तनहुँ-१ मा तीन दलको प्रतिष्ठाको लडाइँ

भट्टराई

तस्बिर स्रोत, facebook/GovindaBhattarai

    • Author, नारायण कार्की
    • Role, दमौली

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनमा मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको चुनाव प्रतिष्ठाको लडाइँ बनेको बताइएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि खाली भएको यस निर्वाचन क्षेत्रमा चुनावको मुखैमा नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले उम्मेदवारी दिएपछि नतिजा जसको पक्षमा समेत जान सक्ने आकलन गरिएको छ।

नेपाली कांग्रेसले त्यहाँ यसअघि नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष भइसकेका पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार गराएको छ।

मङ्सिर ४ मा पौडेल निर्वाचित भए तापनि २०७४ सालको चुनावमा पौडेललाई नै नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठले पराजित गरेका थिए।           

यसपटक एमालेले त्यहाँ पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आफ्नो उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ भन्ने कुरा उक्त दलका केन्द्रीय स्तरका नेता तथा सांसदहरु चुनावी घर दैलोमा लागेकोबाट देख्न सकिन्छ।

चुनावमा नौवटा पार्टीहरूले उम्मेदवारी दिए तापनि तीनवटा पार्टीको चुनावी चर्चाले अरू पार्टीहरूलाई ‌ओझेलमा पारेको देखिन्छ।

एकमात्र महिला उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले आफू आशावादी भएर घरदैलो अभियानमा लागिरहेको बताइन्।

लाइन
लाइन

चुनावी मैदान

खनाल

तस्बिर स्रोत, facebook/SarbendraKhanal

लाइन

दमौली बजारमा घरदैलोका क्रममा भेटिएका प्रतिनिधिसभाका सदस्य सन्तोष परियार नेपालको राजनीतिमा विगतमा मत परिवर्तन गर्न कठिन अवस्था भए तापनि यसपटक त्यो फेरिएको बताउँछन्।

"यतिखेर मतदाताहरू अब त अति भयो भनेर खुलेर लागेको पाइन्छ," परियार भन्छन्।

"चुनावी प्रतिस्पर्धा त्रिपक्षीय भनिए पनि मूलभूत रूपमा रास्वपा र नेपाली कांग्रेसकाबीच हुने हामीलाई लाग्छ।"

नेपाली कांग्रेस केन्द्रीय नेताहरू चुनावी सभामा भाषण गर्न मात्र नभई घरदैलो गर्नसम्म काठमाण्डूबाट धाइरहेका छन्।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेल "लोकतान्त्रिक-वामशक्ति र अहिले नयाँ शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पाटीबीच प्रतिस्पर्धा हुने" बताउँछन्।

नेकपा एमाले भने आमसभाभन्दा घरदैलो अभियान र कोणसभामा केन्द्रीत भएको देखिन्छ।

एमालेका नेताहरू आफ्नो हिजोको मत सुरक्षित रहेको र नेपाली कांग्रेसको मत राष्ट्रिय स्वतन्त्र पार्टीका कारण विभाजित हुने हुँदा आफ्ना उम्मेदवार सर्वेन्द्र खनालको जित सहज हुने विश्वासमा छन्।

नेकपा एमालेका तनहुँ जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ भन्छन्, "तर प्रतिस्पर्धा त्रिपक्षीय हुन्छ।"

तर रोचक के छ भने भट्टराईबाहेक वाग्ले र खनाल दुवै आफू प्रतिस्पर्धामा उत्रिएको क्षेत्रका मतदाता होइनन्।

लाइन
लाइन

मतदाता के भन्छन्?

वाग्ले

तस्बिर स्रोत, facebook/SwarnimWagle

दमौलीमा भेटिएकी एक महिला टेम्पोचालक रामकुमारी मगरातीले यसपटक रास्वपाको चुनाव चिन्ह घन्टीबारे धेरै चर्चा सुनेको बताउँछिन्।

अर्की गृहिणी महिला सावित्री हड्खले कांग्रेस र घन्टीको 'दोहोरो हावा चलेको' बताउँछिन्। तर

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ व्यापार-व्यवसाय असहज अवस्थामा भए पनि निजी क्षेत्रलाई सम्बोधन हुनेगरी कुनै पनि दलहरूले ठोस रूपमा नबोलेको गुनासो गर्छन्।

समाजसेवी सुशीला शर्माले दलहरूको चुनावी एजेण्डामा महिलाका विषय प्राथमिकतामा नपरेको बताइन्।

व्यास नगरपालिकाका दुई वडाबाहेक १२ वटा वडा, भानु नगरपालिका, आबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकाका कुल १ लाख २३ हजार ३०५ मतदाताले वैशाख १० गतेको निर्वाचनमा मतदाताका रूपमा छन्।

मतको हिसाब कसरी भइरहेको छ

मङ्सिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका उम्मेदवार एकबहादुर रानालाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए।

हाल नेकपा (एकीकृत समाजवादी) का सांसद रहेका किसान श्रेष्ठले विसं २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाव लड्दै पौडेललाई पराजित गरेका थिए।

विसं २०७९ सालको आमनिर्वाचनमा भने पौडेललाई सघाउन कृष्णकुमार श्रेष्ठ खुलेरै लागेका थिए। उनी भने बाराबाट उम्मेदवारी दिएर प्रतिनिधिसभामा निर्वाचित भए।

यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेतादेखि गण्डकी प्रदेशमा मुख्यमन्त्री पदका आकाङ्क्षी तनहुँ-१ क्षेत्रकै प्रदेशसभा-२ बाट प्रदेशसभा निर्वाचित हरिबहादुर चुमान पनि भट्टराईको चुनावी अभियानमा संलग्न छन्।

चितवनबाट स्वयं उम्मेदवार रहेका रवि लामिछाने आफ्नो पार्टीका तनहुँका उम्मेदवारलाई विजयी गराउन चितवनको आफ्नै निर्वाचन क्षेत्रसँग जोडिएको तनहुँको निर्वाचन क्षेत्रमा आउन बरम्बार नारायणी वारपार गरिरहेका छन्।

गत मङ्सिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर 'सम्मानजनक' मत ल्याएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई फकाउन नेपाली कांग्रेसले उनीमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिएको थियो।

त्यै पनि जोशी खुलेरै रास्वपाको पक्षमा लागेको चर्चाबीच कांग्रेसमाथि चुनावी दबाब थपिएको छ।