नोबेल पुरस्कार विजेता भन्छन् राम्रो खाना, राम्रो निद्रा र नियमित कसरत बुढ्यौलीको औषधिभन्दा प्रभावकारी
तस्बिर स्रोत, Getty
- Author, कार्लोस सेर्रानो
- Role, बीबीसी मुन्डो
मानिसहरू सबै बूढा हुन्छन् र मर्छन् तर, पनि हामी सबै यो प्रक्रियााबाट डराइरहेका हुन्छौँ। हामी किन बूढा हुन्छौँ र किन मर्छौँ ? के बुढ्यौलीलाई बिस्तारै केही समय टार्न वा अमरत्व प्राप्त गर्न सम्भव छ?
यिनै प्रश्नहरूले ७१ वर्षीय मोलिक्युलर बायोलोजिस्ट वेङ्कटरमण रामकृष्णनको करिअरको धेरै समय खाएको छ।
सन् २००९ मा थोमस ए स्टेट्ज र एडा इ योनथ सँगै रामकृष्णनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए।
उनले प्रोटिन उत्पादन गर्ने कोष संरचना अर्थात् राइबोजोमबारे गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए। यिनै मोलिक्युलले सम्पूर्ण जीवमा जीवन सम्भव बनाइदिन्छन्।
रामकृष्णन ‘ह्वाइ वी डाइ: द न्यू साइन्स अफ एजिङ एन्ड द क्वेस्ट फर इमोर्टालिटी’का लेखक हुन्। उनको पुस्तक आगामी मार्चमा सबभन्दा पहिले अङ्ग्रेजी भाषामा प्रकाशित हुनेछ।
हामीले उनीसँग यिनै विषयहरूमा कुराकानी गरेका छौँ। यो अन्तरवार्तामा रामकृष्णनले कोषको क्षयीकरण गराउने रासायनिक प्रतिक्रियादेखि लामो समय बाँच्दाखेरि समाजमा पर्ने विशाल प्रभावसम्म कुराकानी गरेका छन्।
तस्बिर स्रोत, Getty
बूढो हुने भनेको के हो, मान्छेमा बूढो हुने प्रक्रिया कस्तो हुन्छ?
बूढो हुँदै जाने भनेको हाम्रो डीएनएमा हुने जीनमा भइरहने क्षय सङ्ग्रह हुँदै जानु हो।
जीनमा प्रोटिन कसरी बनाउने भन्ने मूल्यवान् जानकारी हुन्छ।
कोषको तहमा प्रोटिनहरूले हजारौँ रासायनिक प्रतिक्रिया गरिरहेका हुन्छन् जसले जीवन सम्भव बनाउँछ। त्यसले हाम्रो शरीरलाई आकार र शक्ति दिन्छ। उनीहरूले कोषहरूबीच सञ्चार प्रवाह पनि गराउँछन्।
त्यसकै कारण हामीसँग इन्द्रियहरू छन्। विभिन्न सङ्केतहरू यताउता प्रसारित गर्न र हाम्रो स्मृतिमा सङ्ग्रह गर्न हाम्रो स्नायु प्रणाली त्यसैमाथि निर्भर रहने गर्छ।
हाम्रा एन्टिबडीहरू प्रोटिन हुन् र तिनैले कोषहरूलाई आवश्यक पर्ने बोसो, कार्बोहाइड्रेट, भिटामिन, होर्मोन र जीनहरू समेतका मोलिक्युलहरू बनाउन अनुमति दिन्छन् ।
त्यसैले बुढ्यौली हाम्रो शरीरका कोषहरूमा प्रोटिनको उत्पादन र क्षयीकरण अनुगमन गर्ने क्षमतामाथि धेरै नै निर्भर छ।
हामी यसलाई आफ्नो अणुमा, आफ्नो कोशिकामा, हाम्रा कोशिकामा र हाम्रो समग्र शरीरमा रासायनिक क्षतिका रूपमा हेर्न सक्छौँ।
तस्बिर स्रोत, Getty Images
बुढ्यौली हामी जन्मिएको क्षणदेखि नै सुरु हुने एक क्रमिक प्रक्रिया हो। जन्मेदेखि नै हामी बूढो हुन सुरु गरिसकेका हुन्छौँ तर हामी हुर्किरहेको वा विकास भइरहेका बेला त्यो महसुस हुँदैन।
वर्षहरू बित्दै जाँदा लक्षणहरू स्पष्ट हुँदै जान्छन् र जब हाम्रो शरीरको महत्त्वपूर्ण प्रणाली विफल हुन सुरु हुन्छ, शरीरले एकीकृत रूपमा काम गर्न सक्दैन। यो नै मृत्युको कारक बन्न पुग्छ।
मृत्युको बारेमा अनौठो कुरा के छ भने हामी मरे पनि हाम्रा अधिकांश कोषहरू जीवित नै हुन्छन् – त्यसैकारण हाम्रा अङ्गहरू मृत्युपछि पनि दान दिन सकिन्छ- तर तिनले सम्पूर्ण र एकीकृत रूपमा काम गर्न सक्दैनन्। त्यही नै मृत्यु हो।
तस्बिर स्रोत, Getty Images
तपाईँले आफ्नो पुस्तकमा जीव विज्ञानका हरेक विषय क्रमिक विकास (इभोल्युशन)का सन्दर्भमा व्याख्या गरिएको पाइन्छ भन्नुभएको छ। क्रमिक विकासका दृष्टिकोणमा हामी किन बूढा हुन्छौँ र किन मर्छौँ?
क्रमिक विकासले हामीलाई व्यक्तिका रूपमा महत्त्व दिँदैन।
क्रमिक विकास भनेको वास्तवमा हाम्रा जीनहरू पुस्तौँ पुस्तामा सार्न सक्ने क्षमता हो। ती जीनहरू शून्यमा बाँच्न सक्दैनन्। ती त व्यक्तिमा बस्ने हुन्।
त्यसैले जबसम्म तपाईँ बढ्न, प्रजनन गर्न र तपाईँका सन्तान आफ्नो प्रजनन उमेरसम्म पुगून् भन्ने निश्चित गर्न सक्नुहुन्छ क्रमिक विकासले त्यसपछि तपाईँमा के होला भन्ने पर्बाह गर्दैन किनभने तपाईँले आफ्नो जीन अर्को पुस्तामा हस्तान्तरण गरिसक्नुभएको हुन्छ।
यो सत्य हो कि हाम्रा अङ्गहरूले बुढ्यौली नआओस् भनेर प्रयास गर्न सक्छन् अथवा क्षय भएका कोषहरू मर्मत गर्नमा राम्रो संयन्त्र बनाउन सक्छन् तर क्रमिक विकासको सिद्धान्तका दृष्टिकोणमा हामी छिटो छिटो बढौँ र नयाँ पुस्ता बनाऔँ अनि हाम्रा जीन पुस्तामा हस्तान्तरण गरौँ भन्नु अधिक उपयुक्त हुनेछ।यो सन्तुलन विभिन्न प्रजातिमा फरक फरक हुन्छ।
उदाहरणका लागि अरूद्वारा खाइने डर भएका प्रजातिहरू उच्च जोखिममा रहन्छन् यस्ता जीवका अङ्गहरूले थुप्रै वर्ष बाँच्न विकास हुने क्षमता राख्ने भन्ने त्यति महत्त्वको विषय होइन किनभने उसलाई कुनै पनि बेला अरूले खाइदिन सक्छ।
स्तनधारीहरूमा साना आकारका तुलनामा ठूला आकारका जीवहरूको जीवन चक्र अलि लामो हुने गर्छ। यसमा एउटा अनौठो अपवाद छ – मुसाहरू र चमेराहरूको तौल झन्डै उस्तै उस्तै हुन्छ तर चमेराको जीवन चक्र मुसाको भन्दा धेरै लामो हुन्छ।
किन? किनभने उनीहरू उड्न सक्छन् त्यसैले उनीहरूलाई अरूले खाइदिने खतरा कम हुन्छ।
तस्बिर स्रोत, Getty Images
गएको १५० वर्षमा मानिसको औसत आयु दोबर भएको छ। वैज्ञानिकहरूबीच भएको एउटा बहस के हो भने यस्तो औसत आयु अझै बढिरहन सक्छ कि हाम्रा अङ्गहरू कहिलेसम्म बाँच्न सक्छन् भन्ने सीमामा हामी पुगिसकेका छौँ? यो बहसमा तपाईँको भनाइ के हो?
अहिले हामी लामो आयु बाँच्छौँ किनभने हाम्रो स्वास्थ्य र औषधी विज्ञानमा सुधार आएको छ।
अहिलेसम्मको ज्ञानका आधारमा १२० वर्ष चाहिँ हामीले अहिले सबभन्दा लामो समय बाँच्न सक्ने आयु हो। त्यो भन्दा बढी बाँच्ने भन्ने कुरा हुन सक्दैन होला।
उदाहरणका लागि अमेरिकाको बोस्टनमा दीर्घायुको अध्ययन गरिरहेका वैज्ञानिक टम पर्ल्सले पत्ता लगाएको कुरा के हो भने १०० वर्षसम्म पुग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ तर ११० वर्ष पुग्ने मानिसको सङ्ख्यामा वृद्धि भएको छैन।
उनी ठान्छन् ११० वर्षको आयु पछि हामीले प्राकृतिक जैविक सीमाको सामना गर्नुपर्ने हुन्छ।
उनीहरूको जीवन शैली र जीनको संयुक्त प्रभावका कारण ११० वर्षभन्दा बढी बाँच्ने कैयौँ मानिसहरू छन् तर, त्यस्ता मानिसको सङ्ख्या बढ्दै गइरहेको छैन। त्यसैले यसमा प्राकृतिक सीमा छ जस्तो देखिन्छ।
विभिन्न गणनाहरूले देखाएका छन् - क्यान्सर जस्ता रोगहरू समाप्त पार्दा पनि हामीले औसत आयु केही वर्षले मात्र बढाउन सक्छौँ।
यदि हामीले कुनै हिसाबले बुढ्यौली आउन नदिने उपचार पत्ता लगाउन सम्भव बनायौँ भने पनि प्राकृतिक सीमा पार गर्न शायद हामी सक्दैनौँ किनभने त्यस्तो गर्न कति सजिलो हुनेछ भन्नेबारे मैले त्यति यकिन गर्न सकेको छैन। र त्यसो गर्नु वाञ्छनीय छ कि छैन भन्ने पनि मलाई थाहा छैन। यसबारे हामीले सोच्नुपर्ने पनि हुन्छ किनभने त्यसको ठूलो सामाजिक परिणाम हुन सक्छ।
केही आशावादी मानिसहरू १५० वर्ष बाँच्न सक्ने मानिस अहिले जन्मिसकेको ठान्छन् तर मलाई उनीहरू अलि बढी नै आशावादी भए कि भन्ने लाग्छ। किनभने बूढ्यौलीका बहु आयामिक पक्ष छन् र यो स्पष्ट छैन कि केही निश्चित समाधान प्राप्त होलान् जसले बुढ्यौली रोक्ला र हामी स्वस्थ रहिरहुँला।
तस्बिर स्रोत, Getty Images
र अर्को ठूलो बहस चाहिँ बुढ्यौली रोग हो कि…
क्यान्सर, डीमेन्सिया, इन्फ्लमेशन, ओस्टियोआर्थ्राइटिस, हृदयसम्बन्धी रोगहरू सबै उमेरसँग सम्बन्धित छन् त्यसैले त्यस्ता मानिसहरू पनि छन् जो उमेरको सम्बन्ध यस्ता रोगहरूसँग छ भन्ने ठान्छन्, त्यसैले बूढो हुनु भनेको रोग हो भन्नेहरू पनि छन्।
तर अरू कैयौँ मानिस बुढ्यौली त हामी सबैलाई हुन्छ भन्ने औँल्याउँछन्। बुढ्यौली सर्वव्यापी र अपरिहार्य छ त्यसलाई कसरी रोग भन्न सकिन्छ र भन्छन्?
विश्व स्वास्थ्य सङ्गठनले बूढ्यौलीलाई रोग होइन भन्ने हालै घोषणा गरेको छ।
बुढ्यौलीलाई रोग भन्नुपर्छ भन्ने दबाव पनि ठूलै छ किनभने यो सम्बन्धी अनुसन्धानमा ठूलो धनराशि लगानी भइरहेको छ।
क्लिनिकल अध्ययन गर्न र अधिकारीहरूबाट अनुमति पाउन त्यस्तो कार्यको केन्द्रमा रोग नै हुनुपर्छ।
बुढ्यौली विरुद्धको उपचारमा आउँदा वर्षमा कुन क्षेत्रमा कस्ता प्रगति हुने तपाईँ देख्नुहुन्छ?
बेसबल खेलाडी योगी बेराले भन्ने गरेका भनेर गरिने ठट्टा जस्तै: “अनुमानहरू लगाउने काम निकै गाह्रो काम हो, खासगरी भविष्यका बारेमा।”
ती कति विकसित छन् भन्नेबारे मलाई खासै धेरै थाहा छैन तर बुढ्यौलीको गति सुस्त गराउने थुप्रै उपायहरू गरिएकाछन्।
उदाहरणका लागि अनुसन्धानकर्ताहरूले क्यालरीको उपभोग कम गराउँदा उमेर बढ्ने गति पनि ढिलो हुन पुग्छ भन्ने पत्ता लगाएका छन्। तर कम उमेरमै त्यसो गर्दा समस्या पनि हुन सक्छ भन्ने चेतावनी छ।
त्यसैले क्यालोरी सिमित गर्ने कार्य जस्तै प्रभाव पार्ने औषधी बनाउन सकिन्छ कि भन्नेबारे उनीहरू अध्ययन गरिरहेका छन्।
म ठट्टा गर्दै भन्छु त्यो भनेको चाहिँ तपाईँ केक र आइसक्रिम क्यालोरीको चिन्ता नगरीकन खानुहुन्छ अनि त्यसपछि औषधीको चक्की खानुहुन्छ। धेरै मानिसहरू त्यस्तै गर्न चाहन्छन्।
र्यापामाइसिन भन्ने औषधीबारे धेरैको रुचि छ जसले त्यस्तै काम गर्छ तर उच्च डोजको औषधी भयो भने त्यो 'इम्युनोसप्रेसिभ' हुन सक्छ र त्यसले गम्भीर क्षति पुर्याउन सक्छ।
अर्को रुचिकर क्षेत्र भनेको प्याराबायोसिस हो जसमा तपाईँले जवान जनावरको रगत उमेर बढी भएको जनावरमा हालेर फेर्ने काम हुन्छ।
त्यस्तो गर्दा रगत प्राप्त गर्ने जनावरले धेरै कुरामा पुनर्ताजगी प्राप्त गर्न सक्छ। त्यसको अर्थ हो रगतमा केही तत्त्वहरू हुन्छन् जो बुढ्यौलीका कारक हुन्। र त्यसलाई पत्ता लगाउने अध्ययन भइरहेका छन्।
अर्को एउटा सेनेसेन्स भन्ने पनि तरिका छ जसमा कोषहरूले स्वाभाविक काम गर्न छोड्छन् र विभाजित हुन छोड्छन्।
उमेर बढ्दै जाँदा हामीमा धेरै सेनेसेन्ट कोषहरू जम्मा हुँदै जान्छन् र त्यसपछि तिनले उत्पादन गर्ने सुजनले शरीरमा केही ठिक भइरहेको छैन भन्ने हुन्छ र त्यो पनि बुढ्यौलीको थप एक कारक हो।
त्यसैले अनुसन्धानकर्ताहरू सोचिरहेका छन्: के सेनेसेन्ट कोषहरू छानेर मास्न सकिन्छ त? यदि त्यसो गर्न सकियो भने बुढ्यौलीका प्रभावहरू उल्ट्याउन सकिन्छ भन्ने प्रमाणहरू छन्।
र सेलुलर रिप्रोग्रामिङबारे पनि रुचिकर एउटा क्षेत्र छ जहाँ एउटा कोष लिइन्छ र त्यसमा भएका परिवर्तन उल्ट्याइन्छ।
निश्चित रूपमा त्यो प्रक्रिया खतराजन्य छ किनभने यसले धेरैजसो क्यान्सरयुक्त ट्यूमर सिर्जना गराउँछ।
हामी त्यो मानवहरूमा परीक्षा गर्ने कामबाट टाढा नै छौँ तर जनावरहरूमा गरिएका परीक्षणहरूले सकारात्मक परिणाम दिएका छन्।
यी बाहेक पनि तपाईँले अरू उपायहरूको चर्चा गरेर ध्यान तान्नु भएको थियो जुन अहिलेलाई विज्ञान कथा जस्ता लाग्छन् र खुब चर्चा भइरहेको छ…
हो यी अहिलेको अवस्थामा विज्ञान कथाकै रूपमा छन्।
केही मानिसहरू छन् जो 'क्रायोजेनिक्स 'मा विश्वास गर्छन् जुन भनेको कुनै मानिसको मृत्यु भएपछि उस्को शरीरलाई तरल नाइट्रोजनमा 'फ्रिज' गरेर राख्ने र भविष्यमा कुनै अत्याधुनिक प्राविधिक उपाय उपलब्ध भएपछि त्यसको मद्दतले ति मृतकलाई पुनर्जीवित गर्न सकिनेछ भन्ने सोच हो। तर त्यस्तो कसरी हुन्छ भन्नेबारे अहिले हामीलाई केही थाहा छैन।
मलाई लाग्छ यो अहिलेका लागि अलि बढाइचढाइ गरेर गरिएको चर्चा मात्र हो। मानिसमा मृत्युका प्रति रहेको त्रासलाई ध्यानमा राखेर त्यसकै आधारमा त्यस्तो चर्चा गरिएको हो।
र मलाई लाग्छ यो 'पहिलो विश्व'का धेरै पैसा हुने मानिसहरूसँग सम्बन्धित छ जसले जे पनि किन्न सक्छन् यौवनबाहेक।
म भारतमा हुर्किएको हुँ र म अफ्रिकाका धेरै मानिस चिन्छु। र त्यहाँका कोही पनि मानिसले क्रायोजेनिक्सबारे सोच्ने गर्दैनन्।
तस्बिर स्रोत, Getty Images
बुढ्यौलीबारेको त्रास सर्वत्र छ। त्यसैकारण हामी बोटोक्स प्रयोग गर्छौँ। हामी सेता कपाल रङ्ग्याउँछौँ त्यस्ता प्रकारका कुराहरू गर्छौँ… के तपाईँलाई उमेर बढ्ने गति ढिलो पार्ने यस्ता प्रयासहरूले बुढ्यौलीप्रतिको त्रासलाई झन बढाइरहेको जस्तो लाग्छ?
बूढो नदेखियोस् भन्ने प्रयास गर्नमा प्रायः मानिसहरूले ठूलो दबावको अनुभव गरिरहेका देखिन्छ र त्यो दबाव खासगरी महिलामा धेरै परेको देखिन्छ। यो असाध्यै नराम्रो कुरा हो।
तर उमेर बढ्ने गतिलाई ढिलो गराउने सम्बन्धी अनुसन्धानहरूले बुढ्यौलीको त्रासलाई बढाइदिन्छ भन्ने मलाई लाग्दैन। बरु बुढ्यौलीको त्रासले उमेर बढ्ने गति धीमा गराउने कामको प्रयत्न भइरहेको जस्तो मलाई लाग्छ।
यो त्रास हाम्रो इतिहास देखिकै त्रास हो किनभने हामीसँग यथेष्ट मेडिकल ज्ञान छैन।
बुढ्यौली ढिला गर्न विज्ञान र प्रविधिमा ठूलो प्रयत्न र धनराशि खर्च भइरहेको छ तर तपाईँले आफ्नो किताबमा स्वस्थ रहने अन्य तरिका पनि छन् जो हाम्रा पहुँचमा छन् भन्नुभएको छ…
राम्रो खानेकुरा खाने, राम्ररी निदाउने र नियमित कसरत गर्ने जस्ता व्यवहार बजारमा उपलब्ध बुढ्यौली ढिलो गर्ने भनेर बेचिने औषधीभन्दा बढ्ता प्रभावकारी छन्।
तिनका लागि पैसा खर्च गर्न पर्दैन र त्यसमा बलियो जैविक आधार पनि छ बुढ्यौलीविरुद्धको।
मानिसको क्रमिक विकास धेरै खानका लागि भएको होइन। मिठाइ जस्ता खानेकुरा खानका लागि पनि त्यस्तो क्रमिक विकास भएको होइन।
हाम्रो प्रजाति शिकारी खेल्ने र जङ्गलमा उपलब्ध खानेकुरा खोजेर खाने प्राणीबाट क्रमिक रूपमा विकास हुँदै गएको हो। हामीले कहिलेकाहीँ मात्र खान पाउँथ्यौँ र प्राकृतिक रूपमा नै लामो समय भोकै बस्थ्यौँ। त्यसैले मैले यस अघि भनेको क्यालोरी कम गर्ने कुरा पनि यसमै आउँछ।
तर अहिले हामी भोक नलागेको भए पनि खाना खान्छौँ। र पश्चिममा हामीले असाध्यै धेरै मोटोपन बढिरहेको देखेका छौँ।
हामी कसरतबारे कुरा गरौँ न त । अहिले हामीले एकठाउँमा धेरै बेर बसिरहने किसिमको जीवनशैली अपनाएका छौँ जुन हाम्रा पुर्खाहरूले गर्ने खेतीकिसानी, शिकार र श्रम गर्ने कामभन्दा फरक छ।
र हामी धेरैजसो निद्रालाई कम महत्त्व दिन्छौँ। तर यो हाम्रो शरीरको मर्मतसम्भारका लागि असाध्यै मूल्यवान् छ।
यी पुराना जुक्तिहरूको अभ्यास गर्ने हो भने हाम्रा मांसपेशीलाई चुस्त राख्न, 'माइक्रोक्रोन्ड्रिअल फङ्कशन' नियमित राख्न, रक्तचाप तनाव र डीमेन्सियाको खतरा कम गर्न मद्दत मिल्छ।
समस्या यो मात्रै हो कि त्यसको अनुसरण गर्नु हाम्रा लागि सधैँ सजिलो हुँदैन। मानिसहरू कहिले कहिले केवल एक चक्की लिएर आफ्नो इच्छा अनुसार आफ्नो जीवन जिउन मन पराउँछन्। त्यही कुरालाई हामीले अन्त्य गर्नुपर्छ।
एउटा लोकप्रिय भनाइ छ नि: तपाईँ कति वर्ष बाँच्नु भो भन्ने कुराले त्यति महत्त्व राख्दैन बरु ती तपाईँले बाँचेका वर्षमा कस्तो जीवन बाँच्नु भयो त्यसले महत्त्व राख्छ?
त्यो असाध्यै राम्रो लोकोक्ति छ र म त्यसमा सहमत छु। त्यसले जीवनमा केही लक्ष्य हुनु पर्ने र जीवनको अधिकतम लाभ उठाउनु पर्ने कुराको महत्त्वलाई प्रस्टसँग अघि सारेको छ।
जीवनमा केही उद्देश्य राख्नाले हृदयाघातको खतरा घटाउँछ र 'संज्ञानात्मक गिरावट' को खतरा पनि घटाउँछ भन्नेबारे थुप्रै प्रमाणहरू फेला परिसकेका छन्।
तर यो पनि सत्य हो कि हामी सबै सहज रूपमा यथासम्भव लामो समयसम्म जीवित रहन चाहन्छौँ।
र यसले एक विरोधाभास उत्पन्न गर्छ। किनभने व्यक्तिगत रूपमा हामी जे चाहन्छौँ त्यो समाज वा पृथ्वीका लागि राम्रो नहुन पनि सक्छ।
हामी ऊर्जा प्रयोग, विश्वव्यापी तापक्रम वृद्धि र जैविक विविधता कम हुँदै जानुमा पनि त्यस्तै प्रवृति भइरहेको देख्छौँ… हामीले समाजलाई बृहत्तर रूपमा हानी हुने कुराहरू व्यक्तिगत फाइदाका लागि गरिरहेकै छौँ । र यस्तो व्यवहारलाई उल्ट्याउन वास्तविक र सचेत प्रयास आवश्यक छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन