भारतले तीन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि किन खुलाएन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्पादनमा नेपाल अझै पूर्ण आत्मनिर्भर हुन नसकेकाले नेपालमा आपूर्ति हुने चामलको उल्लेख्य भाग भारतबाट आउँछ

चामल निर्यातमा एक महिनाअघि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै भारतले तीनवटा देशका लागि चामल निर्यात खुला गर्ने निर्णय गरेसँगै नेपालका लागि पनि चामल निर्यातको बाटो खुल्ने अपेक्षा गरिएको एक मन्त्रीले बीबीसीलाई बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालका लागि पनि निर्यात प्रतिबन्ध खुला गरिने आश्वासन भारतीय पक्षबाट प्राप्त भइसकेको बताए।

मन्त्री रिजालका अनुसार भारतीय पक्षले नेपाली अधिकारीहरूलाई निर्यात खुलाउने निर्णयका लागि पत्र लेख्न भनेकामा नेपाली पक्षले यसअघिनै भारतलाई पत्राचार गरिसकेको छ।

“उहाँहरूले बैठक गरेर धान, चामल, चिनी दिन्छौँ भन्नुभएको थियो,” रिजालले भने।

“त्यसकारण हामीले परराष्ट्र मन्त्रालयमार्फत्‌ गरेको पत्राचार भारतीय दूतावास भएर भारत सरकारसँग पुगेको छ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५०,००० मेट्रिक टन चिनीको आपूर्ति खुला गर्न आग्रह गर्दै पत्राचार गरेको यसअघि मन्त्री रिजालले बताएका थिए।

आफूले पनि केही समयअघि मात्रै नयाँ दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्मालाई यसबारे सोधेको मन्त्री रिजालले बताए।

भारतका लागि नेपाली राजदूत शर्माले चामल निर्यात प्रतिबन्ध नेपालका लागि खुल्नेबारे भारतीय अधिकारीहरूले आफूलाई आश्वस्त तुल्याएको जानकारी मङ्गलवार मन्त्री रिजाललाई गराएका थिए।

“ढुक्क भएर बस्नूस्। तपाईँहरूले पाउनुहुन्छ। हामी छिटै पत्र तपाईँहरूलाई पठाउँछौँ भनेर भन्नुभएको छ,” राजदूतको भनाई उद्धृत गर्दै मन्त्री रिजालले भने।

बीबीसी न्यूज नेपालीले राजदूत शर्मासँग सम्पर्कको प्रयास गरे पनि उनीसँग सम्पर्क हुन सकेन।

परिमाण तोकेर तीन देशमा चामल निर्यात

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार जारी गरेको सूचनामा बासमतीबाहेकको चामल निर्यात तीन देशका लागि खुला गरिने उल्लेख छ।

महानिर्देशनालयका प्रमुख सन्तोष कुमार सारङ्गीले हस्ताक्षर गरेको सूचनामा भुटान, सिङ्गापुर र अफ्रिकी राष्ट्र मरिससका लागि चामल निर्यात खुला गरिएको उल्लेख छ।

भारतले ती देशहरूमा निर्यात खुला गरिएको चामलको परिमाण समेत तोकेको छ।

तत्कालका लागि भुटानका निम्ति ७९,००० मेट्रिक टन छ्ट्ट्याइएको छ।

सिङ्गापुरका लागि ५०,००० र मरिससका लागि १४,००० मेट्रिक टन चामल निर्यात खुला गरिएको छ।

भारतले यसअघि भदौ जुलाई २० बाट चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो।

नेपालका लागि निर्यात किन खुलेन

मन्त्री रिजालले नेपालले भन्दा अघि पत्राचार गरेका कारण सिङ्गापुर र भुटानका लागि चामल निर्यात पहिले खुला भएको हुनसक्ने र अबको पालोमा नेपाल पर्ने विश्वास व्यक्त गरे।

“उनीहरूले पहिले पत्राचार गरे। हामीलाई निश्चित रूपमा दिन्छन्। अस्ति मात्रै मेरो कुरा भएको छ,” उनले भने।

नेपालका लागि पनि निर्यात खुला हुने विषय प्रक्रियामा रहेको र अबको केही दिनभित्रै त्यसको टुङ्गो लागेर निर्यात खुल्ने जानकारी आफूलाई दिइएको रिजालले बताए।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चामलको मूल्यमा उच्च वृद्धि भएको विवरण आएका छन्।

महँगी नियन्त्रणका लागि मन्त्रालयले अनुगमन टोली खटाएको मन्त्री रिजालले जानकारी दिए।

“अनुगमन गर्दै हुनुहुन्छ। महँगी अहिले त्यति साह्रो भइसकेको छैन,” उनले भने।

अनुगमनका लागि जनशक्ति कम भएका कारण प्रधानमन्त्री कार्यालयसँगै कर्मचारी माग गरेर अनुगमन प्रभावकारी बनाइएको रिजालले बताए।

उनले नियन्त्रणबाहिर जान लागेको महँगी नियन्त्रणमा ल्याइएको दाबी गरे।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिरः साउन तेस्रो साता भारतका प्रधानमन्त्री मोदीसँग भएको टेलिफोन वार्तामा चामल निर्यातको प्रसङ्गबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो

यसअघि भारतीय प्रधानमन्त्रीले नेपालको हकमा चामल निर्यात नरोकिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन कुराकानीमा नेपालको सन्दर्भमा “खुकुलो हुने” आश्वासन प्राप्त भएको दाहालका दुईजना सल्लाहकारले बताएका थिए।

धानचामल उत्पादनको अवस्था

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, तराई क्षेत्रमा यो वर्ष अहिलेसम्म पर्याप्त वर्षा नहुँदा धान उत्पादन प्रभावित हुने चिन्ता बढेको छ

देशभित्र वार्षिक सरदर ५५ लाख मेट्रिक टनजति धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

त्यसबाहेक केही लाख मेट्रिक टन धानचामल आयात गर्नुपर्ने अवस्था छ।

नेपाल चामल, दाल, तेल उत्पादक सङ्घका अनुसार वर्षमा झन्डै १५ लाख मेट्रिक टन धान अथवा १० लाख मेट्रिक टन धानका साथै अढाई लाख मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अहिलेको अवस्था छ।

त्यसरी आयात गरिएका धानमध्ये कतिपय चाहिँ कनिका, भुस, र ढुटो उत्पादनमा पनि प्रयोग हुने गर्छ।

नेपाल राष्ट्रब्याङ्कले नियमित प्रकाशित गर्ने तथ्याङ्क हेर्दा असारमा सकिएको एक आर्थिक वर्षको ११ महिनामा झन्डै ३३ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको देखिन्छ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४ प्रतिशत वा झन्डै एक चौथाइ रहेको छ। कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने उत्पादन झन्डै ५५ लाख मेट्रिक टन थियो।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भारतबाट वार्षिक लाखौँ मेट्रिक टन धानचामल आयात हुने गर्छ

भारतः विश्वकै अग्रणी चामल निर्यातकर्ता'

भारतले चामल निर्यातमा रोक लगाएका खबरलगत्तै अमेरिका तथा क्यानडा लगायतका देशस्थित भारतीय किराना पसलहरूमा चामल किन्नेको ओइरो लागेको र त्यसले गर्दा त्यहाँ अभाव र मूल्यवृद्धि भएको विवरण आएको थियो।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो। चामलको विश्वव्यापी व्यापारमा ४० प्रतिशत हिस्सा भारतको छ।

गत वर्ष भारतले सवा दुई करोड टन चामल १४० देशमा निकासी गरेको थियो।

यो वर्ष भारतमा समेत खाद्यान्नको मूल्यवृद्धि चर्को भयो तर त्यसैलाई मत्थर पार्न भारत सरकारले बासमतीबाहेक अरू प्रकारको चामल निकासीमा रोक लगाएको छ।

अघिल्लो वर्ष भारतले गहुँको निर्यातमा रोक लगाएको थियो।

युक्रेन र रुसको युद्धका कारण खाद्यान्नको विश्वव्यापी आपूर्ति शृङ्खला खलबलिएको छ।

आयातमा निर्भर नेपाल लगायतका देशहरूमा यसैका कारण खाद्यान्नमा अचाक्ली मूल्यवृद्धि भएको छ।