अमेरिकाले देशनिकाला गरेका नेपालीहरू आइपुगे, 'मानव तस्करी'बारे सोधपुछ

पढ्ने समय: ५ मिनेट

अमेरिकाले अवैध आप्रवासी ठहर गर्दै देशनिकाला गरेका नौ नेपालीहरू बुधवार नेपाल आइपुगेको अधिकारीहरूले बताएका छन्।

तीमध्ये आठ जनालाई लिएर आएको एउटा चार्टर्ड विमान काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९:५३ बजे आइपुगेको उक्त विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले बताए।

अर्का एक जनालाई नियमित उडानमा रहेको छुट्टै विमानबाट नेपाल पठाइएको थियो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक अधिकारीले बीबीसीसँग भने, "एक जना छुट्टै नियमित उडानबाट आइपुगेका हुन्।"

"[चार्टर्ड विमान] अवतरणको हकमा जम्मा १४ जनाका लागि उहाँहरूले अनुमति लिनुभएको थियो। तर आउन चाहिँ आठ जना आउनुभएको हो," उनले भने। उनका अनुसार तीमध्ये एक महिला र सात पुरुष छन्।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका 'अप्रमाणित' आप्रवासीलाई तिनका देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए।

अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेको देखाउँछ।

तस्बिर स्रोत, Department of Immigration

अध्यागमनले प्रहरीलाई जिम्मा लगायो

अमेरिकाबाट यी नेपालीहरूलाई कुन अवस्थामा फर्काइएको हो भन्ने कुरा पनि खुल्न सकेको छैन।

विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराईले प्रक्रिया पुर्‍याएर ती नेपालीहरूलाई घर जान दिइने जानकारी दिए।

"विदेशबाट अध्यागमनका सामान्य प्रक्रियाहरू जेजे हुन्छन् ती सबै हामीले पूरा गर्‍यौँ। प्रहरीले सोधपुछ गर्नुपर्ने भनेपछि हामीले उहाँहरूलाई जिम्मा लगायौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।

अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ।

हालै अमेरिकाबाट भारत फर्काइएका अवैध भारतीय आप्रवासीहरूलाई हत्कडी लगाएर पठाइएकोमा त्यहाँको संसद्‌मा समेत आवाज उठेको थियो।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

नेपाल प्रहरी के भन्छ

नेपाल प्रहरीले सामान्य सोधपुछ गरिएपछि ती व्यक्तिहरू जान सक्ने जनाएको छ।

"उहाँहरू अपराधी होइन। त्यो भएर समात्ने वा छोड्ने भन्ने कुरा हुँदैन," केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

"कुनै स्क्याम [ठगी]मा परेर उहाँहरू अमेरिका पुग्नुभएको थियो कि भनेर हामीले सोध्न खोजेको हो। सामान्य सोधपुछपछि जो जहाँका हुनुहुन्छ त्यहाँ फर्किनुहुन्छ।"

उनीहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरेको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले बताए।

अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना १०० जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन्।

गत वर्ष नोभेम्बरसम्मको तथ्याङ्कअनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको सङ्ख्या झन्डै १,२०० थियो।

गत वर्ष सबैभन्दा धेरै नेपालीहरू यूएईबाट निष्काशनमा परेका थिए। त्यसपछि क्रमशः मलेशिया र कतारबाट निष्काशित हुने नेपालीको सङ्ख्या बढी छ। यी तीनवटै देश नेपाली कामदारले धेरै रुचाएका राष्ट्रहरू हुन्।

तस्बिरको क्याप्शन, नेपालीहरूलाई ल्याउने विमान अमेरिकाको न्यूह्याम्शरस्थित पोर्टस्मथबाट आल्बेनिया हुँदै आएको FlightRadar24 ले जनाएको छ

अमेरिकामा कति अप्रमाणित आप्रवासी छन्, तीमध्ये कति नेपाली?

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्याङ्कका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू थिए। उक्त सङ्ख्या अमेरिकाको कुल जनसङ्ख्याको झन्डै ३.३ प्रतिशत हो।

सन् २००५ यता उक्त सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। यद्यपि प्यूले आधिकारिक तथ्याङ्कमा केही पक्ष प्रतिबिम्बित हुन नसक्ने जनाएको छ। यो तथ्याङ्कमा क्युबा, भेनेजुएला, हेइटी र निकारागुआका मानवीय आधारमा अनुमति पाएका पाँच लाख आप्रवासीहरूसँग सम्बन्धित विवरण छुटेको हुन सक्छ।

धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा एक दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन्। त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन्।

उनीहरू मुख्यतः छवटा राज्यमा केन्द्रित छन् : क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोई।

अमेरिकामा बसोबास गर्दै आएका अप्रमाणित नेपाली आप्रवासीको सङ्ख्या भने स्पष्ट छैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पले अमेरिकामा लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने नीति अङ्गीकार गरेका छन्

के पहिला पनि सामूहिक देशनिकाला भएको थियो?

ट्रम्पको पहिलो चारवर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देशनिकाला गरिएको थियो। बाइडन प्रशासनले अमेरिकाबाट बाहिर निकालेका विदेशी आप्रवासीको सङ्ख्यामा पनि त्यसको छेउछाउ पुगेको बताइन्छ.

बराक ओबामाका दुई कार्यकालमा ३० लाख जनाभन्दा बढी आप्रवासीहरूलाई अमेरिकाले निकाला गरेको थियो। आप्रवासन सुधारका पैरवीकर्ताहरूले उनलाई "डिपोर्टर-इन-चीफ" अर्थात् "देशनिकाला गर्ने प्रमुख व्यक्ति"को सङ्ज्ञा दिएका थिए।

आधुनिक अमेरिकाको इतिहास हेर्ने हो भने सन् १९५४ मा सम्भवतः सबैभन्दा ठूलो सामूहिक देशनिकाला भएको थियो। त्यस वर्ष 'अपरेशन वेटब्याक' अन्तर्गत १३ लाख जनालाई अमेरिकाको सीमाबाट बाहिर पठाइएको थियो। मेक्सिकोका मानिसहरूलाई अपमानपूर्वक भनिने शब्दबाट उक्त अभियानको नाम राखिएको थियो।

उक्त अभियानले सार्वजनिक विरोध पनि खेप्नुपर्‍यो। किनभने केही अमेरिकी नागरिकहरू पनि देशनिकालामा परे र खर्चको विषय पनि उठ्यो। सन् १९५५ मा यो अभियान टुङ्गियो।

आप्रवासनविज्ञहरू उक्त अभियानलाई देशनिकाला गर्ने अहिलेका प्रयासहरूसँग तुलना गर्न नमिल्ने तर्क गर्छन्। उनीहरूका अनुसार उक्त कारबाही परिवार भएका र टाढाका अन्य देशबाट आएका मानिसहरूप्रति नभई मेक्सिकोबाट एक्लै आएका पुरुषहरूप्रति लक्षित थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।