मुग्लिन-नारायणगढ सडक ठप्प भएपछि कोही हिँडेरै गन्तव्य तर्फ, कोही नाचगानमा

तस्बिरको क्याप्शन, ठूलो चट्टान सहितको पहिरोले सडक ठप्प पारेको छ

मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध हुँदा कतिपय यात्रुहरू हिँडेरै गन्तव्य तर्फ जान थालेका छन्।

चट्टान सहितको पहिरोका कारण शनिवार राती ११ बजेबाट ठप्प भएको सडक खुलाउने प्रयास आइतवार अपराह्न ५ बजेसम्म पनि सफल हुन सकेको छैन।

दुबैतर्फ यातायात आवागमन ठप्प हुँदा यात्रुहरूको बिचल्ली भएको छ।

राष्ट्रिय समाचार समितिका अनुसार सडक अवरुद्ध हुँदा रोकिएका केही यात्रुहरूले सडकमै नाचगान गरेर समय बिताएका छन्।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कतिपय यात्रुहरू सडकमै नाचगान गर्दै बसिरहेका छन्

यसअघि पनि पहिरोका कारण करिब ३० घण्टा अवरुद्ध भएको उक्त सडक शुक्रवार साढे ५ बजे खुलेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार ढुङ्गै ढुङ्गाको ठूलो पहिरो खसेका कारण दुवै तर्फको सडक अवरुद्ध भएको हो।

तस्बिरको क्याप्शन, सडकको दुवैतर्फ सवारी साधनहरूको लामो लाइन छ

मुग्लिन बाट करिब ३ किलोमिटर नारायणगढ तर्फ तुइन खोला नजिक सडक बन्द भएको छ।

यसअघि पनि त्यही स्थानमा ठूलो पहिरो गएको थियो।

तस्बिरको क्याप्शन, कतिपय यात्रुहरू वैकल्पिक बाटोबाट हिँडेरै गन्तव्यतर्फ लागेका छन्

यो सडक खण्डमा पटक-पटक पहिरो जाँदा यात्रुहरूले दुख: पाउने गरेका छन्। यो सडकमा पहिरो नियन्त्रणका काम भए पनि नयाँ-नयाँ स्थानमा पहिरो जाँदा समस्या हुने गरेको इन्जिनियर कार्कीले बताए।

तस्बिरको क्याप्शन, गाडीमा राखेर बिक्रीका लागि काठमाण्डू ल्याइँदै गरेका जनावरहरूलाई खुवाउने कुराको समस्या परेको छ

नारायणगढ-मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ।

जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ-नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्।

निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो।

तस्बिर स्रोत, RSS

जानकारहरूका अनुसार २० वर्षअघि यो सडकमा करिब ७५ ठाउँमा पहिरो झरेको थियो। त्यसबेला यातायात पूर्ण सञ्चालनमा आउन कैयौँ दिन लागेको थियो।

सडक विभागले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई 'चुनौतीपूर्ण जोखिम रहेको' भनी पहिचान गरेको छ।