'डोनल्ड ट्रम्पले मेरा पतिको हालखबर सोध्लान् भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ'

तस्बिर स्रोत, Nato

तस्बिरको क्याप्शन, 'म देख्न सक्छु यसले तपाईँलाई निकै बेचैन बनाएको छ' - हवाई सुरक्षासम्बन्धी कुरा हुँदै गर्दा ट्रम्पले बीबीसी न्यूज युक्रेनकी पत्रकारलाई उनको परिवारबारे सोधे
    • Author, माइरस्लाभा पेट्सा
    • Role, बीबीसी न्यूज युक्रेन
  • पढ्ने समय: ४ मिनेट

मैले सपनामा पनि सोचेकी थिइनँ कि कुनै दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेरा पतिलाई अभिवादन सन्देश पठाउलान् भनेर। तर त्यसै भयो - त्यो पनि संसारकै सामु - यसै साता द हेगमा भएको नेटो सम्मेलनमा।

रमाइलो कुरा त के भयो भने राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेलन हुनुअगाडि म अलि रिसाएकी थिएँ किनभने उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गर्न लागेको बैठकमा आमन्त्रित पत्रकारहरूको सूचीमा म पर्न सकेको थिइनँ।

तर मलाई थाहा थिएन कि दुई नेताको बैठकबारे समाचार सङ्कलन गर्न अनुमति पाएका पत्रकारहरूलाई खासमा उनीहरूको भिडिओ खिच्न वा भेट्न पनि दिइने रहेनछ।

बरु म सोही दिन राष्ट्रपति ट्रम्पले सम्बोधन गर्न लागेको अर्को पत्रकार सम्मेलनतर्फ दौडिएँ। त्यहाँ विश्वभरिका सयौँ पत्रकारहरू उनलाई कुरिरहेका थिए।

मेरो मनमा उनलाई सोध्ने प्रश्न त थियो तर मैले त्यो सोध्ने अवसर पाऊँला भन्ने कमै विश्वास थियो। तर असम्भव भन्ने के हुन्छ र?

फेब्रुअरीमा ओभल अफिसमा राष्ट्रपति जेलेन्स्कीसँगको बैठकका बेला राष्ट्रपति ट्रम्पलाई मैले दुईवटा प्रश्न सोधेँ : छिट्टै शान्ति नभए युक्रेनलाई हतियार आपूर्ति गर्न उनी तयार होलान्? (जसको जवाफ सकारात्मक थियो), र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम तोडे उनले के गर्लान्? (जसको जवाफमा उनले प्रतिप्रश्न गर्दै "यसो भए के होला? तपाईँको टाउकोमा यतिखेर बम खसे के होला?" भनेका थिए।)

तस्बिर स्रोत, Jim Lo Scalzo / Pool / EPA-EFE / REX / Shutterstock

तस्बिरको क्याप्शन, फेब्रुअरीमा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्ससँगको कुराकानीका बेला चर्काचर्की परेको थियो

ट्रम्पको ध्यान खिच्ने प्रयास

त्यसैले यसपटक मैले कालो कोट लगाएका पत्रकारहरूको हुलमा राष्ट्रपति ट्रम्पको आँखामा पर्न सजिलो होस् भनेर आफूले लगाइरहेको कालो ज्याकेट फुकालेँ। अनि मञ्चको नजिकै गएर बसेँ।

त्यसपछि मैले बारम्बार हात उठाइरहेँ ताकि उनको नजरमा परियोस् भनेर। केही बेरमा उनले मलाई देखे।

मैले प्याट्रिअट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबारे प्रश्न सोधेँ। 'रुसले युक्रेनी सहरहरूमा भीषण बमबारी गरिरहँदा के अमेरिकाले उक्त प्रणाली युक्रेनलाई बेच्ला?' भनेर मैले सोधेकी थिएँ।

युक्रेनका निम्ति हवाई प्रतिरक्षा निकै प्राथमिकताको विषय बनेको छ। हालैका दिनहरूमा रुसले किएभ, डिनिप्रो र ओडेसामा कैयन् गैरसैनिकहरूलाई मारिदिएको समयमा यो निकै महत्त्वको विषय बनेको छ।

तस्बिर स्रोत, NATO

तस्बिरको क्याप्शन, नेदरल्यान्ड्समा भएको नेटो प्रेस सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ, राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबिओ

'विचारशील र शिष्ट'

गत वर्ष बाइडन प्रशासनले यी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली दिने कार्यलाई प्राथमिकतामा राखेको थियो। भण्डार रित्तिएकाले युक्रेनलाई अब चाँडै नै ती आवश्यक परेका छन्।

त्यसैले म मेरो सीधा प्रश्नको सीधा जवाफ आउने अपेक्षामा थिएँ। तर राष्ट्रपति ट्रम्पले उल्टै मलाई प्रश्न गर्दै मेरा पति युक्रेनमा सैनिक हुन् कि भनेर सोधे। मैले 'हो' भनेँ।

मेरो प्रश्नको जवाफमा उनीबाट यस्तो प्रतिक्रिया मैले अपेक्षै गरेको थिइनँ। निश्चय पनि संसारका सबैभन्दा शक्तिशाली व्यक्तिसामु म मेरो व्यक्तिगत जीवनबारे खुल्न तयार पक्कै थिइनँ। त्यो मेरो योजनै थिएन।

तर हाम्रो संवादका क्रममा राष्ट्रपति ट्रम्प निकै विचारशील र शिष्ट थिए। उनले यी घटनाक्रम मेरा लागि कति कष्टदायक छ भनेर पनि आफूले बुझेको बताए। उनी भावुक भएको देख्न सकिन्थ्यो।

त्यसैले उनले म र मेरा परिवारकाबारे प्रश्न सोधिरहे। सायद पहिलोचोटि उनले युद्धबाट प्रभावित कुनै सामान्य युक्रेनीसँग भेटेजस्तो देखियो - र त्यो अवसरलाई उनले खुलस्त संवाद गर्न प्रयोग गरे, दशौँ लाख मानिसहरूका सामु।

हतियारको अनुरोध

तस्बिर स्रोत, Pool via Reuters

तस्बिरको क्याप्शन, अमेरिकी प्याट्रिअट एन्टिएअरक्राफ्ट क्षेप्यास्त्र प्रणालीबारे युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिइएको जर्मनीस्थित एक स्थलमा राष्ट्रपति जेलेन्स्की

अन्तत: राष्ट्रपति ट्रम्पले किएभले वाशिङ्टनसँग ती हतियार प्रणाली मागिरहेको स्वीकारे। आफूले त्यसमा प्रयत्न गरिरहेको पनि बताए। तर कुरा यतिमै सकिएन।

आखिरमा जब राष्ट्रपति ट्रम्पले मेरा पतिलाई उनले 'हेलो' भनेको सुनाइदिनू भने, म निकै भावुक हुन पुगेँ।

रुसले अतिक्रमण गरेको दोस्रो दिनदेखि नै मेरा पति युक्रेनको रक्षार्थ खटिएका छन्।

मलाई लाग्यो ट्रम्पले यस युद्धमा मैले र मेरो परिवारले चुकाइरहेको मूल्य बुझे र मलाई आश्वस्त पार्न खोजे।

त्यो संवादलाई फेरि सम्झिँदा के लाग्छ भने मेरा लागि मात्र नभई मेरा देशका कैयौँ मानिसका लागि यसको ठूलो अर्थ छ।

मलाई लाग्छ युक्रेनमा धेरैमाझ यो संवादले राष्ट्रपति ट्रम्प स्वयंको निम्ति पनि केही अर्थ राख्ने आशा रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।