तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

केपी शर्मा ओली र रमेश लेखक पक्राउ : ‌‌'तत्काल रिहा गर्न' एमालेको माग, देशका विभिन्न सहरमा प्रदर्शन

ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई भक्तपुरकै कटुन्जेस्थित निवासबाट शनिवार बिहानै पक्राउ गरिएको बताइएको छ।

सारांश

  • पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा भूतपूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेको बारे एमालेको कडा विरोध, देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन
  • नेकपा एमालेको बैठकद्वारा "बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सर्ना र विरोध"
  • नेपाली कांग्रेसद्वारा सरकारलाई परिपक्व हुन तथा विधि बमोजिम कार्य गर्न आह्वान
  • मन्त्रिपरिषद्को निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ

लाइभ कभरेज

  1. धन्यवाद।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको विषयमा केन्द्रित भएर विभिन्न घटनाक्रमहरूको जानकारी आज हामीले यस लाइभ पेजमार्फत् प्रस्तुत गर्‍यौँ।

    आजको निम्ति लाइभ पेज बन्द भएको छ। बाँकी अपडेटहरूका निम्ति हाम्रो वेबसाइट तथा सामाजिक सञ्जालमा हेर्दै गर्नुहोला।

  2. ओलीको गृहनगर दमकमा मसाल जुलुस, विक्रम निरौला, विराटनगर

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ पक्राउ गरिएको विरोधमा उनको गृहनगर झापाको दमकमा एमाले कार्यकर्ताले शनिवार साँझ मसाल जुलुस निकालेका छन्।

    उनीहरूले ओलीलाइ प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सरकारको विरोधमा नारा लगाएका थिए।

    झापाको विर्तामोडमा पनि मसाल जुलुस निकालिएको बताइएको छ ।

    एमाले कार्यकर्ताले आज दिउँसो पनि झापामा विरोध प्रदर्शन गरेका थिए।

  3. ओलीको रिहाइ माग गर्दै जुम्लामा राँके जुलुस प्रदर्शन, कृष्णमाया उपाध्याय, जुम्ला

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेनिकट युवा सङ्घ जुम्लाले राँके जुलुस प्रदर्शन गरेको छ।

    नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रर्दशनपछि टुङ्गिएको थियो।

    ओलीको तत्काल रिहाइ गरिनुपर्ने माग गर्दै आफूहरूले विरोध प्रर्दशन जारी राख्ने आन्दोलनको नेतृत्व गरिरहेका आदिप्रसाद न्यौपानेले बताए।

    जिल्ला प्रशासन कार्यालयअगाडि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ।

    आन्दोलनबाट कुनै क्षति नहोस् भनेर चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिएका छन्।

  4. ओली र लेखक पक्राउबारे कांग्रेसको औपचारिक धारणा के हो?

    नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनि आफ्नै दलका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोबारे आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई परिपक्व हुन आग्रह गरेको छ।

    उसले तत्कालका निम्ति कुनै सडक कार्यक्रम ल्याउने बताएको छैन तर यो परिस्थितिको सही सम्बोधन विधिबमोजिम हुनुपर्ने भनेको छ।

    कार्की आयोगको प्रतिवेदन हालसम्म विधिसम्मत ढङ्गबाट सार्वजनिक नगरिएको भन्दै कांग्रेसले त्यसबारे “सञ्चारमाध्यममा प्रकाशित भएको प्रतिवेदनका बारेमा आएका प्रतिक्रिया हेर्दा आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा हेरेको तर २४ का घटनालाई नजरअन्दाज गरेको विषय प्रथम दृष्टिमै विधिको शासनविपरीत र त्रुटिपूर्ण देखिन्छ” भनेको छ।

    कांग्रेसको धारणाबारे बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले पार्टीका महामन्त्री प्रदीप पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्।

  5. सुर्खेतमा पनि विरोध प्रदर्शन, प्रकाश पन्त, सुर्खेत

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

  6. नेपालगन्जमा गृहमन्त्रीको पुत्ला दहन, विमला चौधरी, नेपालगन्ज

    नेकपा एमाले बाँके जिल्ला कमिटीले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ।

    एमाले कार्यकर्ताहरू पार्टी कार्यालयबाट बीपी चोकसम्म पुगे। त्यहाँ प्रदर्शनकारीले गृहमन्त्री सुधन गुरुङको पुत्ला दहन गर्नुका साथै टायर बालेर विरोध जनाएका थिए।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुकासम्म रिहा नगरे आन्दोलनलाई अझ सशक्त बनाउने र भोलि जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले चेतावनी दिए।

  7. एमाले कार्यकर्ताद्वारा वीरगन्जमा प्रदर्शन, माधुरी महतो, वीरगन्ज

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले शनिवार वीरगन्जमा प्रदर्शन गरेका छन्।

  8. पूर्वराष्ट्रपति भण्डारी भन्छिन्, 'ओली र लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय'

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनालाई "अपरिपक्व निर्णय"को सङ्ज्ञा दिएकी छन्।

    शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै भण्डारीले यो निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिएको दाबी गरेकी छन्।

    गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन "पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको" भन्दै भण्डारीले भनेकी छन्, "कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।"

    "सुशासनलाई मुख्य अजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो। लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ," पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्।

  9. ओली र लेखकलाई पक्राउ गर्ने निर्णय 'प्रतिशोधपूर्ण' भएको आरोपबारे सरकारका प्रवक्ता

    नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलसँग बीबीसी न्यूज नेपालीका कमल परियारले गरेको कुराकानी सुन्नुहोस्।

  10. ओलीलाई पक्रिएको विरोधमा चितवनमा प्रदर्शन, ईश्वर जोशी, नारायणगढ

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उनको पार्टीका कार्यकर्ताहरूले चितवनमा पनि प्रदर्शन गरेका छन्।

    हेर्नुहोस् केही तस्बिरहरू।

  11. काठमाण्डूको बबरमहलमा विरोध प्रदर्शन

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरूले काठमाण्डूको बबरमहलमा विरोध प्रदर्शन गरेका छन्।

    हेर्नुहोस् केही तस्बिरहरू।

  12. पोखरामा पनि विरोध प्रदर्शन, कृष्णमणि बराल, पोखरा

    आज बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले कास्कीको पोखरामा विरोध प्रदर्शन गरेका छन्।

    केही तस्बिरहरू हेर्नुहोस्।

  13. ओलीको पक्राउ प्रक्रियामा ‘तीन त्रुटि’ रहेको उनले परामर्श गरेका वकिलको भनाइ

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न अपनाइएको प्रक्रियामा ‘तीनवटा कानुनी त्रुटि’ रहेको ओलीले परामर्श गरेका वकिलले बताएका छन्।

    उनले ओली र लेखकको रिहाइका लागि आइतवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिने पनि बताएका छन्।

  14. ओलीलाई रिहा गर्न माग गर्दै काठमाण्डूमा टायर बालेर प्रदर्शन

    शनिवार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाण्डूको भृकुटीमण्डपमा टायर बालेर विरोध प्रदर्शन गरेको छ।

    केही तस्बिरहरू हेर्नुहोस्।

  15. एमाले सचिवालयले पारित गरेका ५ प्रस्ताव केके हुन्

    आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको नेकपा एमाले सचिवालय बैठकले पाँच प्रस्ताव पारित गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन्।

    बैठकपछि पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार ती प्रस्तावहरू यसप्रकार छन् -

    १. पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान "सूर्योदयअगावै" गरिएको "प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी" गिरफ्तारीको "निन्दा, भर्त्सना र विरोध" गर्दै उक्त गिरफ्तारी "लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको" ठहरसहित उनीहरूको तत्काल रिहाइको माग गर्ने,

    २. २०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पार्टीको सुरूदेखि नै असहमति र विरोध रहँदै आएको र आयोगद्वारा प्रस्तुत प्रतिवेदन "पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत" पार्टीको ठहर भएकाले उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्ने,

    ३. ओली र लेखकमाथि गरिएको "नियोजित, निर्देशित र गैरकानुनी" गिरफ्तारीको विरोध अनि उनीहरूको रिहाइ,कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई अनुरोध गर्ने,

    ४. आज बिहानको गिरफ्तारीले "संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएको" हुनाले यस "प्रतिशोधपूर्ण" कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने; यस घटनाबाट कत्ति पनि "विचलित" नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढन समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्ने,

    ५. आजको गिरफ्तारीविरुद्ध भोलि चैत १५ गते आइतवार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोधपत्र बुझाउने, आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरू तय गरिने।

  16. ओलीलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शन, विक्रम निरौला, विराटनगर

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ता सडकमा निस्किएका छन्।

    विराटनगरस्थित पार्टी कार्यालयमा भेला भएर उनीहरू बजार क्षेत्रमा प्रदर्शनमा निस्किएका हुन्।

    यसअघि ओलीलाई पक्राउ गरिएको घटनाप्रति नेकपा एमाले कोशी प्रदेश कमिटीले आपत्ति जनाएको थियो। एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदम पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको उल्लेख गरेका छन्।

  17. स्वास्थ्य परीक्षणपछि रमेश लेखक प्रहरीको २ नम्बर गणमा

    केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका क्रममा तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो।

    त्यसपछि उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको उनले बताए।

  18. एमाले सचिवालयको आकस्मिक बैठकको माग - ओलीलाई 'तत्काल रिहा गरियोस्'

    नेकपा एमालेको सचिवालयको आकस्मिक बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेको जनाइएको छ।

    पार्टी अध्यक्ष पक्राउ परेपछि बसेको बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा पार्टी महासचिव शङ्कर पोखरेलले केपी ओलीलाई पक्राउ गर्ने सरकारको कदमलाई "पूर्वाग्रहपूर्ण र गैरकानुनी" भएको बताए।

    बैठकपछि एक विज्ञप्ति सार्वजनिक गर्दै पोखरेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगप्रति आफ्नो पार्टीको सुरुदेखि नै असहमति रहेको र यसको प्रतिवेदन पनि "पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत" रहेको पार्टीले ठहर गरेको बताएका छन्।

    "तसर्थ उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न यो बैठक माग गर्दछ," विज्ञप्तिमा भनिएको छ।

    बैठकमा सहभागी पार्टी सचिव महेश बस्नेतले पनि आफ्नो फेसबुक पोस्टमार्फत् बैठकको विवरण दिएका छन्।

    त्यसमा आम जनसमुदाय तथा नागरिक समाजलाई पनि दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्न आग्रह गर्ने निर्णय भएको जनाइएको छ।

    त्यसैगरी जनसङ्गठनहरूका तर्फबाट प्रत्येक जिल्लामा विरोध प्रदर्शन, प्रमुख जिल्ला अधिकारीहरूलाई विरोध पत्र बुझाउने उल्लेख छ।

    "लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने," बस्नेतले लेखेका छन्।

  19. केपी शर्मा ओली टिचिङ अस्पताल ‘भर्ना’

    शनिवार बिहानै प्रहरीले पक्राउ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएकोमा स्वास्थ्य परीक्षणको रिपोर्टहरूको प्रतीक्षा भइरहँदा अस्पतालमा भर्ना गरिएको छ।

    त्यहाँ ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले उनलाई चिकित्सकहरूले रिपोर्टहरू आउनुअगावै भर्ना गरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बीबीसीलाई बताएका छन्।

    "विद्यमान स्वास्थ्य समस्या र ज्येष्ठ उमेरकै कारण वहाँमा मुटुसम्बन्धी परीक्षणहरू समेत गरिएको छ," रोस्याराले भने। "रिपोर्टहरू राम्रो आएमा भर्ना गरिराख्न आवश्यक हुने भएन। नत्र त्यही जारी रहन्छ।"

    आज मध्याह्नसम्म स्वास्थ्य परीक्षणका नतिजाहरू प्राप्त हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

    बाँकी कानुनी प्रक्रियाका लागि ओलीलाई हिरासतमा कहाँकसरी राख्ने भन्ने निर्णय "स्वास्थ्य जाँचको रिपोर्ट, चिकित्सकको सल्लाह र कानुनबमोजिम हुने" यसअघि केन्द्रीय प्रहरी प्रवक्ताले बीबीसीलाई बताएका थिए।

  20. प्रहरीका सबै एकाइ ‘उच्च सतर्कतामा’

    केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछिको अवस्थामा देशभरका सबै प्रहरी एकाइहरूलाई "उच्च सतर्कतामा राखिएको" नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले बीबीसीलाई बताएका छन्।

    "कानुन पालना गर्नु, शान्तिसुरक्षा, अमनचयन कायम गर्ने कुरामा नागरिक, पार्टी सबैको कर्तव्य हुन्छ। त्यसैले यस कानुनी प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ," प्रवक्ता काफ्लेले भने।

    शुक्रवार बसेको मन्त्रिपरिषद्को पहिलो निर्णयअनुसार गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गरी सो समितिले भनेबमोजिम गरिने र अन्यका हकमा भने आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय उल्लेख भएको सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले जनाएका थिए।

    त्यसअनुसार ओली र लेखकबाहेक अन्यलाई पनि पक्राउ गरिँदै छ कि भनेर बीबीसीले सोधेको प्रश्नमा काफ्लेले भने : "अन्यको निर्णय हामीलाई प्राप्त भएको छैन।"

    दुईपटक मिर्गौला प्रत्यारोपण गरेका भूतपूर्व प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

    त्यसपछि उनलाई "परीक्षणको रिपोर्टअनुसार, चिकित्सकको सल्लाहअनुसार र कानुनबमोजिम हुने" प्रवक्ता काफ्लेले बताए।