जब नेपालबाटै लगेको सिक्री रुसी सेनामा मारिएका भाइको अन्तिम निसानी बन्यो

तस्बिर स्रोत, Anit Shah/Facebook

तस्बिरको क्याप्शन, अनित साहले नेपाल हुँदै लगाउने गरेको चाँदीको सिक्री रुसमा पनि लगेको उनको परिवारको भनाइ छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

रुसी सेनामा लड्दा ज्यान गुमाएका आफ्ना २२ वर्षीय भाइ अनितकुमार साहको ‘अस्तु’ काठमाण्डूको पशुपति आर्यघाटमा सेलाएर उनका दाजु अमित साह बिहीवार घर फर्कँदै छन्।

मोटरसाइकलबाट महोत्तरी जान लागेका उनले भाइको अस्तुसँगै अन्तिम चिनो बुझ्न पाएको बताए।

उनले अस्तु ‘खरानी नभएर ढुङ्गा’ जस्तो अवस्थामा हस्तान्तरण गरिएको उल्लेख गर्दै उनले घरबाट हिँड्दा भाइले लगाएको चाँदीको सिक्री देखेर भाइलाई चिनेको बताए।

उनले बीबीसीसँग भने, “भाइले घरबाटै चाँदीको सिक्री लगाएर गएको थियो। त्यो राजदूतावासका कर्मचारीले हामीलाई देखाए। त्यही देखेर मैले भाइलाई चिनेँ।”

उनले थपे, “शरीर हेर्न नपाए पनि भाइको अस्तु पशुपतिमा बगायौँ। बहुतै दुःख लागिरहेको छ।”

तस्बिर स्रोत, Anit Shah/Facebook

तस्बिरको क्याप्शन, रुसी सेनामा भर्ती भई ज्यान गुमाएका अनितकुमार साहको अस्तु बिहीवार प्राप्त गरेको उनको परिवारले बताएको छ

हिमालखबरले गएको जेठमा प्रकाशित गरेको एक रिपोर्टमा पनि महोत्तरीको सोनाम गाउँपालिका घर भएका साहबारे चर्चा गरिएको छ।

'ओभरसीअर' पढेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै बुवाले चलाउँदै आएको मेडिकल स्टोरमा सघाउने गरेको त्यसमा उल्लेख छ।

तर इन्जिनियरिङ पढ्न सहज हुने सुनेपछि दुई वर्षअघि छ लाख रुपैयाँ खर्चिएर उनी रुस गएका थिए।

तर रुस पुगेको पाँच महिनामै २३ वर्षीय अनितले आफू साथीहरूसँग रुसी सेनामा भर्ती भएको परिवारलाई सुनाएको उक्त समाचार विवरणमा जनाइएको छ।

परिवारले उनलाई गाली गर्दै तत्काल त्यो काम छाडिहाल्न सुझाएको तर उनले सेनामै भविष्य राम्रो हुने र भर्ना भइसकेपछि फर्कन नमिल्ने भन्दै सम्झाउन खोजेको समाचारमा जनाइएको छ।

रुसी सेनामा आबद्ध भई ज्यान गुमाएका अनितसहित पाँच जनाको अस्तु बिहीवार तिनका आफन्तले सामूहिक रूपमा पशुपति आर्यघाटमा विसर्जन गरेका छन्।

बिहीवार अस्तु विसर्जन गरेका कतिपय परिवारका सदस्यले असुरक्षा र पारिवारिक दबाव भन्दै बीबीसीलाई प्रतिक्रिया दिन मानेनन्। कतिपय आफ्ना प्रियजनको अन्तिम बिदाइलगत्तै घर फर्किरहेका कारण उनीहरूसँग कुरा गर्ने प्रयास सम्भव हुन सकेन।

पीडितहरूले लामो समयदेखि अन्तिम संस्कार गर्नका लागि शव र अस्तु फिर्ता पठाइदिनुपर्ने माग राख्दै आएको थिए।

मस्कोस्थित नेपाली राजदूतवाससँगको समन्वयमा रुसी अधिकारीहरूले एउटा बाकसमा राखेर अस्तु काठमाण्डू पठाइदिएका हुन्।

कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल र गणेश श्रेष्ठ अनि महोत्तरीका अनितकुमार साहको बिहीवार अस्तु विसर्जन गरिएको अधिकारीहरूले जनाएका छन्।

रुसबाट कसरी ल्याइयो अस्तु?

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हरिप्रसाद अर्यालको अस्तु पनि नेपाल आएको छ

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको कानुन परामर्श शाखाका अधिकृत कृष्णप्रसाद बस्यालका अनुसार मस्कोमा नै अन्तिम संस्कार गरेर उनीहरूको अस्तु नेपाल पठाइएको थियो।

उनले भने, “आज बिहान ८ बजे परिवारका सदस्यहरूलाई बोलाएर विमानस्थलबाटै हामीले सम्बन्धित परिवारलाई बुझायौँ। हामीले नेपालबाटै ती व्यक्तिको त्यहाँ नै दाहसंस्कार गर्न मिल्ने भनेर मन्जुरीनामा जस्तो पठाएका थियौँ। त्यसपछि त्यहाँ नै अन्तिम संस्कार भयो र त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् हाम्रो राजदूतावासमा अस्तु आयो। राजदूतावासले 'एअर कार्गो'का रूपमा अस्तुलाई नेपाल पठायो।”

बीबीसीले थाहा पाएअनुसार कतार एअरलाइन्सको विमानमार्फत् ती पाँच जनाको अस्तु नेपाल आएको थियो। रुस सरकारले अन्तिम संस्कार गरिदिँदा त्यसमा मस्कोस्थित नेपाली दूतावासका प्रतिनिधिलाई पनि सहभागी गराइएको अधिकारीहरू बताउँछन्।

कति नेपाली मारिए?

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसमा मारिएका भनिएका केही नेपालीका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन्

नेपाल सरकारले हालसम्म रुस युक्रेन युद्धमा मस्कोको पक्षमा लड्दा ३६ जनाले ज्यान गुमाएको प्रमाणित गरेको छ।

हालै काठमाण्डूस्थित रुसी दूतावासका प्रतिनिधिले थप आठ जनाको मृत्यु भएको जानकारी नेपाल सरकारलाई गराएका थिए। उक्त आँकडालाई कुल मृतक सङ्ख्या भनेर अद्यावधिक भने गरिसकिएको छैन।

त्यसबाहेक रुसले २२ जनाको डीएनए परीक्षणका लागि नेपाललाई अनुरोध गरेको थियो। त्यसमध्ये १५ जनाको जाँच गरेर मस्को पठाइसकिएको अधिकारीहरू बताउँछन्।

सन् २०२२ को फेब्रुएरीमा रुस-युक्रेन युद्ध सुरु भएको थियो। त्यसयता सयौँको सङ्ख्यामा नेपालीहरू रुसी सेनामा भर्ना भएका विवरण आएका छन्।

तर नेपाल र रुस दुवैले हालसम्म रुसी सेनाका लागि काम गर्ने नेपालीको सङ्ख्या यकिन रूपमा बताएका छैनन्। उक्त युद्धमा घाइते भएका वा बेपत्ता भइरहेका सङ्ख्याबारे पनि अधिकारीहरू बेखबर छन्।

नेपालले भारत र ब्रिटेनबाहेक अन्य देशका सेनामा आफ्ना नागरिकलाई भर्ना हुन दिने नीति नरहेको भन्दै मस्कोलाई रुसी सेनामा कार्यरत आफ्ना नागरिकहरू फिर्ता गर्न अनुरोध गरेको थियो।

आफ्नै पहल र नेपाल सरकारको समन्वयमा हालसम्म रुसी सेनामा कार्यरत रहेका १६२ जना नेपालीहरू स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

क्षतिपूर्तिमा किन ढिलाइ?

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार तथा पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन अघि बढाइएको एउटा अभियानकी संयोजक कृतु भण्डारी मस्कोबाट अस्तु नेपाल आउनुमा सरकारभन्दा पनि पीडितहरूको पैरवीले भूमिका खेलेको ठान्छिन्।

उनले भनिन्, “हामीले संयुक्त राष्ट्रसङ्घ, विभिन्न संस्थाहरू र रुस स्वयंलाई पटकपटक आग्रह गरेका थियौँ। नेपालमा रहेको रुसी राजदूतावासको महत्त्वपूर्ण भूमिका छ। उसले पीडित परिवारका व्यक्तिव्यक्तिलाई भेटेर समस्या सम्बोधन गर्ने आश्वासन दिएको छ। तर अस्तु पाएर अन्तिम संस्कार गर्नुले मात्रै हाम्रा माग पूरा भएका छैनन्।”

उनले अझै पनि नेपालीहरू रुसी सेनामा जाने क्रम नरोकिएको र युद्धका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवारले क्षतिपूर्ति नपाएको बताइन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसी सेनामा भर्ती भएका हरि अर्यालको पनि निधन भएको छ

नेपाल सरकारका अधिकारीहरू ज्यान गुमाएकामध्ये ६ जनाको क्षतिपूर्ति प्रक्रिया अघि बढाइएको भएपनि भुक्तानीको विधि अझै टुङ्गो नलगेका कारण प्रक्रियामा विलम्ब भइरहेको बताउँछन्।

अभियानकी संयोजक भण्डारी रुसले पीडित स्वयंलाई क्षतिपूर्ति दिने खालको कुरा गरेको बताउँछिन्।

तर नेपाली अधिकारीहरूले क्षतिपूर्ति मस्कोस्थित नेपाली दूतावास हुँदै आउनुपर्ने र त्यसलाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत् पीडितका आफन्तको खातामा जम्मा गरिदिने ढाँचा प्रस्ताव गरेका थिए।

त्यसमा मस्कोले संशोधन चाहेको र सोझै पीडित परिवारका खातामा रकम जम्मा गरिदिने धारणा राखिरहेको एक जना अधिकारीले बीबीसीलाई बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।