टाइटन पनडुब्बीका टुक्रा बाहिर निकालियो, मानव अवशेष पनि फेला परेको सङ्केत

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेन्ट जोन्स बन्दरगाहमा कर्मचारीहरूले भग्नावशेषका टुक्राहरूलाई सजगतापूर्वक ट्रकमा राखेका थिए

आन्ध्र महासागरमा घातक दुर्घटनामा परेको टाइटन पनडुब्बीका टुक्राहरूमा मानव शरीरका अवशेषहरू फेला परेको ठानिएको यूएस कोस्ट गार्डले जनाएको छ।

पर्यटकहरू लिएर टाइटानिक पानीजहाजको भग्नावशेष भएको स्थानतिर गएको उक्त पनडुब्बीमा अन्तःस्फोटन भएको अनुमान गरिएको छ।

उक्त पनडुब्बीका टुक्राहरू समुद्रको पीँधबाट सङ्कलन गरेर बुधवार क्यानडाको सेन्ट जोन्समा ल्याइएको छ।

अधिकारीहरूका अनुसार फेला परेका सामग्रीमध्ये उक्त पनडुब्बीको 'ल्यान्डिङ फ्रेम' र पछाडिको भागको ढक्कन पनि छन्।

मानव अवशेष भन्ठानिएका वस्तुको संयुक्त राज्य अमेरिकाका विज्ञहरूले परीक्षण तथा विश्लेषण गर्ने यूएस कोस्ट गार्डले एउटा विज्ञप्तिमा जनाएको छ।

यूएस कोस्ट गार्डले टाइटन पनडुब्बी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालिसकेको छ। उक्त अनुसन्धान अहिले प्रारम्भिक चरणमा छ।

कोस्ट गार्डको मरीन बोर्ड अफ इन्भेस्टिगेशन (एमबीआई) ले अहिले सङ्कलित प्रमाणहरू थप परीक्षण र विश्लेषणका लागि सेन्ट जोन्सबाट अमेरिकाको कुनै बन्दरगाहमा लैजाने छ।

एउटा विज्ञप्तिमा एमबीआई प्रमुख क्याप्टेन जेसन नोयबाउअरले "उक्त विनाशकारी दुर्घटना के कारणले भयो भन्ने बुझ्न तथा भविष्यमा त्यस्तो घटना नदोहोरिने सुनिश्चित गर्न अझै प्रशस्त काम गर्न बाँकी छ" भनेका छन्।

गहिरो समुद्रमा निकै विकट स्थानबाट ती प्रमाणहरू खोज्न तथा सङ्कलन गर्न पाएको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

गत जुन १८ मा भएको दुर्घटनामा टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको थियो।

पानीको माथिल्लो सतहबाट उत्तर आन्ध्र महासागरमा गोता लगाएको झन्डै डेढ घण्टामा झन्डै ३,८०० मिटरको गहिराइमा उक्त दुर्घटना भएको थियो।

उक्त यात्रामा त्यसको प्रबन्ध मिलाउने तथा पनडुब्बीको स्वामित्व भएको ओशनगेट कम्पनीका प्रमुख स्टक्टन रश (६१), ब्रिटिश अन्वेषक हमिश हार्डिङ (५८), पाकिस्तानी मूलका ब्रिटिश अर्बपति शाहजादा दाउद (४८) र उनका १९ वर्षे छोरा सुलेमान दाउद तथा फ्रान्सेली गोताखोर पोल-अन्री नार्गोले (७७) थिए।

तस्बिर स्रोत, DAWOOD FAMILY/LOTUS EYE PHOTOGRAPHY/REUTERS

सुरुमा अधिकारीहरू मृतकहरूको अवशेष फेला पर्नेमा विश्वस्त थिएनन्।

"त्यहाँ तल समुद्रको पीँधमा निकै कठोर पर्यावरण छ," पनडुब्बी दुर्घटनामा परेको पुष्टि भएपछि कोस्ट गार्डका एड्मिरल जोन माउगरले भनेका थिए।

टाइटानिक पानीजहाजको एउटा भग्नावशेष भएको ठाउँनजिकै टाइटनका पाँचबाट मुख्य टुक्रा फेला परेका छन्।

मुख्य अनुसन्धानकर्ता क्याप्टेन जेसन नोयबाउअरले पनडुब्बीको भग्नावशेष सङ्कलन गर्नु अनुसन्धानको प्राथमिकता भएको बताएका थिए। उनले "मानव अवशेष भेटिए विशेष सावधानी अपनाइने" बताएका थिए।

उनका अनुसार अमेरिका, क्यानडा, यूके र फ्रान्सका निकायहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने छन्।

अहिले फेला परेका भाग कस्ता?

बुधवार बाहिर निकालिएका टुक्राहरूमा कम्तीमा एउटा टिटेनिअमबाट निर्मित 'एन्ड क्याप', झ्याल हराएको स्थितिको पोर्टहोल र एउटा टिटेनिअम रिङ, ल्यान्डिङ फ्रेम र एन्ड इक्विप्मन्ट बे भएको बीबीसीका विज्ञान संवाददाता जोनाथन एमसले जानकारी दिएका छन्।

क्यानडाको पानीजहाज होराइजन आर्क्टिकले ती वस्तु सङ्कलन गर्ने अभियानको नेतृत्व गरेको थियो।

उक्त पानीजहाजले पल्याजिक रिसर्च सर्भिसेजको स्वामित्वमा रहेको टाढाबाट सञ्चालन गर्न मिल्ने उपकरण 'आरओभी' लगेको थियो।

सो कम्पनीले आफ्नो काम सकिएको र आफ्नो उपकरण शिविरमा फर्काउन लागिएको जानकारी बुधवार दिएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूएस कोस्ट गार्डको एउटा जहाजले क्यानडाको सेन्ट जोन्समा टाइटन पनडुब्बीका भग्नावशेषहरू लगेको थियो

पनडुब्बी सञ्चालनमा पर्याप्त सुरक्षा व्यवस्था नमिलाएको भन्दै ओशनगेटको चर्को आलोचना भएको छ।

उक्त कम्पनीका पूर्वकर्मचारीहरूले पहिले पनि टाइटन पनडुब्बीबारे चिन्ता व्यक्त गरेको खुलेको छ।

उक्त पनडुब्बी कुनै निकायको नियमनमा पनि नपरेको देखिन्छ।

बीबीसीले पढेको एउटा इमेलमा रशले टाइटनको सुरक्षाबारे एक विज्ञले व्यक्त गरेको चिन्ताको खण्डन गरेका थिए।

इमेलमा "नवप्रवर्तनलाई रोक्न सुरक्षासम्बन्धी तर्क" गर्नेहरूसँग आफू "दिक्क" भएको आशय व्यक्त गरेका थिए।

भग्नावशेष सेन्ट जोन्समा ल्याइएपछि जे देखियो

सेन्ट जोन्समा ल्याइएका टुक्राहरूलाई टार्पले छोपिएको थियो।

जहाजबाट निकालेर ट्रकहरूमा सार्न क्रेनको सहयोग लिइएको थियो।

तस्बिर स्रोत, CBC NEWFOUNDLAND AND LABRADOR

तस्बिरको क्याप्शन, पनडुब्बीको पोर्टहोल फेला परे पनि त्यसको झ्याल हराइरहेको छ

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, ओशनगेट टाइटन सबको पछाडिको भागजस्तो देखिने एउटा अंश जुन सामान्यतया पनडुब्बीको मुख्य भागले ढाकिएको हुन्छ

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, केही भग्नावशेषलाई क्रेनको सहयोगबाट जहाजबाट निकालिएको थियो

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, केही भग्नावशेषहरू ट्रकमा राखिनुअघि ढाकिएका थिए

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, टाइटनको धातुयुक्त भागमा तारहरू देखिएका छन्

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, पनडुब्बीको 'ल्यान्डिङ लेग'जस्ता देखिने टुक्राहरू समेत फेला परेका छन्

तस्बिर स्रोत, SHUTTERSTOCK

तस्बिरको क्याप्शन, क्रेनले एक टिटेनिअम रिङ उचालेको देखिन्छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।