तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विमला चौधरी र माधुरी महतो
    • Role, नेपालगन्ज र वीरगन्ज

विगत केही दिनदेखि गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ।

जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको ३० वर्षीया कृष्णी थारू बताउँछिन्।

आफ्नै जग्गाजमिन नभएका कारण विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी उनी पछिल्ला वर्षहरूमा बर्खा याममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउँछिन्।

"बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउलाजस्तो हुन्छ। तर यो काम नगरी सुखै छैन। मैले काम गर्नैपर्छ," नेपालगन्जसँग दाङ जोड्ने बाटो निर्माण भइरहेका ठाउँमा काम गर्दै गरेकी उनले भनिन्।

गर्मी बढ्दै गएको भए पनि उनी र अन्य महिला कामदारहरू काममा व्यस्त छन्।

गर्मी याममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने उनी र उनका साथीहरू बताउँछन्। 

तस्बिर स्रोत, BIMALA CHAUDHARY/BBC

तस्बिरको क्याप्शन, उखरमाउलो गर्मीमा काम गर्नुपर्दा चक्कर आउला जस्तो हुने महिला मजदुर बताउँछन्

उता वीरगन्जमा पनि कामै गर्न नसकिने गरी गर्मी बढ्दा त्यसले बिहानबेलुका छाक टार्न गाह्रो हुन थालेको मजदुरहरू बताउँछन्।

तराईको धेरैजसो ठाउँमा अहिले तापक्रम अधिकतम ४१ डिग्री सेल्सियस नाघेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले सिमरा र जनकपुरमा अधिकतम तापक्रम ४० डिग्री नाघेको छ भने नेपालगन्ज, वीरेन्द्रनगर, भैरहवा र विराटनगरमा अधिकतम तापक्रम बढेर ४१ डिग्री पुग्ने क्रममा देखिएको विभागले जनाएको छ।

सोमवारको तुलनामा नेपालगन्ज, भैरहवा, धनगढी र डोटीलगायतका ठाउँमा भने तापक्रम थोरै घटेको देखिएको छ।

तस्बिरको क्याप्शन, मङ्गलवार तराईका केही क्षेत्रमा अधिकतम तापक्रम ४१°C पुगेको छ

वीरगन्जका बीजमोहन माझी रिक्सा चालक हुन्। अहिले गर्मी बढ्दा यात्रु पाउन र चर्को घाममा रिक्सा चलाउन निकै कठिन भएको उनी बताउँछन्।

"अहिले घाम अनि तातो हावाले बिरामी नै पार्लाजस्तो भएको छ। तर पेट पाल्न काम त गर्नपर्‍यो। मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन," उनले भने।

"गर्मीले दुईछाक टार्न कठिन भएको छ तर जसरी पनि काम गरौँ भने चढ्ने मान्छे नै पाइँदैन।"

उनको जस्तै अनुभव वीर गन्जमा दैनिक मजदुरी गर्ने धेरैको छ।

तस्बिर स्रोत, MADHURI MAHATO/BBC

तस्बिरको क्याप्शन, गर्मीमा यात्रु कुर्दै वीरगन्जका रिक्साचालकहरू

तस्बिर स्रोत, RSS

मानिसहरूको दैनिक जनजीवनमात्रै नभई अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका कामहरू गर्न जान पनि कठिन भएको सेवाग्राही बताउँछन्। सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ।

दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणहरूले बताएका छन्।

तस्बिर स्रोत, BIMALA CHAUDHARY/BBC

तस्बिरको क्याप्शन, गर्मीका कारण सुनसान नेपालगन्ज

हुम्लाबाट काम विशेषले नेपालगन्ज झरेकी मनमाया बस्नेतले गर्मीका कारण आफ्नो काम प्रभावित भएको बताइन्।

उनले भनिन् ‘‘नेपालगन्जमा गर्मी खान आएकोजस्तो मात्र भएको छ। कार्यालयमा लाइनमा बसेर केही गर्नुपरेमा गर्मीले लाइनमै ढल्ने जस्तो अवस्था छ।’’

सुर्खेतका भीमप्रसाद काफ्लेले पनि नेपालगन्जमा टिक्नै नसक्ने गर्मी महसुस भइरहेको बताए ।

"सुर्खेतबाट यता आउँदा साह्रै गर्मी महसुस भयो, शरीरभरि बिमिरा आइसक्यो। हिँडडुलको त कुरै छोडौँ, दिउँसोको समयमा घरभित्र बस्न समेत समस्या भइसक्यो," उनले भने।

वर्षौँदेखि नेपालगन्ज बस्दै आएका मानिसहरू पनि पहिलेको तुलनामा गर्मी बढ्दै गएको अनुभव सुनाउँछन्।

स्थानीय बासिन्दा भक्त पुनले गर्मी छल्न दैनिक चार पटकसम्म चिसो पानीले नुहाउने गरेको बताए।

"त्यत्तिकै बस्दा पनि खलखली पसिना आइराख्छ, नुहाएको १० मिनेटमा फेरि उस्तै पसिना आउन थाल्छ।"

नेपालगन्जकै राधिका थापाले कामका लागि बजार निस्कनु परे बिहान र बेलुकाकै समय पर्खिनुपर्ने बताइन्।

"दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोलेजस्तो हुन्छ। घरभित्र पनि भोल्टेज कम भएर होला, पङ्खाले राम्ररी हावा पनि दिँदैन।"

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।

विभागका अनुसार केही दिनदेखि बिहान, बेलुकाको समयमा समेत भैरहवा, सिमरा र जनकपुरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन हुँदै आएको छ।

गर्मीको कारण भैरहवा आसपासका सीमावर्ती क्षेत्रहरूमा विद्यालय बन्द रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भेरी नगरपालिकाको बाहुनथानास्थित सडकमा बच्चा नजिकै राखेर चर्को घाममा गिट्टी कुट्दै गरेका महिलाहरू

"भैरहवाबाट उत्तरतिरका बुटवल र सैनामैना क्षेत्रमा गर्मीले खासै प्रभाव देखाएको छैन। तर दक्षिणी सीमा क्षेत्रमा तुलनात्मक रूपमा तापक्रम बढी हुने भएकाले त्यस क्षेत्रका पालिकाहरूले केही विद्यालयहरू नै बन्द गरिसकेका छन्," पाण्डेले भने।

जिल्ला प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई गर्मीबाट बच्नका लागि अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, बासी, सडेगलेको खाना नखान लगायतका स्वास्थ्य सावधानी अपनाउन सचेत गराउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गर्मी छल्न कोसी कटानमा डुबुल्की लगाउँदै स्थानीय

उता वीरगन्जलगायत त्यसभन्दा पूर्वी तराईका क्षेत्रमा पनि कतिपय विद्यालयहरू बन्द गरिएका छन्।

अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको वीरगन्ज महानगर शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णले बताए।

गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले बताए।

किसानहरूले पनि पानी अभावका कारण खेतमा बीउ छर्न सकेका छैनन् भने कतिपय ठाउँमा बीउ सुक्न थालेका छन्।