बाङ्ग्लादेशमा यौन उत्पीडनको भिडिओ इन्टरनेटमा फैलिएपछि उत्पन्न आक्रोश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिलाविरुद्ध भएका हिंसाका पछिल्लो घटनामा यो बलात्कारको घटना सार्वजनिक भएको छ
    • Author, केली अङ
    • Role, बीबीसी न्यूज
    • Author, बीबीसी बाङ्ग्ला
    • Role, ढाका
  • पढ्ने समय: ३ मिनेट

चेतावनी: यो रिपोर्टमा केही त्यस्ता विवरण छन् जसले तपाईँलाई विचलित तुल्याउन सक्छन्

बाङ्ग्लादेशमा एक महिलालाई यौन उत्पीडन गरिएको भिडिओ इन्टरनेटमा व्यापक रूपमा शेअर गरिएपछि देशव्यापी आक्रोश उत्पन्न भएको छ।

स्थानीय मिडियाले अन्तरवार्ता लिँदा ती महिलाले गत बिहीवार उनको बाबुको घरमा गएका बेला बलात्कार भएको बताएकी थिइन्। उक्त क्लिपमा घटनास्थलमा केही मानिसहरू पनि देखिन्छन्।

प्रहरीले बलात्कारको आरोप लागेका व्यक्तिसहित पाँच जनालाई गिरफ्तार गरेको छ र अधिकारीहरूले यो केसलाई "अत्यन्त गम्भीरता"साथ अनुसन्धान गरिने बताएका छन्।

क्लिप शेअर गरिएपछि देशभर विरोध प्रदर्शन सुरु भएका थिए र केही मानव अधिकार समूहले घटनामा सामेल मानिसहरूका लागि कडा सजाय माग गरेका छन्।

पीडित महिला बाङ्ग्लादेशको मध्यतिर पर्ने कुमिला जिल्लामा आफ्नो पिताको घर गएका बेला छिमेकीले घरभित्र छिरेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

हिन्दु अल्पसङ्ख्यक समुदायकी ती महिलाले केही स्थानीय मिडियासँग बोल्दै आरोपित व्यक्तिले "गलत मनसायले उनको घर प्रवेश गरेको र उनलाई यातना दिएको" बताइन्।

प्रहरीले मुख्य सन्दिग्धको नाम ३६ वर्षीय फेजोर अलि भनेको छ। प्रहरीका अनुसार घटनापछि राति नै स्थानीय बासिन्दाले कुटपिट गरेपछि अलिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उक्त व्यक्तिको हात खुट्टामा चोट लागेका कारण आइतवार अदालतमा उपस्थित गराउन नसकेको प्रहरीले बताएको छ।

अरू चार जनालाई यौन उत्पीडनको घटनाको भिडिओ खिचेर इन्टरनेटमा राखेकोमा गिरफ्तार गरिएको प्रहरीले बताएको छ।

स्थानीय मानव अधिकार समूहहरूले शीघ्र अनुसन्धान हुनुपर्ने भनेका छन्। र, केहीले महिला विरुद्धको हिंसाको सिलसिलामा यो घटना पछिल्लो भएको र हिंसाका केसहरूमा न्याय दिन ढिलो गरिएको या अपराधीहरूलाई दण्ड नदिइने गरेको बताएका छन्।

राष्ट्रिय कानुनी सहायता तथा मानव अधिकार संस्था अइन ओ सलिश केन्द्रले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ "यदि महिला आफ्नै घरमा सुरक्षित छैनन् भने त्यो राज्यको गम्भीर विफलता र सुरक्षामा समस्या रहेको देखिन्छ।"

उक्त संस्थाले भनेको छ "राज्यले स्पष्ट र दृढ सन्देश दिनुपर्छ कि यो देशमा यस्तो क्रूरताका लागि कुनै स्थान छैन।"

पीडितमाथि "दोस्रो आक्रमण "

ढाकास्थित अर्को संस्था मनुशेर जोनो फाउन्डेशनले भिडिओ खिच्ने र बाँड्नेहरूको भर्त्सना गर्दै उनीहरूले पीडितमाथि "दोस्रो आक्रमण " गरेको बताएको छ।

बाङ्ग्लादेशी अधिकारीहरूले यो मामिला छिटो टुङ्ग्याउने बताएका छन्।

"साधारण नागरिक जस्तै हामी पनि त्यो बलात्कारबाट दु:खमा परेका छौँ। हाम्रो गृह मन्त्रालयले कारबाही अगाडि बढाएको छ," देशका कानुन सल्लाहकार असिफ नजरुलले मिडिया ब्रिफिङमा आइतवार भने।

"मुख्य आरोपी सहित फोटो इन्टरनेटमा भाइरल बनाउने कार्य असाध्यै गैर जिम्मेवार कुरा हो सबै गिरफ्तार भइसकेका छन्।"

यो वर्षको सुरुमा ८ वर्षकी बालिकाको बलात्कारपछि भएको चोटका कारण मृत्यु भएको थियो र देशभर व्यापक विरोध फैलिएको थियो।

त्यसबेला पनि थुप्रै प्रदर्शनकारीले बलात्कार पीडितलाई न्याय दिने प्रक्रिया छिटो हुनुपर्ने भन्दै महिला र बालबालिकाको सुरक्षासम्बन्धी कानूनमा सुधारको माग गरेका थिए।

प्रदर्शनकारीले बाङ्ग्लादेशमा बलात्कारको कानुनी परिभाषामा अधिक स्पष्टता माग गर्दै अहिलेको कानुनमा त्यो अस्पष्ट रहेको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।