युद्धविरामले लडाइँ अन्त्य गराउने वा नगराउने सम्भावनाको लेखाजोखा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार साँझ इजरेल र इरान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए
पढ्ने समय: ५ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरान युद्धविरामका लागि सहमत भएको सोमवार साँझ घोषणा गर्दै त्यसले दीर्घकालीन शान्तितर्फ डोर्‍याउने बताए।

इजरेलले इरानमाथि हवाई हमलाहरू गरेको १२ दिनपछि, इजरेलमाथि इरानी क्षेप्यास्त्र तथा ड्रोन हमलाहरू र इरानका परमाणु केन्द्रहरूमाथि संयुक्त राज्य अमेरिकाले बमबारी गरेका घटनापछि युद्धविराम घोषणा भयो।

इजरेलले हमलाहरू बन्द गरे आफू पनि त्यसो गर्न तयार रहेको इरानले बतायो भने इजरेली सरकारले इरानमाथि हमलाहरू गरेर "लक्ष्यहरू प्राप्त गरेको" दाबी गर्दै युद्धविराम प्रस्तावमा सहमत भएको जनायो।

तर त्यसयता युद्धविराममा विभिन्न चुनौती देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरान दुवैले उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

तर युद्धविराम उल्लङ्घन गरेको कुरा दुवैले अस्वीकार गरेका छन्।

द नेदरल्याड्सको द हेगमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन 'नेटो'को शिखर बैठकमा सहभागी हुन निस्किनुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले इजरेल र इरान दुवैको कडा शब्दमा आलोचना गरे।

राष्ट्रपति ट्रम्पले भने, "म इरानसँग पनि खुसी छैन। तर बिहानै सहमतिविपरीत गएको इजरेलसँग साँच्चिकै म बेखुसी छु। दुई देशले लामो समयदेखि चर्को लडाइँ लडिरहेका छन्, तर आफूहरूले के गरिरहेका छौँ भन्ने कुरा उनीहरूलाई थाहा छैन।"

यदि युद्धविराम कायम रहन्छ भने त्यसले स्थायी शान्तितर्फ डोर्‍याउने अपेक्षा गरिएको छ।

तर अरू द्वन्द्वहरूमा जस्तै यसका लागि पनि कूटनीतिक निपुणता जरुरी हुन्छ।

युद्धविरामको अर्थ के हो?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युद्धविरामको माग गर्दै इजरेली प्रदर्शनकारीहरू

संयुक्त राष्ट्रसङ्घका अनुसार "युद्धविराम" शब्दको एउटै र विश्वव्यापी रूपमा स्वीकार गरिएको कुनै परिभाषा छैन।

यद्यपि उक्त शब्द "हमला रोक्न" (सीज फायर) का लागि दिइने सैन्य आदेशबाट बनेको छ, जुन "हमला सुरु गर्न" भन्ने अर्थ दिने अङ्ग्रेजी शब्द (ओपन फायर) को उल्टो छ।

यसलाई "सङ्घर्षविराम" र "युद्धको स्थगन" जस्ता शब्दका साथ समेत बेलाबखत प्रयोग गरिन्छ।

यद्यपि संयुक्त राष्ट्रसङ्घले "युद्धविराम" र "शत्रुताको अन्त्य" जस्ता शब्दावलीमा प्राय: भिन्नता हुने जनाउँछ।

उसका अनुसार "शत्रुताको अन्त्य" भन्ने शब्दावलीले लडाइँ अन्त्य गर्ने अनौपचारिक सम्झौतालाई जनाउँछ।

"युद्धविराम" भने निकै औपचारिक शब्द हो, जुन निम्न विभिन्न विषय उल्लेख हुने सम्झौतासाथ तय भएको हुन्छ:

  • युद्धविरामको उद्देश्य
  • त्यसपछि हुने राजनीतिक प्रक्रिया
  • त्यसको कार्यान्वयन हुने मिति
  • त्यसले समेट्ने भौगोलिक क्षेत्र

त्यसले केकस्ता सैन्य गतिविधिहरू हुन पाउने वा नपाउने र कसरी युद्धविरामको अनुगमन हुने भन्ने कुरासमेत समेट्न सक्छ।

उदाहरणका लागि सन् १९९३ मा लाइबेरियामा भएको गृहयुद्ध अन्त्य भएको थियो।

त्यसका लागि त्यति बेला राष्ट्रिय एकताको एउटा अन्तरिम सरकारले न्याश्नल पेट्रिओटिक फ्रन्ट अफ लाइबेरिया र द यूनाइटेड लिबरेशन मूभमन्ट अफ लाइबेरिया फर डिमोक्रसीसँग एउटा सम्झौता गरेको थियो।

दुवै पक्षले हमला नगर्नका लागि अस्त्र तथा गोलाबारुद आयात गर्ने काम रोक्ने सहमति गरेका थिए।

त्यसै गरी थप शत्रुतालाई उक्साउने गरी बारुदी सुरुङ र अन्य आगजनी गर्ने उपकरणहरू प्रयोग नगर्ने सहमतिसमेत उनीहरूले गरेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९३ मा लाइबेरियामा भएको गृहयुद्ध युद्धविराम सहमतिका साथ अन्त्य भएको थियो

युद्धविराम स्थायी वा अस्थायी हुन्छ?

संयुक्त राष्ट्रसङ्घका अनुसार त्यो दुवैखाले हुन सक्छ।

कुनै बेला दुई युद्धरत पक्षले अस्थायी वा प्रारम्भिक युद्धविरामका लागि सहमति जनाउँछन्।

त्यो मानवीय सङ्कट वा हिंसा कम गर्नका लागि हुन सक्छ।

इजरेल र हमास नेतृत्वको समूहले सन् २०२३ को २४ नोभेम्बर र ३० नोभेम्बरमा अस्थायी युद्धविराम सम्झौता गर्दा हमासले झन्डै २४० जना बन्दीको साटो १०५ जना बन्धक रिहा गरेको थियो।

वार्तालाई सहयोग पुग्ने गरी प्रारम्भिक युद्धविरामको सम्झौता हुन सक्छ, जसले स्थायी वा ठोस युद्धविरामको बाटो तय गर्न सक्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००० को जुनमा ईथिओपिया र इरिट्रियाले एउटा द्वन्द्व रोक्ने सम्झौतामा हस्ताक्षर गरेका थिए

सन् २००० को जुनमा ईथिओपिया र इरिट्रियाले एउटा द्वन्द्व रोक्ने सम्झौतामा हस्ताक्षर गरे, जसको उद्देश्य एउटा ठोस युद्धविरामका लागि वार्ता होओस् भन्ने थियो।

डिसेम्बरमा एल्जिअर्स सम्झौताको एउटा पाटोमा उनीहरूबीचको युद्ध अन्त्य भयो।

यद्यपि असफल वा कमजोर तथा प्रारम्भिक युद्धविरामका शृङ्खलाले युद्ध जारी राखिराख्न सक्छ।

लेबननमा गृहयुद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्रसङ्घले सन् १९७८, सन् १९८१ र सन् १९८२ मा शृङ्खलाबद्ध रूपमा युद्धविरामसम्बन्धी वार्ता गरेको थियो।

तर सन् १९७५ मा सुरु भएको लडाइँ जारी रह्यो र सन् १९९० मा मात्र त्यो अन्त्य भयो।

केही घटनामा एउटा वा दुवै युद्धरत पक्षले आफ्नो आधार बलियो बनाउनका लागि प्रारम्भिक युद्धविरामलाई प्रयोग गर्न सक्छन्।

एउटा ठोस (वा स्थायी) युद्धविराम प्राय: दुई युद्धरत पक्षबीचको सफल शान्ति वार्तापछि मात्र आउने गर्छ।

सामान्यतः त्यस क्रममा निरस्त्रीकरण वा पहिचान गरिएका बलको विघटन हुने गर्छ।

तर सम्झौतामा हस्ताक्षर भएको कैयौँ वर्षसम्म समेत अन्य सुरक्षा व्यवस्थापनका काम भइरहन सक्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नोर्दन आयरल्यान्डमा सन् १९९८ मा युद्ध रोक्ने 'गुड फ्राइडे सम्झौता' भएको थियो

उदाहरणका लागि नोर्दन आयरल्यान्डमा सन् १९९८ को 'गुड फ्राइडे' सम्झौताले प्रोभिजनल आईआरए र त्यसप्रति बफादार समूहहरूलाई आफ्ना अस्त्र "प्रयोगबाहिर राख्ने" सहमति भएको थियो।

उक्त सम्झौताले नोर्दन आयरल्यान्डमा जारी शान्ति र सद्भावलाई प्रवर्द्धन गर्ने बुँदा समावेश गरेको थियो।

त्यसको एउटा बुँदामा नोर्दन आयरल्यान्ड र रिपब्लिक अफ आयरल्यान्डबीच कुनै अवरोधबिनाको, शुल्करहित व्यापार हुने उल्लेख थियो।

सीमित युद्धविरामहरू कस्ता किसिमका हुन्छन्?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गाजामा "मानवीय सङ्घर्षविराम" का क्रममा इजरेलका १०५ बन्धकलाई मुक्त गरिएको थियो भने २४० जना प्यालेस्टिनी कैदीहरू रिहा भएका थिए

इजरेल र हमासबीच सन् २०२३ को नोभेम्बरमा भएको अस्थायी युद्धविरामलाई उनीहरूले "मानवीय सङ्घर्षविराम"को नाम दिएका थिए।

त्यस्ता मानवीय सङ्घर्षविरामहरू कहिलेकाहीँ युद्धरत पक्षबीच हिंसा कम गर्न प्रयोग हुन्छन्। मानवीय सङ्कटलाई कम गर्न समेत त्यसको प्रयोग हुन्छन्।

उदाहरणका लागि सुडान सरकारले दुई सशस्त्र समूहबीच युद्धविराम सम्झौता गरेको थियो।

सुडानको डार्फरमा द सुडान लिबरेशन मूभमेन्ट र द जस्टिस एन्ड इक्वालिटी मूभमेन्टबीच स्थानीय मानिसहरूलाई मानवीय सहायता बाँड्नका लागि भन्दै सहायता निकायको पहुँच दिन ४५ दिनसम्म युद्ध रोकिएको थियो।

सन् २००४ मा इन्डोनेशियामा सुनामीको मार परेपछि इन्डोनेशियाली सरकार र फ्री आचे मूभमेन्ट दुवैले युद्धविराम घोषणा गरेका थिए।

उनीहरूले आफूहरू लडेका सुनामीपीडित क्षेत्रमा सहायता वितरण हुन सकोस् भनेर त्यसो गरेका थिए।

कुनै निश्चित क्षेत्रमा लडाइँ रोक्नका लागि भौगोलिक युद्धविरामको सम्झौतासमेत हुन सक्छ।

सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घले स्थानीय जनसङ्ख्याको सुरक्षाका लागि रेड सीको हुदैदा बन्दरगाहमा यमन सरकार र हूथीहरूबीच एउटा सम्झौता गराएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।