मेलम्चीको पानी वर्षैभरि काठमाण्डू ल्याउन अझै लाग्न सक्छ ४ अर्ब रुपैयाँ र ४ वर्ष
तस्बिर स्रोत, Melamchiwater.gov
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डू उपत्यकाको खानेपानी आवश्यकता पूरा गर्न महत्त्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको अधिकारीहरूले बताएका छन्।
मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको हो।
एशियाली विकास ब्याङ्कले हालै गरेको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने औँल्याएको छ।
“सार्नुपर्यो भने उनीहरूको प्रस्ताव अनुसार ५०० मिटर माथिपट्टि सार्ने भन्ने कुरा छ। तर त्यो अन्तिम भइसकेको छैन,” मेलम्ची खानेपानी आयोजना सञ्चालक समिति सदस्य समेत रहेका काठमाण्डू उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भने।
उनका अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका प्रस्ताव अघि सारिएको छ।
आयोजनाका अनुसार अहिले मेलम्चीदेखि सुन्दरीजलसम्म बनाइएको सुरुङको लम्बाई २६ किलोमिटर छ। यसअघि विसं २०७८ साल असार र साउनमा आएको बाढीले त्यही वर्षबाट सञ्चालनमा आएको आयोजनाको हेडवर्क्स भनिने मुहानमा क्षति पुर्याएको थियो।
आयोजनाले अस्थायी संरचना बनाएर हिउँद याममा काठमाण्डूमा मेलम्चीको पानी ल्याए पनि फेरि गत साउनमा आएको अर्को बाढीले मुहान क्षेत्र पुर्नुका साथै ठूलो परिणाममा गेग्रान जम्मा गरिदिएपछि बर्खा सकिए पनि यो वर्ष मेलम्चीको पानी आउन सकेको छैन।
अस्थायी संरचना बनाएर पानी ल्याउने तयारी
तस्बिर स्रोत, Melamchiwater.gov
“पानी ल्याउने अस्थायी संरचनाहरू सबै पुरिएको छ। फेरि अस्थायी रूपमा पानी ल्याउनका लागि हेडवर्क्समा जम्मा भएको नदीजन्य पदार्थ सबै सफा गरेर ढोकाहरू पनि मर्मत गर्नुपर्ने छ,” आयोजना सञ्चालन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बीबीसी न्यूज नेपालीसँग भने।
यसअघि अस्थायी रूपमा पानी ल्याउन बनाइएको २१० मिटर लामो सुरुङमा पनि ढुङ्गा र गेग्रानहरू भरिएको आयोजनाले जनाएको छ।
बाढीले आयोजनाको एक नम्बर गेटमा क्षति पुर्याएर सुरुङभित्र पनि नदीजन्य पदार्थ गएको आकलन गरिएको छ। तर हाल पुरिएकै अवस्थामा रहेका कारण कति क्षति भयो भन्ने आकलन आयोजनाले गर्न सकेको छैन।
आयोजनाले निर्माण व्यवसायीलाई भएका उपकरण र जनशक्ति परिचालन गरेर “सकेसम्म छिटो” पुरिएको ठाउँ पन्छाउन भनिसकेको पन्तले जानकारी दिए।
नयाँ मुहान बनाउन करिब ४ वर्ष लाग्ने
तस्बिर स्रोत, Melamchiwater.gov
आयोजनाका अनुसार नयाँ मुहान बनाएर स्थायी रूपमा मेलम्चीको पानी काठमाण्डू ल्याउने संरचना तयार गर्न अझै करिब चार वर्ष लाग्नसक्छ।
“आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न नयाँ ठाउँमा हेडवर्क्स बनाउनुपर्छ भन्ने सुझाव अध्ययनबाट प्राप्त भएको छ। तर त्यो नयाँ ठाउँमा हेडवर्क्स बनाउनलाई एउटा सुरुङ पनि थप्नुपर्छ। त्यसो हो भने हामीलाई करिब तीनदेखि चार वर्षको समय लाग्नसक्छ,” आयोजनाका सूचना अधिकारी पन्तले भने।
आयोजनाले विश्व ब्याङ्कको अध्ययनमा आफ्ना प्राविधिकहरूबाट पनि थप अध्ययन गराएर निर्णय लिइने जनाएको छ। खानेपानी मन्त्रालयले त्यसका लागि एउटा टोली गठन गरिसकिएको जनाएको छ।
“आयोजनालाई तीन चार वर्ष त्यत्तिकै छोडेर नयाँ मुहान बनाउने वा बर्खायाम सकिएपछि अस्थायी संरचना बनाएर पानी ल्याउने त्यो विषयमा पनि निर्णय हुन बाँकी छ,” पन्तले भने।
गत वर्ष अस्थायी संरचना बनाउन सात करोड रुपैयाँ खर्च गरेको आयोजनाले यो पटक ढुङ्गा र गेग्रान पन्छाएर संरचना मर्मतका लागि करिब १५ करोड रुपैयाँ खर्च हुने जनाएको छ।
“प्रारम्भिक अनुमान अनुसार १२ देखि १५ करोड रुपैँया लाग्नसक्छ,” पन्तले भने।
तस्बिर स्रोत, Ashok Dahal/BBC
आयोजनाले अस्थायी संरचना बनाउन लाग्ने खर्च काठमाण्डूमा पाँच महिना पानी आपूर्ति गर्दा उपभोक्ताहरूबाट असुल हुने जनाएको छ। मेलम्ची खोलामा दैनिक १७ करोड लिटरसम्म पानी आपूर्ति गर्न सकिने क्षमता रहेको अधिकारीहरू बताउँछन्।
आयोजनाको नयाँ मुहान र त्यहाँसम्म पुग्ने सुरुङ बनाउनका लागि पनि करिब चार अर्ब रुपैयाँ लाग्ने पन्त बताउँछन्।
“अहिलेसम्म अवधारणागत डिजाइनका आधारमा अनुमान गरिएको छ। विगतमा सुरुङ निर्माण गर्दा लागेको लागतलाई आधार मान्दा करिब चार अर्ब जति खर्च लाग्नसक्छ भन्ने छ,” उनले भने।
मेलम्चीमा कति भयो खर्च
तस्बिर स्रोत, Melamchiwater.gov
काठमाण्डूको तिर्खा मेट्ने आयोजनाका रूपमा चर्चा गरिएको मेलम्ची खानेपानी आयोजना सुरु भएको २२ वर्ष भइसकेको छ।
आयोजनाका लागि हालसम्म करिब ६० अर्ब खर्च भइसकेको अधिकारीहरू बताउँछन्।
मेलम्ची खानेपानी विकास समितिले सुरुङ, त्यसका लागि आवश्यक सडक र अन्य पूर्वाधार निर्माणका लागि ३० अर्ब ६५ करोड खर्च गरिसकेको छ।
त्यसका अतिरिक्त काठमाण्डू उपत्यकाभित्र वितरण सञ्जाल र पानी पोखरी निर्माणका लागि थप ३० अर्ब खर्च भएको छ।
क्षमता कति हो
तस्बिर स्रोत, RSS
काठमाण्डू उपत्यकामा दैनिक ४२ करोड लिटर खानेपानीको माग रहेको काठमाण्डू उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा बताउँछन्।
त्यसमध्ये अहिले दैनिक १० करोड लिटरसम्म खानेपानी मेलम्ची बाहेकका खोला तथा मुहान र भूमिगत पानीबाट आपूर्ति हुँदै आएको छ।
मेलम्चीको पानी आउँदा त्यसमा १७ करोड लिटर थपिएर दैनिक २७ करोड लिटरसम्म खानेपानी उपलब्ध हुन्छ।
मेलम्चीको खानेपानी आपूर्तिका लागि सुन्दरी जलमा बनाइएका संरचनाकै प्रयोग गरेर बाग्मती खोलाबाट दैनिक सात करोड लिटर पानी उपत्यकामा आपूर्ति हुँदै आएको छ।
हिउँद याममा बाग्मतीको पानी कम हुने भएकाले अधिकारीहरू मेलम्चीको पानी अस्थायी संरचना बनाएरै भए पनि ल्याइनुपर्ने बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन