थाईल्यान्ड र क्याम्बोडियाबीच फेरि तनाव, क्याम्बोडियामा 'चार जनाको मृत्यु'

तस्बिर स्रोत, Cambodia's Ministry of Information

तस्बिरको क्याप्शन, दुवै देशमा सीमावर्ती क्षेत्रमा बस्ने हजारौँ मानिसहरू सुरक्षित स्थानतिर सर्न थालेका छन्
पढ्ने समय: ५ मिनेट

विवादास्पद सीमा क्षेत्रमा सैनिकहरूबीच फेरि भिडन्त भएपछि थाईल्यान्डले क्याम्बोडियाविरुद्ध हवाई आक्रमण गरिएको बताएको छ।

क्याम्बोडियाका सूचनामन्त्रीका अनुसार दुई सीमावर्ती प्रान्तमा थाई आक्रमणमा परी चार सर्वसाधारण मानिसको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। उनले हजारौँ मानिसहरू विस्थापित भएको बताएका छन्।

यसअघि थाई सेनाले क्याम्बोडियाली पक्षले सोमवार बिहान गोली प्रहार गर्दा एक सैनिकको मृत्यु भएको र आठ जना घाइते भएको बताएको थियो।

क्याम्बोडियाले थाई सैनिकहरूले आक्रमण गरेको तर आफूले जबाफ नदिएको दाबी गरेको छ। क्याम्बोडियाको रक्षा मन्त्रालयका अनुसार थाईल्यान्डले आइतवार दिउँसो पहिलो पटक र त्यसपछि सोमवार बिहान सबेरै आक्रमण गरेको हो।

सीमा विवाद चर्किएपछि गत जुलाई महिनामा दुई देशबीच पाँच दिन युद्ध भएको थियो। उक्त युद्धमा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो भने झन्डै तीन लाख मानिस विस्थापित भएका थिए।

केही महिनाअघि मलेशिया र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा थाईल्यान्ड र क्याम्बोडियाले युद्धविराम गरेका थिए। तर दुवै पक्षले एकअर्कालाई उक्त सहमति उल्लङ्घन गरेको आरोपप्रत्यारोप गरेका छन्।

विवादित सीमानजिकै दुवै देशमा बस्ने हजारौँ मानिसहरू युद्ध चर्किने डरमा सुरक्षित स्थानतिर सर्न थालेका छन्।

ट्याङ्क र विषालु ग्यास प्रयोग गरेको आरोप

तस्बिर स्रोत, Cambodian Ministry of Information

अहिले थाईल्यान्डको उत्तरपूर्वी भेगमा अवस्थित सिसाकेत र उबोन राचथानी प्रान्तमा अनि क्याम्बोडियाका सीमावर्ती प्रान्त प्रेय विहिअर र ओदार मिअन्चेमा भिडन्त भएको विवरण प्राप्त भएको छ।

क्याम्बोडियाको रक्षा मन्त्रालयकी एक प्रवक्ताले थाईल्यान्डले बिहान ७ बज्नुभन्दा अगाडि नै सैनिक र गैरसैनिक स्थलहरूमा ट्याङ्क, विषालु ग्यास र तोप प्रहार गरेको आरोप लगाएकी छन्।

थाईल्यान्डले उक्त आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

क्याम्बोडियाले यसअघि पनि विषालु ग्यास हमला प्रयोग भएको दाबी गरेको थियो। तर उक्त दाबी पुष्टि हुन सकेको छैन।

"युद्धविराम सहमतिका सर्तलाई मान्न र लागु गर्न प्रतिबद्ध भएकाले ती सबै आक्रमणका बेला क्याम्बोडियाली सैनिकहरूले प्रतिकार गरेनन्," उनले भनिन्। उनले थाईल्यान्डका गतिविधिको निन्दा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्।

थाई प्रधानमन्त्रीले आफ्नो देशले "कहिल्यै हिंसा नचाहेको" तर "देशको सार्वभौमिकता रक्षा गर्न आवश्यक उपाय गर्ने" बताएका छन्। सोमवार आयोजित प्रेस सम्मेलनमा अहिले सीमामा उत्पन्न समस्या झेल्न उनले थाई जनतालाई "सरकार र सेनाप्रति विश्वास गर्न" आह्वान गरेका छन्।

क्याम्बोडियाका भूतपूर्व प्रधानमन्त्री हुन सेनले थाई "अतिक्रमणकारीहरूले सबै खालका अस्त्र प्रयोग गरेर क्याम्बोडियालाई प्रतिकार गर्न" उकास्न खोजेको टिप्पणी गरेका छन्।

सोमवार बिहान फेसबुकमा एउटा पोस्ट लेख्दै उनले थाईल्यान्डले युद्धविराम र दुई पक्षले अक्टोबरमा जारी गरेको संयुक्त घोषणापत्र उल्लङ्घन गरेको आरोप लगाए।

"प्रतिक्रिया गर्न 'रेड लाइन' (अन्तिम रेखा) तय भइसकेको छ। त्यसअनुसार सबै अधिकारी र सैनिकहरूलाई शिक्षित गर्न म सबै तहका कमान्डरहरूलाई आग्रह गर्छु।"

'सैन्य स्थलहरू मात्र निसानामा'

तस्बिर स्रोत, Getty Images

थाई वायुसेनाले बिहान केवल क्याम्बोडियाली सैन्य स्थलहरूलाई लक्ष्य बनाएर हमला गरिएको र सर्वसाधारण मानिसहरूलाई जोगाउने कुरालाई "उच्च प्राथमिकता"मा राखिएको दाबी गरेको छ।

"हवाई हमलाहरू निकै लक्षित थिए र अग्रमोर्चानजिकै रहेका सैन्य स्थलहरूमा केन्द्रित थिए," थाई वायुसेनाले भन्यो। हमलाबाट सर्वसाधारण मानिसमाथि कुनै प्रभाव नपरेको सेनाका प्रवक्ताले बताए।

क्याम्बोडियास्थित एउटा जुवाघरमा पनि हमला भएको छ। उक्त स्थानबाट ड्रोनहरू सञ्चालन हुने गरेको दाबी थाई सेनाको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा क्याम्बोडियाका सीमावर्ती क्षेत्रमा मानिसहरू आफ्ना छोराछोरीलाई लिन विद्यालयतिर हतारिएर गएको देखिन्छ।

चर्को अविश्वास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, थाईल्यान्ड र क्याम्बोडियाका सीमावर्ती प्रान्तहरूमा हजारौँ मानिसलाई सुरक्षित स्थानतिर जान भनिएको छ

बीबीसीका दक्षिणपूर्वी एशिया संवाददाता जोनाथन हेडका अनुसार जुलाई महिनामा युद्धविराम सम्झौतामा हस्ताक्षर भएपछि भएको यो निकै गम्भीर सङ्घर्ष हो।

अमेरिकाका राष्ट्रपति ट्रम्पले दबाव दिएपछि थाईल्यान्ड र क्याम्बोडिया युद्धविराम गर्न सहमत भएका थिए। ट्रम्पले उक्त युद्ध आफूले अन्त्य गराएको दाबी गर्दै आएका छन्। तर दुवै देशले एकअर्कालाई सहमति भङ्ग गरेको आरोप लगाउँदै आएका छन्।

थाई सेनाका अनुसार सीमापारि क्याम्बोडियाबाट सोमवार बिहान कैयौँ रकेट पटक प्रहार भएको थियो। जुलाईमा युद्धविराम भएपछि यसअघि रकेट प्रहार भएको थिएन। सीमावर्ती क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा सर्न भनिएको छ।

थाई सेनाका एक प्रवक्ताका अनुसार बिहान भएको गोली हानाहानमा परी एक थाई सैनिकको मृत्यु भएपछि थाई वायुसेनाले क्याम्बोडियाको सेनालाई लक्ष्य बनाउँदै विभिन्न स्थानमा बम प्रहार गरेको छ।

थाई सेनाले पहिला गोली चलाएको बरु आफू अक्टोबरमा हस्ताक्षर गरिएको शान्ति सहमति पालना गर्न प्रतिबद्ध रहेको नोम पेनको दाबी छ।

दुवै पक्षले सीमावर्ती क्षेत्रबाट केही ठूला अस्त्रहरू फिर्ता लगेको भए पनि दुवै पक्षबीच ठूलो अविश्वास कायम छ।

थाईल्यान्डले क्याम्बोडियालाई सीमा क्षेत्रमा जमिनमुनि विस्फोटक पदार्थको धराप थाप्न नछोडेको आरोप लगाउँदै आएको छ। त्यस्ता धरापमा परेर केही थाई सैनिकहरू घाइते भएका छन्।

क्याम्बोडियाले जुलाईमा थाई पक्षले बन्दी बनाएका आफ्ना १८ सैनिकहरूलाई मुक्त गर्न माग राख्दै आएको छ।

संयमित हुन आग्रह

तस्बिर स्रोत, EPA

दुई पक्षबीच फेरि भिडन्त हुन थालेपछि मलेशियाका प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्दै "अधिकतम संयम" कायम राख्न आग्रह गरेका छन्।

"फेरि हुन थालेको लडाइँले दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध सामान्य बनाउन सावधानीपूर्वक गरिएको प्रयासलाई जोखिममा पारेको छ," अन्वर इब्राहिमले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।

यसअघि दुई देशबीचको तनाव मत्थर पार्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अक्टोबरमा घोषित संयुक्त युद्धविराम सहमतिमा हस्ताक्षर हुँदा उक्त कार्यक्रमको उनले डोनल्ड ट्रम्पसँगै अध्यक्षता गरेका थिए।

तस्बिर स्रोत, EPA/Shutterstock

गत महिना थाईल्यान्डले एकतर्फी रूपमा उक्त सहमतिबाट आफू बाहिरिएको घोषणा गरेको थियो।

सीमा क्षेत्रमा जमिनमुनि बिच्छ्याइएको विस्फोटक पदार्थका कारण थाई सैनिकहरूको मृत्यु भएपछि थाईल्यान्डले उक्त निर्णय लिएको थियो।

मलेशियाले फेरि दुई पक्षबीच वार्ता गराउन आफू तयार रहेको जनाएको थियो।

अन्वर इब्राहिमले दुवै पक्षलाई कूटनीतिको मार्गमा फर्किन आह्वान गरेका छन्। उनले दक्षिणपूर्वी एशियामा निकै पुराना विवादहरूका कारण द्वन्द्वको भुमरी सिर्जना हुने अवस्था आउन नहुने बताएका छन्।

दुई देशबीच १०० वर्षभन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ। उक्त विवादका कारण दुई देशका सेनाबीच बेलाबेलामा सङ्घर्ष पनि हुने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।