प्रतिनिधिसभाको मतदान औपचारिक रूपमा
सकिएको निर्वाचन आयोगले जनाएको छ। तर अपराह्ण ५ बजेसम्म मतदानस्थल पुगेर लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए।
आयोगले साँझ ६ः१५ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिन लागेको छ। अहिले आयोगका अधिकारीहरू र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले छलफल गरिरहेका छन्।
दोलखाको एउटा मतदानकेन्द्रमा अवरुद्ध मतदानका सन्दर्भमा सम्बन्धित अधिकारीले बुझाएको विवरणको मूल्याङ्कनका आधारमा सक्दो छिटो निर्णय गरिने जीसीले बताए।
जेन जी आन्दोलनपछि विकसित घटनाक्रम र प्रतिनिधिसभा विघटनसँगै आजका लागि नयाँ निर्वाचनको मिति घोषणा भएको थियो।
देशभरि प्रत्यक्ष र समानुपातिकतर्फका दुई
बेग्लाबेग्लै मतपत्रमा मतदाताले भोट हाले।
अधिकांश सुगम जिल्लामा बिहीवार अबेरबाटै
मतपेटिकाहरू गणनास्थल पुर्याएर भोट गन्ने काम सुरु हुन सक्ने निर्वाचन आयोगका
अधिकारीहरूले बताएका छन्।
कतिपय हिमाली जिल्लाका हकमा हेलिकप्टरबाट
मतपेटिका सङ्कलन गर्ने काम शुक्रवार बिहानबाट मात्र सुरु हुने छ।
आयोगले जुनसुकै ठाउँमा गणना थालेको
२४ घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने बताउँदै आएको छ।
समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचन प्रणालीमा गरी कुल ६,५०० उम्मेदवार प्रतिस्पर्धामा छन्।
योग्य मतदाताको सङ्ख्या भने एक करोड ८९ लाखभन्दा बढी छ।