पुटिनको सहायता गर्न किम जङ् अन मस्को जाँदै
तस्बिर स्रोत, AFP via Getty
उत्तर कोरियाका नेता किम जङ् अन यसै महिना रुस यात्रामा निस्कन लागेको एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएका छन्।
ती दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अस्त्र दिन सक्ने सम्भावनाबारे छलफल गर्ने ठानिएको छ।
उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन।
अन्य अमेरिकी समाचार संस्थाहरूमा पनि आएका विवरणहरूबारे उत्तर कोरिया वा रुसले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।
‘बख्तरबन्द’ रेलमा यात्रा
न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जङ् अन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ।
उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ।
दुई देशबीच अस्त्रसम्बन्धी कुराकानीमा सक्रिय प्रगति भइरहेको ह्वाइट हाउसले बताए लगत्तै यो भ्रमणको समाचार बाहिर आएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उनको हालैको उत्तर कोरिया भ्रमणमा प्योङ्याङलाई हतियार बेच्न मनाउने कोसिस गरेको बताएका छन्।
उनको कुराकानीका बेला उत्तर कोरियाले ह्वासङ् अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको थियो। उक्त अस्त्रलाई ठोस प्रोपेलेन्ट प्रयोग गर्ने उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) ठानिन्छ।
साथै कोभिड महामारी यता उत्तर कोरियाले कुनै पनि विदेशी पाहुनाका लागि उसको ढोका खोलेको पनि त्यो पहिलो अवसर थियो।
तस्बिर स्रोत, Reuters
पत्र आदानप्रदान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ अनले शोइगुको त्यस भ्रमणयता पत्र आदानप्रदान गर्दै ‘द्विपक्षीय सहयोग बढाउने वाचा’ गरेका छन्।
“हामी उत्तर कोरियालाई रुससँग अस्त्र वार्ता बन्द गर्न अनि प्योङ्याङले सार्वजनिक रूपमै रुसलाई अस्त्र दिने वा बेच्ने काम नगर्ने भनेर गरेको प्रतिबद्धता पालना गर्न आह्वान गर्छौँ,” जोन कर्बीले भने।
यदि उत्तर कोरियाले रुसलाई अस्त्र दिएमा अमेरिकाले आर्थिक प्रतिबन्ध लगायतका कारबाही गर्ने उनले चेतावनी दिए।
त्यसरी रुसलाई अस्त्र सहयोग गरेको बदलामा प्योङ्याङले के प्राप्त गर्ला भन्ने बारे वाशिङ्टन र सोलमा चिन्ता बढेका छन्।
सोमवार दक्षिण कोरियाको गुप्तचर निकायले शोइगुले रुस, चीन र उत्तर कोरियाले पनि अमेरिका, जापान र दक्षिण कोरियाले जस्तै संयुक्त नौसैनिक अभ्यास गर्नुपर्ने प्रस्ताव राखेको जनाएको छ।
अर्को डर भनेको रुसले भविष्यमा उत्तर कोरियालाई अस्त्र दिन सक्छ जतिखेर प्योङ्याङलाई त्यसको खाँचो पर्नेछ। थप चिन्ताको विषय चाहिँ किम जङ् अनले रुससँग अत्याधुनिक अस्त्र प्रविधि वा ज्ञान माग्न सक्छन् जसले उनको परमाणु कार्यक्रममा महत्त्वपूर्ण प्रगति हुनसक्छ।
तर सम्भावना के पनि छ भने यो कुराकानी दुवैको आवश्यकतामा मात्र भर परेको छ – यतिखेर रुसलाई अस्त्रको खाँचो परेको छ भने उत्तर कोरियालाई खाना र पैसाको।
न्यूयोर्क टाइम्सले दुई नेताको भेट रुसको पूर्वी तटको बन्दरगाह सहर भ्लादिभोस्तोकमा हुनसक्ने जनाएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन