एमाले नेतृत्वका लागि दुई जनाको उम्मेदवारी : ११ वर्षपछि भृकुटीमण्डपमा ओलीको दोस्रो परीक्षा
तस्बिर स्रोत, Oli Secretariat
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
एघार वर्षअघि उच्च प्रतिस्पर्धी देखिएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट ४४ मतको साँघुरो अन्तरले पहिलो पटक नेतृत्वमा निर्वाचित भएका केपी शर्मा ओलीले सोमवार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन्।
एमालेको अध्यक्ष पदमा पार्टी महासचिव र वरिष्ठ उपाध्यक्ष रहिसकेका ईश्वर पोखरेलको पनि उम्मेदवारी परेको छ।
राजधानीमा जारी एमालेको ११औँ महाधिवेशनका लागि निर्वाचन आयोगले दिउँसो १ बजेबाट ३:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। यो अवधिमा अध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
एमालेको नयाँ नेतृत्व चयनका लागि पुस १ गते मङ्गलवार मतदान हुने कार्यतालिका छ। पार्टी अध्यक्षसहित पदाधिकारीका १९ र केन्द्रीय सदस्यका ३०१ पद एमालेको यो महाधिवेशनबाट चयन हुँदै छन्।
गएको भदौमा घटाएर १५ पुर्याइएको पदाधिकारी र २५१ केन्द्रीय सदस्यको पद आइतवार अन्तिम समयमा विधान संशोधन गरेर थप गरिएका थियो।
अध्यक्षमा दुई पक्ष, पदाधिकारीमा पनि प्यानल
नेतृत्वमा दाबी गरिरहेका अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै पक्षका नेताहरूले चुनावबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित देखिएको बताएका छन्।
पार्टी अध्यक्षमा ओली र कुनै समय ओलीनिकट रहेका पोखरेलबीच प्रतिस्पर्धाको तयारी चलिरहे पनि अन्य पदाधिकारीमा भने नवौँ महाधिवेशनमा जसरी समूहगत प्रतिस्पर्धा हुन्छ वा एक्लाएक्लै भन्ने स्पष्ट भइसकेको छैन। तर अधिकांश पदमा प्यानलगत मनोनयन गर्दा भएको एमाले नेताहरूले बताएका छन्।
दशकअघिको नवौँ महाधिवेशनमा केपी ओली र माधव नेपाल समूहले प्यानल नै बनाएर अध्यक्षसहित पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गरेका थिए। त्यस बेला अध्यक्षमा ओली निर्वाचित भए पनि समग्र पदाधिकारीमा दुवै पक्षका सात-सात जना निर्वाचित भएका थिए।
तस्बिर स्रोत, RSS
त्यसपछिको दशौँ महाधिवेशनमा ओलीलाई भीम रावलले टक्कर दिए पनि माधव नेपालले जस्तो समूह बनाएर प्रतिस्पर्धा गरेनन्।
"टीम कस्तो बन्छ अहिले नै भन्न सकिन्न। उम्मेदवारी ककसको हुन्छ त्यसपछि मात्रै यो विषय टुङ्गो लाग्ला," पछिल्लो समय पोखरेल समूहमा खुलेर देखिएका नेता विनोद ढकाल भन्छन्।
ओलीनिकट नेता राजन भट्टराईले पनि अहिले नै प्यानलगत प्रतिस्पर्धा हुने वा नहुने स्पष्ट नदेखिएको बताए।
"अहिलेसम्म घोषणा गरेको चाहिँ केपी ओली र इश्वर पोखरेलले हो। अरूले व्यक्तिगत रूपमा घोषणा गरे पनि यो प्यानलबाट उठ्छु भन्नुभएको छैन," भट्टराई भन्छन्। तर केही नेताहरूले ओली र केहीले ईश्वर पोखरेल प्यानलबाट उम्मेदारी दिएको बताएका छन्।
एमालेका आमप्रतिनिधिको चाहना प्यानलगत प्रतिस्पर्धा नहोस् भन्ने रहेको नेता ठाकुर गैरेले बताए।
"हाम्रो अपेक्षा चाहिँ व्यक्तिगत प्रतिस्पर्धा नै होस् प्यानलगत नहोस् भन्ने छ। आम प्रतिनिधिहरूको पनि त्यही छ। प्यानल बनाउँदा पनि प्यानलमा अट्ने भन्दा ठूलो सङ्ख्या मनोनयन हुने देख्छु," गैरे भन्छन्।
ओलीलाई पोखरेलले कस्तो टक्कर देलान्
तस्बिर स्रोत, RSS
जिल्ला र प्रवासबाट छानिएर आएका एमाले महाधिवेशन प्रतिनिधिहरूमा आफ्नो समर्थन धेरै रहेको केपी ओली पक्षका नेताहरूले दाबी छ।
पछिल्लो समय ओली र पोखरेल दुवै खेमामा प्रस्ट नखुलेका नेता ठाकुर गैरे बन्द सत्रको माहोल र महाधिवेशन प्रतिनिधिहरूको मनोभाव हेर्दा चुनाव प्रतिस्पर्धी हुने आफूलाई लागेको बताउँछन्।
"म चाहिँ दुई जना प्रतिस्पर्धामा जाँदा कुनै एक जनाले जित्नुहुन्छ भन्न सकिने स्थिति देख्दिनँ। किनभने मैले भेटघाट गरेका आम प्रतिनिधिहरू चाहिँ रिजर्भ बसिरहेको देखेँ। प्रतिस्पर्धा हुन्छ," उनले भने।
तस्बिर स्रोत, CPNUML
तर ओली निकट मानिने नेता राजन भट्टराईले बन्द सत्रको माहौल आफूले ओलीकै पक्षमा देखेको बताए।
"हलको माहौल हेर्दा केपी ओलीको आवश्यकता अहिलेको निम्ति छ भन्ने प्रतिनिधिहरूको धारणा बलियो देख्छु," भट्टराईले भने।
"मैले हेरेसम्म प्रतिस्पर्धा त्यस्तो धेरै देखिँदैन।"
भट्टराईले अधिकांश महाधिवेशन प्रतिनिधिहरू चयनका क्रममा नै एउटा वा अर्को पक्षमा खुलेका र कतै नखुलेकाको सङ्ख्या २० प्रतिशत भन्दा कम रहेको बताए।
तर सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने एमाले नेता झपटबहादुर रावल कुनै पक्षमा नखुलेका महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या ३० प्रतिशत भन्दा धेरै रहेको र ती महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा निर्णायक हुन सक्ने दाबी गर्छन्।
"दुई पक्षमा धेरै मानिसहरू खुलेका छन्। अहिले पनि ३२ देखि ३३ प्रतिशत मतदाता मौन छन्। त्यो मत जता खुल्छ उसैले चुनाव जित्ने स्थिति छ," रावलले भने।
एक दशकपछि भृकुटी मण्डपमा ओलीको दोस्रो परीक्षा
तस्बिर स्रोत, RSS
दोस्रो पटक नेतृत्वमा चुनिन ओलीले भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशन जस्तो ठक्कर सामना गर्नु परेन। चितवनको सौराहामा २०७८ सालमा भएको १०औँ महाधिवेशन ओलीका लागि सहज साबित भयो।
उनीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले २२३ मत ल्याउँदा ओलीले १८३७ मत पाए।
एक दशकपछि तेस्रो पटक पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्न लागेका ओलीले यो पटक पनि मतदानका लागि आफू पहिलो पटक अध्यक्ष बनेको भृकुटीमण्डप नै रोजेका छन्। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भए पनि बन्दसत्र काठमाण्डूको भृकुटीमण्डपमा राखियो।
यो पटकको प्रतिस्पर्धामा त्यस बेला ओली पक्षबाट उपाध्यक्ष बनेका विद्या भण्डारी र बामदेव गौतम, महासचिव बनेका इश्वर पोखरेल उपमहासचिव बनेका घनश्याम भुसाल लगायतका नेताहरू अहिले ओली समूहमा छैनन्। जसमध्ये गौतम र भुसाल एमालेबाट अहिले अलग भइसकेका छन्।
कुनै समय आफू निकट रहेकी भण्डारीको पार्टीमा पुनरागमन गर्ने प्रयास ओलीले नै रोकिदिएका थिए।
नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका माधव नेपाल र दशौँ महाधिवेशनमा चुनौती दिएका भीम रावल दुवै एमालेबाट अलग भइसकेका छन्।
अहिले ओलीलाई चुनौती दिइरहेका पोखरेल दशकअघि भृकुटी मण्डपबाट ओली अध्यक्षमा चुनाव लड्दा उनकै समूहबाट महासचिवमा निर्वाचित भएका नेता हुन्।
उनलाई त्यस बेला उपाध्यक्षमा निर्वाचित भएकी र राष्ट्रपति बनेपछि पार्टीको प्रत्यक्ष राजनीतिबाट अलग रहेकी विद्या भण्डारीले समर्थन गरेको विवरण आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन