रहस्य खोतल्न १५ लाख वर्ष पुरानो बरफ पगालिँदै

तस्बिर स्रोत, PNRA/IPEV

तस्बिरको क्याप्शन, बरफको पिँध १५ लाख वा त्यस भन्दा पनि धेरै वर्ष पुरानो भएको ठानिएको छ
    • Author, जोर्जिना रेनार्ड
    • Role, जलवायु र विज्ञान संवाददाता
  • पढ्ने समय: ५ मिनेट

वैज्ञानिकहरूले १५ लाख वर्षभन्दा पुरानो रहेको ठानिएको एउटा बरफ पगाल्ने भएका छन्। पृथ्वीको जलवायुबारे अध्ययनका लागि उक्त बरफको ढिक्कालाई यूके ल्याइएको छ।

काँचको सिलिन्डर जस्तै देखिने उक्त 'आइस कोर' यो ग्रहको सबैभन्दा पुरानो बरफ हो। यो अन्टार्कटिकको बरफ पत्रको भित्री भागबाट निकालिएको हो।

यसभित्र हजारौँ वर्ष पुराना र अहिलेसम्म थाहा नभएका जानकारी रहेको र जलवायु परिवर्तनबारे हाम्रो अहिलेको बुझाइलाई यसले व्यापक हेरफेर गराइदिनसक्ने वैज्ञानिकहरूको दाबी छ।

बरफका ती अमूल्य बाकसहरू हेर्न बीबीसी न्यूजका प्रतिनिधि केम्ब्रिजस्थित ब्रिटिश एन्टार्कटिक सर्भेको -२३ डिग्री सेल्सिअसको तापक्रम रहेको कोठामा प्रवेश गरेका थिए।

"यो पृथ्वीको इतिहासको केही पनि थाहा नभएको युगको कुरा हो," ब्रिटिश एन्टार्कटिक सर्भेकी आइस कोर विभाग प्रमुख डा लिज थोमस भन्छिन्।

कोठाको ढोकामाथि चेतावनी सङ्केत दिने राता बत्तीहरू पिलपिल गरिरहेका छन् र भित्रपट्टि केही गडबड भएको अवस्थामा भाग्नका लागि आपत्कालीन सुरुङहरू छन्।

तस्बिर स्रोत, PNRA/IPEV

तस्बिरको क्याप्शन, डुङ्गामा युरोप ल्याउनुअघि बरफका टुक्राहरूलाई अन्टार्कटिकामा हिउँको एक गुफामा भण्डार गरिएको थियो

यो कोठाभित्र एक पटकमा १५ मिनेटसम्म मात्रै बस्न पाइने नियम छ। र भित्र जाँदा विशेष पोसाक, बुट र पन्जा लगाउन अनिवार्य गरिएको छ।

केही बेरपछि हाम्रो क्यामेराको इलेक्ट्रोनिक सटर जमेर चल्न छोड्यो अनि बरफ जम्दै जाँदा हाम्रा रौँ ठाडा भए।

बरफका बाकसहरू थुपारिएको एउटा ठाउँमा डा थोमसले हामीलाई सबैभन्दा पुरानो बरफको भित्री भाग देखाइन्। त्यो १५ लाख वर्ष पुरानो भएको ठानिएको छ। तिनीहरू निकै सफा र चम्किला छन्। हामी त्यसको अर्कोपट्टि रहेका हाम्रा हातहरू पनि प्रस्ट रूपमा देख्न सक्छौँ।

ठूलो प्रयासबाट निकालिएका बरफहरूलाई वैज्ञानिकहरूको यो टोलीले सात हप्तासम्म बिस्तारै पग्लन छोड्ने छ। बरफ बिलाउँदै जाँदा यसमा च्यापिएर रहेको प्राचीन धुलो, ज्वालामुखीको खरानी र डायटम्स भनिने साना समुद्री झार पनि बाहिर आउने छ।

यी चिजहरूले वैज्ञानिकहरूलाई १० लाख वर्षभन्दा पहिलेको हावाको ढाँचा, तापक्रम र समुद्री सतहको बारेमा थाहा दिन सक्छन्।

बरफ पग्लिएर निस्कने तरल पानीलाई ट्यूबहरूले अर्को कोठामा रहेको विश्वकै एक मात्र यस्तो परीक्षण गर्न सकिने प्रयोगशालामा पुर्‍याउँछन्।

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, केम्ब्रिजस्थित ब्रिटिश एन्टार्कटिक सर्भेको टोलीको नेतृत्व गर्दै डा लिज थोमसले बरफको विश्लेषण गर्ने छिन्

अन्टार्कटिकाबाट बरफका यी नमुना निकाल्न कैयौँ देशहरूले दशौँ लाख खर्च गरेका थिए। सबैभन्दा पहिले बरफलाई एक मिटर लम्बाइका ब्लकहरूमा काटिएको थियो अनि पहिले पानीजहाज र त्यसपछि चिस्यान सहितको भ्यानमा केम्ब्रिजसम्म ल्याइएको थियो।

पूर्वी अन्टार्कटिकाको कन्कर्डिया नजिकैबाट बरफ निकाल्न इन्जिनियर जेम्स भिएलले सहयोग गरेका थिए।

"पन्जा लगाएर हातले सावधानीपूर्वक त्यसलाई निकाल्नु र एउटै टुक्रा पनि त्यसबाट अलग हुन नदिन सावधान भएर काम गर्नु अद्भुत अनुभूति थियो," उनी भन्छन्।

जर्मनी र स्विट्जरल्यान्डका दुई वटा संस्थाले पनि २.८ किलोमिटर कुल लम्बाईका बरफका टुक्राहरूमध्ये केही अनुसन्धानका लागि पाएका छन्।

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, केम्ब्रिजमा जम्मा गरिएका बरफलाई सात हप्ता लगाएर पगाल्ने तयारी छ

यो टोलीले ८ लाख वर्षभन्दा पहिले कार्बन डाइअक्साइडको मात्रा प्राकृतिक रूपमा अहिलेको जति वा अझ बढी हुन सक्ने ठानिएको युगको प्रमाण फेला पार्न सक्ने डा थोमस बताउँछिन्।

यसले वैज्ञानिकहरूलाई हाम्रो वायुमण्डलमा तापक्रम वृद्धि गराउने ग्यासहरू थुप्रिँदा हाम्रो ग्रहले जनाउने प्रतिक्रियाले भविष्यमा कस्ता असर पर्न सक्लान् भन्नेबारे पनि बुझ्न मद्दत गर्न सक्छ।

"हाम्रो जलवायु प्रणाली फरकफरक परिवर्तनको प्रक्रियाबाट यहाँसम्म आइपुगेको छ। हामीले ती फरक फरक प्रक्रियाहरू र परिवर्तनहरू थाहा पाउन पछाडि फर्किएर हेर्नुपर्ने हुन्छ," उनी भन्छिन्।

तस्बिर स्रोत, PNRA/IPEV

तस्बिरको क्याप्शन, अध्ययनका लागि जम्मा २.८ किलोमिटर बरफ निकालिएको थियो। जसलाई एकै ठाउँ खप्ट्याइयो भने आठ वटा आइफल टावरभन्दा अग्लो हुन्छ

प्राचीन युग र अहिलेको युगबीच फरक के छ भने विगत १५० वर्षमा मानिसहरूका कारण तापक्रम बढाउने किसिमका ग्यासहरूको व्यापक उत्पादन भएका छन्।

यसअघिको अवस्थाबारे जानकारीको अभाव भए पनि बरफमा कैद रहेको हाम्रो ग्रहको वातावरणीय इतिहासको अभिलेखले हामीलाई मार्गदर्शन दिन सक्ने वैज्ञानिकहरू बताउँछन्।

वैज्ञानिकहरूको टोलीले तरल पदार्थमा रहेका रासायनिक 'आइसोटोप' पहिचान गरेर ८ लाख देखि १५ लाख वर्ष पहिले र सम्भव भएसम्म त्यसभन्दा पनि अगाडिको समयको हावाको ढाँचा, तापक्रम र वर्षाको बारेमा पत्ता लगाउने अपेक्षा राखेका छन्।

उनीहरूले इन्डक्टिभली कपल्ड प्लाज्मा मास स्पेक्ट्रोमिटर 'आईसीपीएमएस' उपकरण प्रयोग गरेर बरफमा रहेका २० वटा तत्त्वहरू र ट्रेस मेटलको अध्ययन गर्ने छन्।

तस्बिर स्रोत, PNRA/IPEV

तस्बिरको क्याप्शन, इटली र फ्रान्सको संयुक्त अनुसन्धान केन्द्रबाट ४० किलोमिटर टाढा पूर्वी अन्टार्कटिकाको कन्कर्डियाबाट बरफ निकालिएको हो

अध्ययनमा रेअर अर्थ तत्त्वहरू, समुद्री लवण र सामुद्रिक तत्त्वहरूका साथै विगतमा भएका ज्वालामुखी विस्फोटका सूचनाहरू पनि पर्ने छन्।

आजभन्दा ८ लाख देखि १२ लाख वर्ष पहिले भएको ठानिएको ग्रहको हिमनदी चक्रको रहस्यमय परिवर्तनबारे पनि बुझ्न वैज्ञानिकहरूलाई यी बरफले सहयोग पुर्‍याउने ठानिएको छ। यो परिवर्तनलाई वैज्ञानिकहरूले 'मीड-प्लाइस्टसिन ट्रान्जिसन' भन्ने गरेका छन्।

त्यस अघिसम्म प्रत्येक ४१ हजार वर्षमा न्यानो युगबाट चिसो युग आउने र बरफले ढाकिएका क्षेत्र बढ्दै जाने गरेको ठानिएको थियो। तर उक्त परिवर्तन पछि अचानक त्यस्तो सङ्क्रमणको समय १ लाख वर्षमा धकेलियो।

डा. थोमसका अनुसार के कारण यो परिवर्तन भयो भन्ने कुरा जलवायु विज्ञानमा "सबैभन्दा रोमाञ्चक अनुत्तरित प्रश्न"हरू मध्ये एक हो।

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, अन्टार्कटिकाबाट बरफ निकाल्न इन्जिनियर जेम्स भिएलले सहयोग गरेका थिए

अन्टार्कटिकाको गहिराइबाट निकालिएको यो बरफले समुद्रको सतह अहिलेभन्दा उच्च र अन्टार्कटिकामा बरफको पत्र अहिलेभन्दा पातलो भएको कुराको पनि प्रमाण बोकेका हुन सक्छन्।

बरफमा रहेका धुलोका कणले बरफको पत्र कसरी पातलिँदै गयो र समुद्रको सतह बढाउन त्यसले कसरी योगदान दियो भन्नेबारे पनि जबाफ दिने ठानिएको छ - जुन यो शताब्दीकै चिन्ताको विषय बनिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।