सगरमाथामा बेपत्ता तीन शेर्पाको अवस्था अझै अज्ञात

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, खुम्बु आइसफल क्षेत्रलाई नेपालतर्फबाट सगरमाथा आरोहण गर्दा पार गर्नैपर्ने सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ

सर्वोच्च शिखर सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा गएको हिउँपहिरोमा परेर बुधवार बिहानदेखि तीनजना शेर्पाहरू हराइरहेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।

ती शेर्पाहरू सगरमाथामा यो यामको आरोहण खुल्नु हुनुअघि आवश्यक सामान लिएर आधारशिविरबाट माथि गएका थिए। तर पहिलो शिविर नपुग्दै उनीहरू सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन्।

हिउँले पुरिएको हुनसक्ने र समय घर्किँदै गएका कारण उनीहरूलाई "जीवितै फेला पर्न सक्ने अवस्था अब नदेखिएको" आइसफलमा आरोहीको बाटो व्यवस्थापन गर्ने जिम्मेवारी लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्षले बीबीसीलाई बताएका छन्।

“हराइरहेका एक जनासँग भएको 'रेको रेफ्लेक्टर' नामक उपकरणबाट प्राप्त हुन सक्ने सङ्केतको सहयोगमा बिहीवार खोजी गर्ने तयारी भइरहेको छ,” एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले नाम्चेबजारबाट बीबीसीलाई बताए।

“तर ठूलो हिउँको ढिस्कोले धेरै तलसम्म पुरेकाले अब उद्धार हुने सम्भावना देखिँदैन।”

आधारशिविरबाट सामान लिएर जाँदै गर्दा बुधवार बिहान ९: ३० बजेतिर ती तीन जना खुम्बु आइसफलको डाम भन्ने ठाउँमा हिमपहिरोमा परेका बताइएको छ।

पर्यटन विभागका पर्वतारोहण हेर्ने निर्देशक युवराज खतिवडाले आधारशिविरमा रहेका शेर्पाहरूलाई उद्धृत गर्दै घटनाको परिस्थिति हेरेर "उद्धारका लागि अब आशा गर्ने ठाउँ नदेखिएको" बीबीसीलाई बताए।

वसन्त यामको पहिलो मुख्य दुर्घटना

बुधवारको घटना सगरमाथामा वसन्त यामकै पहिलो ठूलो दुर्घटना हो।

बिहीवार समेत पैदल र हेलिकप्टर दुवै माध्यमबाट खोजीकार्य जारी राखिने विभाग र एसपीसीसीले जनाएका छन्।

शेर्पाहरू हराइरहेको खुम्बु आइसफल क्षेत्र नेपालतर्फबाट सगरमाथा आरोहण गर्दा पार गर्नैपर्ने सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ।

तर हिमनदी भएको उक्त क्षेत्रमा हिउँका ढिक्काहरू हलचल गरिरहने भएकाले उक्त भाग निकै अस्थिर र जोखिमपूर्ण मानिन्छ। त्यसैले आरोहीहरू त्यहाँ सामान्यत: राति र बिहानपख ओहोरदोहोर गर्छन्।

यसअघि सन् २०१४ मा १६ जना शेर्पाहरूको यही क्षेत्रमा हिमपहिरोमा निधन भएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

आधारशिविरमा सयौँ जना

सगरमाथा आरोहण गर्न यस वर्षको वसन्तऋतुका लागि २०० वटाभन्दा बढी आरोहण अनुमतिपत्र पर्यटन विभागले जारी गरिसकेको छ।

आरोहणको तयारीका लागि सहयोगी शेर्पाहरूसँगै सयौँ पर्वतारोहीहरू आधारशिविर पुगिसकेका छन्।

सामान्यतया मे महिनामा आरोहणका लागि मौसमअनुकूल हुने गर्छ।

तर त्यसको तयारीका लागि खानेकुरा तथा बन्दोबस्तीका सामान बोकेर मार्चदेखि नै शेर्पाहरू आधारशिविर माथिका शिविरमा आउजाउ गरिरहन्छन्।