विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान, लोप हुन लागेको प्रजातिलाई बचाउन सहयोग पुग्ला?
तस्बिर स्रोत, Jan Zwilling
प्रजननसम्बन्धी एउटा सफलताले 'नोर्दन ह्वाइट राइनो' नामको गैँडाको एक प्रजातिलाई लोप हुनबाट जोगाउने आशा जागेको छ। पृथ्वीमा अहिले यस प्रजातिका जम्मा दुईवटा मात्र गैँडाहरू बाँकी रहेका छन्।
वैज्ञानिकहरू प्रयोगशालामा बनाइएको भ्रूणलाई पोथी गैँडाको गर्भाशयमा राख्न सफल भएका छन्। यो गैँडामा गरिएको विश्वकै पहिलो कृत्रिम गर्भाधान हो।
उक्त भ्रूण विकास गर्नका लागि 'नोर्दन ह्वाइट राइनो प्रजाति'सँग सम्बन्धित 'सदर्न ह्वाइट राइनो' उपप्रजाति प्रयोग गरिएको छ।
अब अर्को चरणमा 'नोर्दन ह्वाइट' गैँडाको भ्रूणसँग पनि पछि त्यस्तै प्रक्रिया दोहोर्याउनुपर्छ।
'ठूलो सफलता'
तस्बिर स्रोत, Jan Zwilling
“गैँडामा पहिलो पटक भ्रूण स्थानान्तरण गर्न सक्नु भनेको ठूलो सफलता हो,” जर्मनीको लाइब्निज इन्स्टिट्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चकी वैज्ञानिक सुसान होल्ट्जले भनिन्।
यो कृत्रिम गर्भाधान 'बायोरेस्क्यू' परियोजनाको एक हिस्सा हो। उक्त प्रजातिलाई बचाउन खोज्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको सञ्जालले यो परिोजाम सञ्चालन गरेका छन्।
उनले भनिन्, "मलाई लाग्छ- यो उपलब्धिसँगै हामी सोही प्रक्रियाले नोर्दन ह्वाइट राइनो जन्माउन र यो प्रजाति बचाउन सक्षम हुने छौँ।"
यो प्रजाति कुनै बेला मध्य अफ्रिकामा पाइन्थ्यो तर गैँडाको खागको मागका कारण अवैध रूपमा गरिने सिकारका कारण यसको अस्तित्व नै मेटिने अवस्था बनेको हो।
अहिले यो प्रजातिका दुइटा मात्र पोथी गैँडा बाँकी छन् : नाजिन र उसकी छोरी फातू।
पहिले चिडियाखानामा राखिएका ती जनावरलाई अहिले अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा कडा सुरक्षाका साथ राखिएको छ।
लोप हुन नदिने प्रयास
तस्बिर स्रोत, Jan Zwilling
हाल बाँकी रहेका दुई गैँडाले पनि प्रजनन गर्न असमर्थ भएकाले प्राविधिक रूपमा उक्त प्रजाति लोप भइसकेको छ।
तर 'बायोरेस्क्यू' टोली यी जनावरलाई लोप हुनबाट बचाउन असम्भवप्राय: मानिएको प्रजनन प्रक्रियामा सामेल भएको छ।
उनीहरूले सदर्न ह्वाइट राइनोको प्रयोग गरेर आफ्नो काम सुरुआत गरेका छन्। यो प्रजातिका गैँडाहरू भने अझै पनि हजारौँ छन् र तिनलाई संरक्षणको सफलताको कथाका रूपमा हेरिन्छ।
यद्यपि अझै पनि यो प्रजातिमाथि पनि अवैध सिकारीको आक्रमण जारी छ।
उक्त परियोजनाले कैयौँ चुनौती पार गर्नका लागि वर्षौँ लगाएको छ।
तस्बिर स्रोत, Jan Zwilling
पटकपटकको प्रयास
यो परियोजनाले दुई टन तौलका जनावरबाट डिम्ब कसरी सङ्कलन गर्ने भन्नेदेखि प्रयोगशालामा पहिलो पटक गैँडाको भ्रूण बनाउने र तिनीहरूलाई कसरी र कहिले प्रत्यारोपण गर्ने भन्ने कुरासमेत स्थापित गर्ने प्रयास गरेको छ।
सदर्न ह्वाइट राइनोमा आईभीएफ गर्भाधान गराउन १३ पटकसम्म प्रयास गरिएको थियो।
"भ्रूणलाई यति ठूलो जनावरको प्रजनन अङ्गमा राख्नु निकै नै चुनौतीपूर्ण कुरा हो। त्यस्तो अङ्ग लगभग जनावरको दुई मिटरभित्र हुन्छ," होल्ट्जले बीबीसीलाई भनिन्।
बेल्जियमको चिडियाखानामा रहेको पोथीको डिम्ब प्रयोग गरेर अस्ट्रियास्थित भाले गैँडाको शुक्रकीटबाट बनेको भ्रूणलाई केन्याको पोथी गैँडामा सारिएको थियो।
त्यो गैँडा गर्भवती भयो। तर त्यो सफलता पछि दुःखद बन्न पुग्यो।
गर्भावस्थाको सत्तरी दिनमा उक्त गैँडाको क्लोस्ट्रिडिआको सङक्रमणले मृत्यु भयो।
माटोमा पाइने ब्याक्टेरियाका कारण जनावरहरूमा त्यस्तो सङ्क्रमण हुन्छ र त्यो उनीहरूका लागि घातक पनि बन्न सक्छ।
उक्त मृत्युले टोलीलाई गहिरो झड्का दियो किनकि उसको गर्भमा ६.५ सेन्टिमिटरको भाले भ्रूण राम्रोसँग विकास भइरहेको र त्यो जीवितै जन्मने सम्भावना ९५ प्रतिशत रहेको परीक्षणका क्रममा पत्ता लागेको थियो।
तस्बिर स्रोत, Jan Zwilling
सङ्केत
त्यसले उक्त प्रविधिले काम गरेको र गैँडामा आईभीएफमार्फत् पनि व्यावहारिक रूपमै गर्भाधारण गराउन सम्भव छ भन्ने देखाएको छ। अबको चरण भनेको 'प्राविधिक रूपमा लोप भइसकेको' नोर्दन ह्वाइट राइनोमा यस्तै प्रयास गर्नु हो।
जर्मनी र इटलीमा तरल नाइट्रोजनमा भण्डारण गरिएका उक्त प्रजातिका ३० वटा मात्रै भ्रूण रहेका छन्।
केन्यामा रहेको कान्छो पोथी गैँडा फातूबाट निकालिएको डिम्ब र उनीहरू मर्नुअघि नै दुइटा नोर्दन ह्वाइट भाले गैँडाबाट सङ्कलन गरिएका वीर्यबाट ती भ्रूणहरू विकास गरिका हुन्।
यद्यपि यस प्रजातिको अर्को गैँडा जन्मनका लागि अर्को पनि वैज्ञानिक आधार चाहिन्छ।
अन्तिम दुई जीवित पोथी गैँडामध्ये कुनैले पनि उमेर र स्वास्थ्य समस्याहरूका कारणले गर्भधारण गर्न सक्दैनन्। त्यसको सट्टा भ्रूणलाई सदर्न ह्वाइट गैँडाकै गर्भमा प्रत्यारोपण गरिनेछ।
ती उपप्रजातिमा पनि पहिले कहिल्यै आईभीएफको प्रयास गरिएको थिएन तर वैज्ञानिकहरूको टोली त्यसले काम गर्नेमा विश्वस्त छ।
लाइब्निज आईजेडडब्ल्यूका निर्देशक तथा बायोरेस्क्यू कन्सोर्टिअम परियोजनाका प्रमुख थोमस हिल्देब्रान्टले भने, "मलाई लाग्छ नोर्दन ह्वाइट गैँडाको भ्रूण स्थानान्तरण धेरै नै सहज छ किनभने हामीले उसको नजिकको नातेदारमा सफलता पाएका छौँ। उनीहरूको शरीरको भित्री बनावट लगभग उस्तै नै छ।"
तस्बिर स्रोत, Jan Zwilling
आशा
'बायोरेस्क्यू' टोलीले आगामी महिनाहरूमा थप भ्रूण प्रत्यारोपण गर्ने आशा राखेको छ।
केही नोर्दन ह्वाइट गैँडा अझै जीवित रहँदा नै उक्त प्रजातिका नयाँ गैँडा जन्मिऊन् भन्ने उनीहरू चाहन्छन्।
"हामी नोर्दन ह्वाइट गैँडाको पहिलो सन्तानलाई उनीहरूसँगै राखेर उनीहरूले गर्ने सामाजिक सञ्चार, सामाजिक व्यवहारलाई लोप हुनबाट जोगाउन चाहन्छौँ। त्यो सन्तानले अन्तिम दुइटा गैँडाबाट उनीहरूको भाषा सिक्न सकोस् र कसरी व्यवहार गर्ने भनेर पनि सिकोस् भन्ने हामी चाहन्छौँ," प्राध्यापक हिल्देब्रान्टले भने।
शोधकर्ताहरू आईभीएफमार्फत् थप केही जनावरहरूमा गर्भधारण गराउँदा मात्र यो प्रजातिलाई बचाउने सकिने छैन भन्नेमा सचेत छन्। उल्लेख्य सङ्ख्यामा सन्तान उत्पादन गर्न पर्याप्त आनुवंशिक विविधता रहने छैन।
त्यसैले उनीहरू आईभीएफका साथसाथै अझ बढी प्रयोगात्मक प्रविधिमा काम गरिरहेका छन्।
त्यस्ता प्रविधिमा ‘स्टीम सेल’हरूबाट गैँडाको शुक्रकीट र डिम्बहरू सिर्जना गर्ने अनि भ्रूण उत्पादन गर्न प्रयास गर्ने जस्ता कुरा रहेका छन्।
त्यसका लागि पनि समय लाग्नेछ र त्यसका लागि कैयौँ वैज्ञानिक चुनौतीको सामना गर्नुपर्नेछ।
तस्बिर स्रोत, Jan Zwilling
आलोचना र प्रतिरक्षा
केही वन्यजन्तु विज्ञहरू भने लगभग लोप भइसकेका प्रजातिका निम्ति धेरै रकम र स्रोत खर्चिनुभन्दा बचाउन सकिने प्रजातिका लागि त्यो स्रोत उपयोग गर्न सकिने बताउँछन्।
चेक गणतन्त्रको सफारी पार्क द्भुर क्रालोभका बायोरेस्क्यू परियोजना संयोजक जन स्टेस्कलले भने, "हामीले बुझ्नुपर्ने कुरा के हो भने नोर्दन ह्वाइट गैँडा लोप हुनुको कारक मानव हो। कुनै पनि प्राकृतिक विकासको चरण वा त्यसको दबावले होइन। मानवीय लोभ र गैँडाको खागको खपतका कारण उनीहरू लोप भएका हुन्।”
"त्यसैले एक हिसाबले उनीहरूको अन्त्य गर्नमा हामी जिम्मेवार छौँ र यदि हामीसँग उनीहरूलाई बचाउन मद्दत गर्न सक्ने प्रविधि छ भने त्यसको प्रयोग गर्ने र उनीहरूलाई बचाउने प्रयास गर्ने जिम्मेवारी पनि हामीमा छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन