दमकलले फोहोरा हानेपछि दुर्घटनाग्रस्त विमानका पाइलटले हात हल्लाएको त्यो क्षण

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा पाइलट मनीषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो
    • Author, फणीन्द्र दाहाल र सृजना श्रेष्ठ
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ७ मिनेट

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्यका लागि घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ककपिटको एउटा टुक्रा भएको खण्ड सेतो 'फोम'ले ढाकिएको देख्यो।

पोखराका लागि उडान भर्ने क्रममा रहेको उक्त विमान उड्नेबित्तिकै अनियन्त्रित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि रहेको हेलिकप्टर मर्मत तथा पार्किङ इलाकाको कन्टेनरमा ठोक्किएर विभिन्न टुक्रा भएको अधिकारीहरूले बताएका छन्।

उक्त घटनाको सङ्केत दिने गरी ठूलो आवाज सुनिएसँगै दुर्घटनास्थलबाट केही सय मिटरमात्रै पर रहेको नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय बनाउने एकाइका कमान्डरसहित सात जनाको टोली तत्कालै घटनास्थल पुगेको नेपाली सेनाले जनाएको छ।

बीबीसीसँग कुरा गर्दै कमान्डर रामज्योति बोहराले आफूहरू घटनास्थलमा पुगेपछि तत्कालै उद्धार र खोजको निर्णय लिएको बताए।

उनले भने, “हामीले घटनास्थलमा हेर्‍यौँ। तल कन्टेनरजस्तो सेतो भाँडोजस्तो चिज देखियो। त्यहाँबाट हात हल्लाइरहेको जस्तो र रगत बगिरहेको जस्तो देखियो। त्यो हुने बित्तिकै मैले उद्धार गरेर ल्याउन भनेँ। त्यसपछि हामी उद्धारका लागि तल गयौँ।”

सुरुमा सेतो कपडा लगाएको व्यक्ति मात्रै आफूले देखेको उल्लेख गर्दै उनले उद्धार गरिरहँदाको अवस्थामा मात्रै आफूले ती व्यक्ति उक्त जहाजका क्याप्टेन मनीषरत्न शाक्य भएको थाहा पाएको बताए।

उनका अनुसार विमानको उक्त खण्डमा विमानस्थलको उद्धार र अग्निनियन्त्रण एकाइको दमकलले एक चरण आगो नियन्त्रणका लागि फोम हालिसकेको थियो।

बोहोराका अनुसार विमानस्थलको माथिल्लो भागबाट उनीसहित गएको टोलीले विमानका क्याप्टेनको उद्धार कार्य थालिरहँदा तलबाट गएको अर्को टोली विमानका अधिकांश यात्रु भएको तर दुर्घटनालगत्तै आगो लागेको खण्डमा पुगेको थियो।

उनले भने, “एक जनालाई उद्धार गर्न सकिन्छ भनेपछि अरूलाई पनि जीवित उद्धार गर्न सकिन्छ भनेर हामीले प्रयास गरेका थियौँ। तलपट्टि विमान अर्को टुक्रा भएर जलिरहेको देखियो। त्यतिखेर मात्रै मैले विमान टुक्रिएर दुर्घटना भएको रहेछ भन्ने थाहा पाएँ।”

पाइलट कुन अवस्थामा उद्धार गरिएका थिए?

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, उद्धार गर्नका लागि ककपिटको सिसा फोड्ने प्रयास गरिएको थियो

बोहराका अनुसार उद्धार गरिएको समयमा क्याप्टेन शाक्य सीटबेल्ट खोलेर ककपिटभन्दा बाहिर थिए, तर कन्टेनरबाट झर्न सक्ने अवस्थामा थिएनन्।

“उहाँ ककपिटबाट बाहिर निस्कनुभएको थियो। त्यो ककपिट चाहिँ कन्टेनरमा ठोकिएको रहेछ र ककपिट कन्टेनरभित्र छिरेको थियो। उहाँ ककपिटबाट निस्कनुभए पनि त्यहाँबाट तल झर्न सक्ने अवस्था थिएन।”

उनले थपे, “हाम्रा जवानहरू त्यहाँमाथि चढेर उहाँलाई निकालेर सहारा दिएर ल्याउनुभएको हो। पानी परेकाले चिप्लो बाटो थियो। विमानस्थलको निर्माण कार्य भइरहेकाले तलपट्टि नयाँ माटो छ, गाडिने भएकाले त्यता जान सक्ने अवस्था थिएन। उहाँलाई सहारा दिएर माथि ल्याइएको हो।”

नेपाली सेनाले आफ्नो टोली ११ बजेर १२ मिनेटमा निस्किएको र ११ बजेर १४ मिनेट जाँदा घटनास्थलमा पुगिसकेको जनाएको छ। “आदेश दिएको एकदुई मिनेटभित्रमा नै उहाँलाई उद्धार गरिएको हो।”

बीबीसीले प्राप्त गरेका तस्बिरमा सेना र प्रहरीले पाइलटलाई कन्टेनरभित्र रहेको ककपिटको खण्डबाट बाहिर निस्कन सहयोग गर्दै गरेको देख्न सकिन्छ।

बोहराका अनुसार पाइलट शाक्यले ककपिट रहेको क्षेत्रमा अरू दुईतीन जना मानिसहरू रहेको भनी इसारा गरेका थिए।

तस्बिरको क्याप्शन, घटनास्थलमा सबैभन्दा पहिला पुग्ने सैनिक टोलीको नेतृत्व प्रमुख सेनानी रामज्योति बोहराले गरेका थिए

सेनालगायत सुरक्षाकर्मीको टोलीले हथौडालगायतको प्रयोग गरी ककपिट खण्डको सिसा फुटाउने प्रयास पनि गरेका थिए। ककपिटको सिसा एकदमै मजबुत रहेकाले त्यसलाई तत्कालै फुटाउन सुरक्षाकर्मीहरूले नसकेको बुझिन्छ।

बोहराले भने, “जो घाइते हुनहुन्थ्यो, उहाँलाई उद्धार गरेर ल्याउने क्रममा ठूलो मुस्लोमा आगलागी हुन थालिहाल्यो। त्यसपछिको अवस्थामा हामीले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सक्ने अवस्था रहेन।”

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

सुरक्षा अधिकारीहरूका अनुसार पाइलटको उद्धार भएको केही बेरमा नै आगलागी नियन्त्रणबाहिर गएकाले थप उद्धार गर्न नसकिएको हो।

बोहरा भन्छन्, “ककपिट, कन्टेनर त्यो सबै आगलागीले नष्ट भयो। त्यसको सुरुमा जे तस्बिरमा देखिएको छ, आगलागी भइसकेपछि त्यो केही पनि छैन। सबै नष्ट भयो।”

उनले दुर्घटना भएको ठाउँमा अत्यधिक प्रज्वलनशील पदार्थहरू भएको कारण तत्कालै उद्धारको काम अघि बढाउँदा आफूले विमानमा सवार व्यक्ति र आफ्ना सुरक्षा फौज दुवैको सुरक्षाको विषयलाई ध्यान दिएको र अग्नि नियन्त्रकहरूसँग नजिकबाट समन्वय गरेको बताए।

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, पछिल्लो डेढ दशकमा लगभग वर्षैपिच्छे सानाठूला विमान दुर्घटना भएको पाइन्छ

दुर्घटनास्थलमा कति बेला पुग्यो वारुण यन्त्र?

जहाज दुर्घटनाको जाँचका लागि आयोगको गठन भइसकेकाले अधिकारीहरूले उद्धारका कैयौँ प्राविधिक पक्षबारे खुलाइसकेका छैनन्।

घटनास्थलमा पुगेका सेनाका प्रमुख सेनानी रामज्योति बोहराले आफू पुग्दा दमकलले ककपिट भएको खण्डमा आगो निभाउनका लागि 'फोम' हालिसकेको परिस्थिति रहेको बताए।

बीबीसीसँग कुरा गरेका नागरिक उड्ययन प्राधिकरणका अधिकारीले ११ बजेर ११ मिनेटमा उडान भरेको विमान भुइँ छाड्नेबित्तिकै दाहिनेतिर मोडिएर अनियन्त्रित भएपछि अग्नि नियन्त्रकहरूलाई साइरनमार्फत् चेतावनी दिइएको बताए।

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, पाइलटको उद्धार गरिएपछि ककपिटमा लागेको आगो

ती अधिकारीका अनुसार 'फायर वाचर'बाट साइरन बजेको र लगत्तै अग्नि नियन्त्रकहरूको टोली २०० देखि ३०० मिटर पर रहेको दुर्घटना भएको क्षेत्रमा पुगेका थिए।

“करिब ४० सेकेन्डमा दमकल पुगेको थियो। तर जहाज तीन टुक्रा भएको रहेछ। ककपिट कन्टेनरसहित खोँचमा खसेको रहेछ, त्यो खाल्डोको आगोलाई नियन्त्रणमा लिएपछि पाइलटलाई बचाउन सजिलो भयो।”

तर दुर्घटनाग्रस्त विमानको बाँकी रहेको भाग करिब २५० मिटर टाढा रहेको थियो। दमकलको क्षमता ७० मिटर परसम्मको आगो निभाउने रहेका कारण त्यसलाई रेडार भएको क्षेत्र हुँदै घुमाएर आगो लागेको अर्को टुक्रा भएको ठाउँमा लैजानुपरेको थियो।

“पानी परेको कारणले मान्छेको खुट्टा भास्सिने खालको ठाउँ थियो। त्यसबाट ४० हजार लिटर पानी बोकेको दमकल लैजानु अप्ठेरो काम हो। जेनतेन त्यहाँ पुर्‍याएर आगो नियन्त्रण गर्न सकियो।”

तस्बिर स्रोत, Handout

जलिरहेको विमानको भागमा पानी र 'फोम' मिसाएर प्रहार गरी आगो नियन्त्रणमा लिइएको थियो। तर त्यसबेलासम्म ठूलो क्षति भइसकेको थियो।

काठमाण्डू उपत्यका प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार ११ बजेर ४० मिनेट जाँदा विमानमा लागेको आगो नियन्त्रणमा आएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले आफूहरूसँग उद्धारका लागि पर्याप्त स्रोत साधन रहेको बताए।

उनले भने, “हाम्रो विमानस्थलको 'नाइन क्याटेगोरी' रहेको छ। त्यो भनेको एअर बस ३३० दुर्घटना भएको परिस्थितिमा चाहिने जनशक्ति र उपकरण सबै तयार छन्।”

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा दुईदेखि तीन मिनेटभित्र आपत्कालीन उद्धारकर्ता पुगिसक्नुपर्ने अधिकारीहरू बताउँछन्।

ती अधिकारीका अनुसार दुर्घटनास्थलमा पुगेको दुई मिनेटभित्रै दमकलले फोम र पानीले विमानमा लागेको आगो नियन्त्रणको प्रयास थालेको थियो।

त्यो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका चार दमकल घटनास्थलमा खटेका थिए।

घटनास्थलबाट तीन जना गम्भीर घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको भए पनि १० मिनेट पनि नपुग्दै उनीहरूलाई मृत घोषणा गरिएको प्रहरीको भनाइ छ।

उद्धारपछि पाइलटले के भने

तस्बिरको क्याप्शन, सन् २०२३ को ज्यानुअरीमा लिइएको क्याप्टेन मनीषरत्न शाक्यको तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फायर ब्रिगेडको एम्बुलेन्समार्फत् नै जीवितै उद्धार गरिएका पाइलटलाई अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार ११ बजेर ३४ मिनेटमा क्याप्टेन शाक्यलाई काठमाण्डू मेडिकल कलेज अस्पताल लगिएको थियो। त्यस बेला उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

उद्धार गरेर एम्बुलेन्समा ल्याइएपछि पाइलटले फोनमार्फत् आफ्ना परिवारका सदस्यसँग सङ्क्षिप्त कुराकानी गरेको बुझिन्छ। साथै उनले ‘अरूको पनि उद्धार होस्’ भनेर सुरक्षाकर्मीहरूलाई अनुरोध गरेका थिए।

चिकित्सकहरूले उनको अनुहार, आँखा र नाकलगायतका ठाउँमा चोट लागेको बताएका थिए। शल्यक्रियामार्फत् तिनलाई ठिक पारिएको भन्दै अस्पतालले शुक्रवारबाट उनलाई नियमित वार्डमा सारिएको जनाएको छ।

उनको देब्रेपट्टिका तीन वटा करङहरू भाँच्चिएका छन् र त्यसको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने भनिएको छ।

हाल उनको अवस्था सामान्य रहेको र जटिलता नदेखिएको काठमाण्डू मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ।

सैतीस वर्षका क्याप्टेन शाक्य सन् २०१४ यता सौर्य एअरलाइन्समा काम गर्दै आएका थिए। हाल उक्त एअरलाइन्सको 'चिफ अफ अपरेशन्स' रहेका उनी उक्त वायुसेवा कम्पनीमा आबद्ध हुनुअघि झन्डै तीन वर्ष सिम्रिक एअरका पाइलट थिए।

उठिरहेका प्रश्न

यसैबीच नेपाल प्रहरीले तत्कालै खटिएर विमान चालक शाक्यलाई अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेको भन्दै दुई जना प्रहरी नायब उपरीक्षक र चार जना प्रहरी जवानलाई पुरस्कृत गरेको छ।

बुधवारको दुर्घटनामा भएको सौर्य एअरलाइन्सको जहाज एक महिना लामो समग्र परीक्षणका लागि पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्याङगरमा जानका लागि उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

ज्यान गुमाउने अधिकांशमा विमानको मर्मत र जाँचसँग सम्बन्धित जनशक्ति रहेका छन्।

तर एअरलाइन्सका एक जना कर्मचारीका परिवारका सदस्य र यमनी नागरिक पनि उक्त विमानमा सवार थिए।

'सी चेक' भनिने नियमित जाँचका लागि उडान भर्न लागेको विमानमा त्यत्तिको सङ्ख्यामा मानिसहरू लैजान कसरी अनुमति दिइयो भनेर प्रश्नहरू उठिरहेका छन्।

बर्सेनि भइरहेका विमान दुर्घटनाले नेपालको उड्ययन सुरक्षामा गम्भीर प्रश्न खडा गरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।