'१८० भन्दा बढी शिशुको पिता' भएको दाबी गर्ने वीर्यदाताले हारे अभिभावकीय अधिकारको मुद्दा
तस्बिर स्रोत, Instagram/Robert Albon
आफू १८० भन्दा धेरै सन्तानको पिता भएको दाबी गर्ने एक व्यक्तिलाई यूकेको एउटा अदालतले प्राकृतिक गर्भाधानका माध्यमबाट जन्मिएकी एक शिशुको अभिभावकीय अधिकार दिन अस्वीकार गरेको छ।
रोबर्ट एल्बन नाम गरेका ती व्यक्ति नियमानुसार सञ्चालित स्पर्म ब्याङ्क वा फर्टिलिटी क्लिनिकमार्फत नभई स्वतन्त्र रूपमा 'वीर्यदान' गर्थे। उनी बरफमा जमाएको गोलभेँडाको प्यूरीमा राखेर वीर्य पठाउथे।
उनले आफू सन् २०२३ मा जन्मिएकी बालिकाको अभिभावक बन्न र उनीसँग सम्पर्कमा रहन पाउनुपर्ने माग राखेका थिए। तर उच्च अदालतका न्यायाधीश जस्टिस पूलले एल्बनले "अरूमाथि नियन्त्रण गर्न खोजेको" र "उनले पहिले गरे जस्तै" अरू परिवारमा पनि गर्न सक्ने भन्दै उनको माग अस्वीकार गरिदिएका हुन्।
"अदालतमा प्रस्तुत प्रमाणहरूले उनलाई अनुरोध गरिएको खण्डमा एल्बनले जोसुकैसँग सहवास गर्ने वा कृत्रिम गर्भाधानका लागि वीर्य दिने गरेको देखाउँछ," न्यायाधीश पूलले भने।
सन् २०२३ मा जन्मेकी र 'सीए' साङ्केतिक नाम दिइएकी बालिकाको पालनपोषणका सम्बन्धमा मिडल्जब्रस्थित एउटा पारिवारिक मुद्दा हेर्ने अदालतमा मार्चमा सुनुवाइ भएको थियो। उक्त मुद्दामा अदालतले ५१ पृष्ठको निर्णय सार्वजनिक गरेको छ।
ती बालिकाकी आमा र नोर्थ ईस्ट इङ्ग्ल्यान्डका सम्बन्धित स्थानीय अधिकारीहरू एल्बनलाई सीमित र अप्रत्यक्ष सम्पर्कका निम्ति अनुमति दिन तयार थिए। तर ५४ वर्षीय एल्बनले उक्त प्रस्ताव अस्वीकार गर्दै सोझै सम्पर्क गर्न पाउने गरी अभिभावकीय जिम्मेवारीको व्यवस्था गरिदिन आग्रह गरेका थिए।
अदालतमा सन् २०२२ मा एल्बनले वीर्यदान गरेर जन्मिएकी 'सीबी' भनेर चिनिने अर्की बालिकाको विषयमा पनि सुनुवाइ भएको थियो। उनले ती बालिकालाई आफ्नो स्याहारमा राखियोस् भन्ने माग राखेका थिए।
अधिकारीहरूले भने ती बालिकालाई धर्मसन्तानका रूपमा ग्रहण गरिएपछि वा लामो समय लालनपालन गरेपछि उनीसँग अप्रत्यक्ष सम्पर्क गर्न दिने पक्षमा थिए।
उनको उक्त माग पनि अस्वीकार भयो।
'उद्देश्य के हो?'
एल्बन आफूलाई 'जो डोनर' उपनामले चिनाउँथे। उनी संयुक्त राज्य अमेरिकाका हुन्।
उच्च अदालतका न्यायाधीशका अनुसार उनको 'सेवा' लिने यूकेका अधिकांश महिला विवाह नगरेका, समलैङ्गिक सम्बन्धमा भएका वा असुरक्षित थिए।
उनले अभिभावकीय अधिकार खोजेका दुवै बालिका कृत्रिम गर्भाधानबाट नभई एल्बनले तिनका आमासँग सहवास गरेर जन्मिएको खुलेको छ।
ती वीर्यदाताको उद्देश्यमाथि प्रश्न उठाउँदै न्यायाधीशले भने, "के उनलाई त्यसो गर्न बाध्य बनाइएको छ?"
"के उनलाई धरतीमा आफ्ना यति बिघ्न सन्तान छन् भन्ने कुराले सन्तुष्टि प्रदान गर्छ ?"
एल्बनले आफूले वीर्यदान गरेर बच्चा जन्माएका इङ्ल्यान्ड र वेल्सका ६ महिलामध्ये पाँच जनालाई मुद्दामामिला समेत गरी आफ्नो वशमा राख्न खोजेको ठहर ती न्यायाधीशले गरे।
"उनी अरूमाथि नियन्त्रण कायम गरेर आफूलाई सही साबित गर्न, अरूको ध्यान तान्न वा आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन्," न्यायाधीश पूलले भने।
न्यायाधीशले 'सीबी'लाई धर्मसन्तान बनाउन दिन सकिने तर पछि परित्याग गर्न सक्ने "ठूलो खतरा" भएकाले उनका पितालाई भने दिन नसकिने निर्णय गरे।
'सीए' को फेरि जन्मदर्ता गरी प्रमाणपत्रमा उनको पिताको नाममा एल्बनको नाम लेख्न सकिने तर उनलाई अभिभावकीय जिम्मेवारी र अधिक सम्पर्क गर्न नदिने फैसला अदालत गर्यो।
"मलाई एल्बन सम्पर्कका निम्ति प्रतिबद्ध रहलान् भन्ने विश्वास छैन र उनी आफूले पहिले गरे झैँ आफूलाई अनुकूल भए अर्को परिवारमा समेत जान सक्ने सम्भावना छ।"
एल्बनलाई केवल वर्षमा एक पटक 'सीए'लाई कार्ड वा पत्र पठाउन सक्ने अनुमति दिइएको छ। उनकी आमाले उपयुक्त ठाने मात्र त्यो पत्र ती बालिकालाई दिइने छ।
न्यायधीशले आफ्नो फैसलाको प्रति ह्यूमन फर्टिलाइजेशन एन्ड एम्ब्रिओलजी र गृह मन्त्रालयलाई पनि बोधार्थ पठाउन निर्देशन दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन