राहुल गान्धीको चुनावी भविष्य र जेल सजायबारे बीजेपी नेतालाई सर्वोच्च अदालतले जारी गर्यो 'नोटिस'
तस्बिर स्रोत, Getty Images
मोदी थरका विषयमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको टिप्पणीपछि उनीविरुद्ध परेको मानहानिको फैसला विरुद्धको पुनरावेदनमा सुनुवाइ गर्दै त्यहाँको सर्वोच्च अदालतले भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीलाई 'नोटिस' जारी गरेको छ।
अदालतले उनलाई १० दिनभित्र जवाफ दिन भनेको छ। गुजरातबाट प्रतिनिधित्व गर्ने भाजपाका विधायक तथा पूर्व मन्त्री पूर्णेश मोदीले राहुलविरुद्ध आपराधिक मानहानिको मुद्दा दायर गरेका थिए।
मुद्दाको अर्को सुनुवाइ अगस्ट ४ का लागि तय गरिएको छ। उक्त सुनुवाइले गान्धीले आगामी निर्वाचनमा भाग लिन पाउने वा नपाउने र उनी पक्राउ पर्ने वा नपर्ने फैसला गर्ने ठानिएको छ।
गान्धीले सजाय निलम्बन वा उन्मुक्ति नपाए आगामी वर्ष हुने आम निर्वाचनमा पनि भाग लिन पाउनेछैनन्।
न्यायाधीश बीआर गवई र न्यायाधीश प्रशान्त के मिश्राको इजलासले राहुलको पुनरावेदनमा निर्णय लिनुअघि उनलाई मानहानिको मुद्दा लगाउने राजपा नेताको जवाफ माग गरेको हो।
कां ग्रेस पार्टीले गान्धी विरुद्धको मुद्दालाई भारतको सत्ताधारी भाजपाले राजनीतिक प्रतिशोधको रूपमा लिएको दाबी गर्दै आएको छ।
राहुल विरुद्धको मुद्दा के हो?
तस्बिर स्रोत, ANI
मोदी थरका विषयमा उनले गरेको एउटा पुरानो टिप्पणीपछि भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी आपराधिक मानहानिमा दोषी ठहर भएका थिए।
गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई मानहानिको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको थियो।
कुनै पनि अपराधमा दुई वर्ष वा सो भन्दा बढी सजाय पाएका सांसदहरूको पद तत्कालै खारेज हुने भारतीय सर्वोच्च अदालतको सन् २०१३ को एक फैसलाको नजिरका कारण गान्धीको सांसद पद पनि खारेज भएको थियो।
उनी दक्षिणी राज्य केरलाको वायनाड जिल्लाबाट सांसद निर्वाचित भएका थिए।
उक्त फैसलाविरुद्ध गुजरात उच्च अदालतमा उनले दिएको पुनरावेदन अस्वीकार भएको थियो। उच्च अदालतले स्थानीय अदालतको फैसला “न्यायसङ्गत र यथोचित” भएको भन्दै सदर गरेको थियो।
गान्धीले के भनेका थिए?
तस्बिर स्रोत, Reuters
सन् २०१९ को मे महिनामा लोकसभा चुनावताका राहुल गान्धीले मोदी थरबारे विवादास्पद अभिव्यक्ति दिएका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले 'किन सबै चोरहरूको थर ‘मोदी’ हुँदो रहेछ' भन्ने प्रश्न गरेका थिए।
त्यस बेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट बोर्डका पूर्व प्रमुख ललित मोदीलाई सङ्केत गर्दै प्रधानमन्त्री मोदीविरुद्ध व्यङ्ग्य गरेका थिए।
उक्त अभिव्यक्तिले सिङ्गो मोदी समुदायको प्रतिष्ठामा चोट पुर्याएको भन्दै विधायक पूर्णेश मोदीले आपराधिक मानहानिको मुद्दा दर्ता गरेका थिए।
राहुल गान्धीले भने आफ्नो अभिव्यक्ति कुनै समुदायप्रति लक्षित नभई भ्रष्ट्राचारविरुद्ध भएको बताएका थिए।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन