गुजरातको एक गेम जोनमा भीषण आगलागी, अहिलेसम्म के के भयो?

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, उक्त गेम जोनमा भएको आगलागीको घटनाको अनुसन्धान गर्न विशेष टोली बनाइएको छ

पश्चिम भारतको गुजरात राज्यको एउटा मनोरञ्जनात्मक आर्केडमा भीषण आगो लाग्दा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ।

राजकोटस्थित एउटा गेम जोनमा शनिवार अपराह्न उक्त घटना भएको हो। त्यसबेला सो मलमा बालबालिका र युवा उमेरका मानिसहरू धेरै थिए।

उद्धार टोलीहरूले कैयौँ मानिसहरूको ज्यान बचाएका थिए। उनीहरूले भग्नावशेषमा खोजी जारी राख्दा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

स्थानीय प्रहरीले पीडितहरू नराम्रोसँग जलेको हुँदा उनीहरूको पहिचान स्थापित गर्न गाह्रो भइरहेको बताएका छन्। शवहरू पहिचान गर्नका लागि डीएनए नमुना पनि सङ्कलन गरिएको छ।

अधिकारीहरूले उक्त आगलागी नियन्त्रणमा लिइएको जनाएका छन्। तर आगो लाग्नुको कारण अझैसम्म थाहा पाउन सकिएको छैन।

विशेष अनुसन्धान टोली जाँचमा खटियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गेमिङ जोनमा आपत्कालिक निकासको अवस्था कस्तो थियो भन्ने पत्ता लगाउन जाँच टोलीलाई भनिएको छ

राजकोटको मावारोडमा अवस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउन कैयौँ दमकलहरू प्रयोग गरिएका थिए।

प्रत्यक्षदर्शीहरूले उक्त आगो ज्यादै भीषण भएको र धुवाँ पाँच किलोमिटर परको दुरीबाट देखिएको जनाएका छन्।

उक्त मलको गेम जोनमा वाइल्डिङको काम चलिरहेको र स्थानीयहरूले सर्ट सर्किट भएको सूचना दिएको विवरण आएका छन्।

राजकोटका जिल्ला कलेक्टर पी जोशीले भने, “करिब साढे चार बजे कन्ट्रोल रुममा टीआरपी गेम जोनमा आगो लागेको भन्दै टेलिफोन आयो। फायर ब्रिगेडका गाडी तुरुन्तै घटनास्थलमा पुगेर आगो निभाए।”

राजकोटका पुलिस कमिश्नर राजु भार्गवले उक्त गेम जोनका मालिकविरुद्ध हत्या र लापरबाहीको अभियोग लगाउने र त्यसपछि थप जाँच गर्ने बताएका छन्।

घटनालाई लिएर चारजना पक्राउ परेको विवरण आएका छन्।

तस्बिर स्रोत, Getty Images

गुजरात सरकारले उक्त घटनाको जाँच गर्न पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ।

उक्त टोलीलाई ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउन भनिएको छ। उक्त टोलीले १० दिन भित्र सरकारलाई विस्तृत प्रतिवेदन पेस गर्नुपर्नेछ।

सो टोलीले यी विषयहरूमा प्रतिवेदन दिनेछ:

  • आगो कुन परिस्थितिमा लाग्यो?
  • गेमिङ जोनको अनुमति छ कि छैन?
  • गेमिङ जोनलाई अनुमति दिँदा कुन कुरालाई ध्यान राखिएको थियो?
  • गेमिङ जोनको निर्माण नियमानुसार भएको छ कि छैन?
  • गेमिङ जोनसँग अग्नि नियन्त्रण विभागको स्वीकृति छ कि छैन?
  • गेमिङ जोनमा आपत्कालिक निकासको कस्तो व्यवस्था छ?
  • स्थानीय प्रणाली या गेमिङ जोन सञ्चालन गर्नेको लापरबाही छ कि छैन?
  • भविष्यमा यस्तो घटना हुन नदिन कस्तो कदम चाल्नुपर्छ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगजनीले आफूलाई ज्यादै दुखी तुल्याएको भन्दै आफ्ना प्रियजन गुमाउनेहरूलाई आफूले सम्झिएको बताएका छन्।

तस्बिर स्रोत, Reuters

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले एउटा ‘विशेष अनुसन्धान टोली’ खटाइएको बताएका छन्।

उनले मृतकका परिवारलाई ४ लाख रुपियाँ र घाइतेको परिवारलाई ५० हजार रुपियाँको सहायता दिने घोषणा गरेका छन्।

प्रत्यक्षदर्शी यस्तो भन्छन्

तस्बिर स्रोत, Reuters

उक्त आगजनी भएको समयमा दिलीप सिंह वाघेला सडकमा हिँडिरहेका थिए।

उनले बीबीसी गुजरातीसँग भने, “म यो सडकमा हिँडिरहेको थिए र मैले धुवाँको मुस्लो देखे। जब म यहाँ छेउमा आइपुगे आगोको लप्का देखेर मैले यो भीषण आगलागी भएको बुझिहाले। त्यसपछि म त्यही रोकिए।”

उनले त्यो बेला प्रहरीको दुई वटा गाडी र दुई वटा एम्बुलेन्स रहेको तर कुनै पनि दमकल आई नसकेको जनाए।

उनले थपे, “फायर ब्रिगेडको गाडीलाई यहाँ आइपुग्न करिब ४५ मिनेट लाग्यो।”

उनले यो घटनालाई मोरबी झोलुङ्गे पुल दुर्घटना र सूरतमा अवस्थित तक्षशिला कम्प्लेक्समा लागेको भीषण आगलागीसँग तुलना गर्दै मानिसहरूको त्यसै जीवन गुमाइरहेको भन्दै आक्रोश व्यक्त गरे।

गेम जोन नजिकैको आवास परिसरमा बस्ने केतन सिंह परमारले भने, “हामीले प्रत्येक हप्ता यो गेम जोनको बारेमा पटक पटक गुनासो गरेका छौँ। यस पटक कमिश्नरलाई इमेल पनि गरिएको थियो। यहाँ राती एक बजे पनि पाँच छ जना युवाहरू आउने जाने गर्थे र गेम जोन सञ्चालन गर्ने गरिन्थ्यो। यहाँ मानिसहरूले रातमा गाडीहरू घुमाउँथेँ।”

उनले थपे, “यो गेम जोन यति खराब थियो कि हामीले यहाँ बस्दा बस्दै पनि कहिल्यै पनि आफ्ना बालबच्चाहरूलाई त्यहाँ पठाएनौँ।”

गुजरातमा पहिले भइसकेका पाँच ठूला दुर्घटना

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मोरबी झोलुङ्गे पुल चुँडिदा १४१ जनाको ज्यान गएको विवरण आएका थिए
  • सन् २०२४ को ज्यानुअरी १८ मा वडोदराको हरणी तालमा एउटा डुङ्गा डुबेको थियो। त्यसमा १२ बालबालिका र २ शिक्षकहरूको ज्यान गएको थियो। जब बालबालिकालाई डुङ्गामा राखियो उनीहरूलाई जीवनरक्षक ज्याकेट समेत दिइएको थिएन।
  • सन् २०२२ अक्टोबर ३० मा मोरबी झोलुङ्गे पुल चुँडिदा १४१ जनाको ज्यान गएको थियो। मृतकमध्ये एक तिहाइ बालबालिका थिए।
  • सन् २०२२ को जुलाई २६ मा बोटादमा विषाक्त मदिरा सेवन गरेको कारण ३९ जनाको ज्यान गएको थियो।
  • सन् २०२० अगस्ट ६ मा अहमदाबादको नवरंगपुरा क्षेत्रमा बनेको श्रेया अस्पतालको आईसीयूमा आगलागी भएको थियो। त्यसमा कोरोनाभाइरस सङ्क्रमणको उपचार गराइरहेका ८ जनाको मृत्यु भएको थियो।
  • सन् २०१९ मे २४ मा सूरतको तक्षशिला आर्केड नामक भवनमा रहेको कोचिङ सेन्टरमा आगलागी हुँदा २२ छात्राहरूको ज्यान गएको थियो। कोचिङ कक्षा सपिङ कम्प्लेक्सको सबैभन्दा माथिल्लो तलामा अवैध रूपमा निर्माण गरिएका कोठाहरूमा सञ्चालन गरिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।