अमेरिकाद्वारा रुसविरुद्ध पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्ध घोषणा

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन्।

अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएका छन्।

व्यक्तिगत वा संस्थागत गरी १०० जतिलाई निर्यात प्रतिबन्ध लगाइएको छ।

पछिल्लो अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रमा कस्तो प्रभाव पर्नसक्छ भन्ने स्पष्ट छैन।

बाइडनले के भने?

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नयाँ प्रतिबन्धबारे सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडन

एउटा विज्ञप्तिमा अमेरिकी राष्ट्रपति बाइडनले विदेशमा गरिएको आक्रमण र देशभित्रै भइरहेको दमनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले "अझ ठूलो मूल्य चुकाउने" कुरालाई सुनिश्चित गर्ने जनाएका छन्।

रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक सातापछि अमेरिकाले त्यस्तो प्रतिबन्ध लगाएको हो।

उनको मृत्युमा रुसी राष्ट्रपति दोषी रहेकोमा कुनै शङ्का नभएको बाइडनले बताए।

ईयूको पनि प्रतिबन्ध

युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकाहरूलाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै २०० जति व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।

रुसले ती आरोपहरूको खण्डन गर्दै आएको छ।

नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।