'नौलो' डाइनसोरको खोजले यसरी बदलिदियो 'टी-रेक्स'को इतिहास

तस्बिर स्रोत, Masato Hattori

तस्बिरको क्याप्शन, नयाँ खोज गरिएको खानकूलू मङ्गोलिएन्सिस नामक टिरानसोरसको पूर्वजको चित्र
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
  • पढ्ने समय: ४ मिनेट

मङ्गोलियाको एक सङ्ग्रहालयमा रहेका सङ्ग्रहमाझ वैज्ञानिकहरूले डाइनसोरको नयाँ प्रजाति भेटेको बताएका छन्, जसले टिरानसोरसको उत्पत्तिको इतिहास नै बदलिदिएको छ।

झन्डै ८ करोड ६० लाख वर्ष पुराना दुई अस्थिपञ्जर अध्ययन गर्दा तिनीहरू 'टिरानसोरस' भनिने ठूल्ठूला डाइनसोरको निकटतम पूर्वज प्रजातिको रहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस समूहमा 'टी-रेक्स'जस्ता चर्चित किसिमका डाइनसोर पर्छन्।

नयाँ पत्ता लागेको प्रजातिलाई अनुसन्धानकर्ताहरूले 'खानकूलू मङ्गोलिएन्सिस' नाम दिएका छन्, जसको अर्थ मङ्गोलियाका 'ड्र्यागन प्रिन्स' भन्ने लाग्छ।

'साना र छरिता सिकारी'

तस्बिर स्रोत, Darla Zelenitsky

तस्बिरको क्याप्शन, टी-रेक्स डाइनसोरको पूर्ण जीवाश्म भेटिएका छन् तर उसका प्राचीन पूर्वज अझै रहस्यकै पर्दाभित्र थिए

'नेचर जर्नल'मा प्रकाशित उक्त शोधपत्रले टिरानसोरसहरू कसरी शक्तिशाली मांसाहारी सिकारीका रूपमा विकसित भए भन्ने देखाउँछ। डाइनसोरको युगको अन्त्य नहुँदासम्म यी समूहले उत्तर अमेरिका तथा एशियामा वर्चस्व कायम गरेका थिए।

"'प्रिन्स' ले त्यो जीव अलि प्राचीन अनि सानो आकारको टिरानसरोइड भएको जनाउँछ," क्यानडाको यूनिभर्सिटी अफ क्याल्गरीका प्यालिओन्टोलजिस्ट प्राध्यापक डार्ला जेलेनित्स्कीले बताइन्। टिरनसोरोइड भन्नाले दुई खुट्टामा उभिएर हिँड्न सक्ने मांसाहारी डाइनसोरका विशाल समूह वा 'सूपरफ्यामली'लाई जनाउँछ।

तर प्रारम्भका टिरनसोरोइडहरू अलि साना थिए। प्राध्यापक जेलेनित्स्कीसँगै अनुसन्धानमा सामेल विद्यावारिधिका विद्यार्थी ज्यारेड भोरिस भन्छन्, "ती साँच्चै साना, छरिता सिकारी थिए, जो अन्य सिकारी डाइनसोरको छायामा विस्तार हुँदै गए।"

खान्कूलूले चाहिँ उत्पत्ति विकासमा क्रमभङ्गताको प्रतिनिधित्व गर्छन् - जुरासिक युगका साना छरिता सिकारीबाट टी-रेक्सजस्ता डरलाग्दा भीमकाय जीवसम्म।

उसको तौल सायद ७५० किलोग्राम हुँदो हो। वयस्क टी-रेक्स त तीभन्दा करिब धेरै गुनासम्म धेरै तौलका हुन्थे। "त्यसैले यो तिनको विकासक्रमको सङ्क्रमणकालीन समयको जीवाश्म हो," प्राध्यापक जेलेनित्स्कीले भनिन्, "प्राचीन साना टिरनसोरोइड र भीमकाय टिरनसोरसबीचको अवस्थाको।"

"यसको अध्ययनले हामीलाई टिरनसोरसको विकासक्रम वा 'वंशावली'लाई पुनरवलोकन गर्न र त्यसको बारेको बुझाइ परिवर्तन गर्न मद्दत गर्‍यो," उनले भनिन्।

'बसाइँसराइ'ले सघाएको विकासक्रम

तस्बिर स्रोत, Riley Brandt/University of Calgary

तस्बिरको क्याप्शन, टिरनसोरसको जीवाश्म अध्ययन गर्दै ज्यारेड भोरिस र प्राध्यापक डार्ला जेलेनित्स्की

नयाँ प्रजातिले टिरनसोरका विशिष्ट किसिमका खप्पर अनि बलिया चपाउने मुखका प्रारम्भिक विकास चरण पनि बुझाउँछ। ज्यारेड भोरिस भन्छन्, "उसको नाकको हाडमा हामीले देखेका विशेषता अन्तत: टिरनसोरसहरूको शक्तिशाली चपाउने दाह्राबङ्गारामा विकसित भए।"

त्यस्ता शक्तिशाली मुखको विकासले टी-रेक्सलाई अन्य ठूला सिकारमाथि झम्टन र हड्डीसमेत छेडेर चपाउन सक्षम बनायो।

हाल उनीहरूले अध्ययन गरेका यी दुई आंशिक अस्थिपञ्जर सुरुमा सन् १९७० ताका नै मङ्गोलियामा भेटिएका जीवाश्मका अंश हुन्। प्रारम्भमा तिनलाई डाइनसोरको अलेक्ट्रोसरस प्रजाति भन्ने ठानियो तर जब भोरिसले त्यसको अध्ययन गरे, उनले त्यसका टिरनोसरजस्ता विशेषता पहिचान गरे।

"मलाई उसले टेक्स्ट पठाएको सम्झना छ कि उसलाई यो त नयाँ प्रजाति हो भन्ने लागेछ," प्राध्यापक जेलेनित्स्कीले भनिन्।

त्यतिखेर साइबेरिया र अलास्काबीच जमिन जोडिएको स्थलबाट ती डाइनसोरका समूह उत्तर अमेरिका र एशिया आउजाउ गर्थे। यसले गर्दा तिनलाई विभिन्न स्थान कब्जा गरेर बस्न पनि मिल्यो।

भोरिसले भने, "महादेशबीच उनीहरूको त्यो आउजाउले दशौँ लाख वर्षको अवधिमा टिरनसोरस समूहका विभिन्न खाले विकासक्रम हुन सघायो।"

प्राध्यापक जेलेनित्स्की भन्छिन्, "यो खोजले हामीलाई के देखाएको छ भने राजा बन्नुभन्दा पहिले ती टिरनसोरसहरू राजकुमार (प्रिन्स) थिए।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।