।

साउदी अरेबियाको समर्थन पाएको यमन सरकारविरुद्ध पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेह सँग निकट रहेका फौज र हुथी लडाकुहरु लडिरहेका छन्।

त्यहाँ सन् २०१५ को मार्च महिनाबाट शुरु भएको द्वन्द्वका कारण १ करोड ८० लाख मानिसहरु मानवीय सहायताको खाँचोमा रहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म ७ हजार दुई सय ७० भन्दा बढी सर्वसाधारणहरु यमनको द्वन्द्वमा ज्यान गुमाएका छन् भने करिब ४० हजार मानिसहरु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सहायता संस्थाहरुले यसअघि पनि यमनमा भोकमरी देखापर्नसक्ने प्रति सचेत गराएका थिए।