यात्रा गर्दा रिँगटा लाग्ने 'मोशन सिक्नेस' के हो, यसबाट कसरी जोगिन सकिन्छ?
तस्बिर स्रोत, Getty Images
- Author, घादा नासीफ
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
केही मानिसलाई मोटरगाडी, रेल, हवाईजहाज वा पानी जहाजमा यात्रा गर्ने सोचले मात्रै पनि चिन्तित बनाइदिने गर्छ। त्यस्तो यात्रामा रिँगटा र वाक्वाकी लाग्नुलाई 'मोशन सिक्नेस' भनिन्छ।
शारीरिक रूपमा स्थिर (जस्तै कारमा बसेका बेला) तर गतिमान (यात्रारत्) भएका बेला हाम्रो आँखाले देख्ने र शरीरले महसुस गर्ने कुरा फरक–फरक हुन्छन्। यसरी मस्तिष्कले एकापसमा अमिल्दा सङ्केतहरू प्राप्त गरेका बेला कसैकसैलाई रिंगटा लाग्ने र वाक्वाक् आउला जस्तो भएर 'मोशन सिक्नेस' हुन्छ।
उदाहरणका निम्ति हामी गुडिरहेको कारमा बसेका बेला शरीर त स्थिर हुन्छ तर हाम्रो आँखाले वस्तुहरूलाई गतिमान देख्छ।
मस्तिष्कले मिश्रित सङ्केतहरूप्रति प्रतिक्रिया जनाउने भएकाले यो समस्याका पीडितहरूले वाक्वाकी, रिँगटा लाग्ने तथा अन्य सामान्य असुविधाको अनुभव गर्छन्।
कसैकसैमा असाध्यै चर्को लक्षणहरू देखा पर्छन्, जसले गर्दा उनीहरू सकेसम्म यात्रालाई नै छल्न रुचाउँछन्। अझै पनि धेरै मानिसहरू यसको चमत्कारी उपचारको खोजीमा छन्।
'मोशन सिक्नेस' किन हुन्छ र कसरी यसको उपचार गर्न सकिन्छ?
कुन कुराले 'मोशन सिक्नेस' गराउँछ?
'मोशन सिक्नेस' किन हुन्छ भन्ने बुझ्नका निम्ति हाम्रो मस्तिष्कले शरीरबाट कसरी संवेदनात्मक सङ्केतहरू प्राप्त गर्छ भन्ने बुझ्न ठिक हुन्छ।
हाम्रो मस्तिष्कमा पुग्ने सङ्केतहरू कानका भित्री भागको माध्यमबाट पनि निरन्तर अद्यावधिक भइरहेको हुन्छ। त्यस्तै मांसपेशी, स्नायु र जोर्नीहरूमार्फत् शरीरको स्थिति र चालबाट पनि सङ्केत प्राप्त गरिरहेको हुन्छ।
कानका भित्री भागहरू शरिरको सन्तुलनको केन्द्र हुन्। यी 'भेस्टिब्युलर प्रणाली' भनिने सञ्जालका हिस्सा हुन्।
यो प्रणालीमा तीन जोडी अर्धवृत्ताकार नली र दुईवटा थैली हुन्छन् जसलाई 'स्याक्युल' र 'युट्रिकल' भनिन्छ। यिनीहरूले शरीरको चाल र स्थितिबारे मस्तिष्कलाई जानकारी पठाउँछन्।
यी अर्धवृत्ताकार नलीहरूमा एक प्रकारको तरल पदार्थ हुन्छ, जुन हामीले टाउको घुमाउँदा हल्लिन्छ। यसप्रकार हाम्रो टाउको दायाँ वा बायाँ अथवा तल वा माथितिर कुन दिशामा झुक्यो वा मोडियो भन्ने मष्तिष्कले चाल पाउँछ।
स्याक्युल र युट्रिकल पृथ्वीको गुरुत्व आकार्षण शक्तिप्रति पनि सम्वेदनशील हुन्छन् र शरीरले अघिपछि वा माथितल गरेको जानकारी मस्तिष्कलाई गराइहाल्छन्।
तर यदि तपाईँको आँखाले एउटा कुरा देख्छ, मांसपेशीले अर्कै कुरा महसुस गर्छ र कानका जराले भिन्दै कुरा अनुभव गर्छन् भने त्यस्तो बेला मस्तिष्कले मिश्रित सन्देशहरू ग्रहण गर्छ। यही संवेदनात्मक बेमेलले रिँगटा वा वाक्वाकी लगाउँछ।
उदाहरणका निम्ति मानौँ तपाईँ कार हाँक्दै हुनुहुन्छ। वस्तुहरू तपाईँका दृष्टिका सामुन्ने आँउदै र छुट्दै गर्छन् भने उक्त अवस्थाले तपाईँका आँखालाई मस्तिष्कसम्म तपाईँ गतिमान हुनुहुन्छ भन्ने सन्देश पुर्याउन प्रेरित गर्छ।
तर तपाईँको कानको भित्री भाग, मांसपेशी र जोर्नीसँग जोडिएका स्नायुहरूले तपाईँ चलहल नगरी स्थिर रूपमा बसिरहनुभएको छ भन्न बुझ्छन्। यसले गर्दा मस्तिष्कले प्राप्त गर्ने सन्देश आपसमा बाझिन पुग्छ।
पानीजहाज र हवाईजहाजमा फेरि ठ्याक्कै उल्टो हुन सक्छ। कानका भित्री भाग र मांसपेसीले गति महसुस गर्न सक्छन् तर क्षितिज एकैनासको देखिँदा आँखाले स्थिरता महसुस गर्न सक्छ।
परिणामत: रिँगटा लाग्ने, टाउको दुख्ने, सामान्य असुविधा वा भ्रान्ति हुने हुन सक्छ।
'मोशन सिक्नेस'का लक्षणहरू के के हुन्?
'मोशन सिक्नेस'ले विभिन्न किसिमका लक्षणहरू पैदा गर्न सक्छ।
ती प्राय: विस्तारै सुरु हुन्छन् र त्यसलाई पैदा गर्ने क्रियाकलाप रोकिएन भने चर्किँदै जान्छन्।
त्यसका लक्षणहरूमा निम्न कुराहरू पर्छन् :
- रिँगटा लाग्नु वा बेहोस हुन लागेझैँ हुनु, असन्तुलन वा चक्कर लाग्नु
- अस्वस्थ महसुस हुनु (वाक्वाकी)
- बान्ता आउनु
- टाउको दुख्नु
- छाला फिक्का हुनु
- पसिना आउनु
- थकान महसुस हुनु
सामान्यतया: यी लक्षणहरू बिलाउन वा तपाईँलाई फेरि सामान्य महसुस गर्न २० मिनेटजति लाग्न सक्छ।
तथापि, गम्भीर लक्षणहरू निको हुन चौबीस घण्टासम्म समेत लाग्न सक्छ।
कस्ता मानिस 'मोशन सिक्नेस'बाट पीडित हुन सक्छन्?
तस्बिर स्रोत, Getty Images
यसबाट जो कोही प्रभावित हुन सक्छन्, तर दुईदेखि बाह्र वर्षसम्मका केटाकेटी, गर्भवती महिला र माइग्रेनको विगत भएकाजस्ता मानिसहरू अधिक पीडित हुन सक्छन्।
रोचक कुराचाहिँ शिशुहरू 'मोशन सिक्नेस'प्रति पूर्णत: प्रतिरक्षात्मक हुन्छन्। लण्डनस्थित वेस्टमिन्सटर विश्वविद्यालयका व्यवहारिक मनोविज्ञान विषयका प्राध्यापक जोन गोल्डिङका अनुसार शिशुहरूको मस्तिष्क आँखा र कानसँगको सम्बन्ध र गतिप्रति प्रतिक्रिया जनाउने विषयमा आफ्नो भूमिकाबारे प्रष्ट नभइसक्ने भएकाले यस्तो हुन्छ।
त्यस्तै 'मोशन सिक्नेस'मा आनुवंशिकीको पनि भूमिका हुन्छ। यसबाट पीडित हुने ६५ प्रतिशतजति मानिसलाई यो समस्या आमाबुवाबाट प्राप्त हुने प्राध्यापक गोल्डिङ बताउँछन्।
यसको लक्षणलाई कसरी घटाउन सकिन्छ?
उपचार गर्नुभन्दा समस्या आउनै नदिनु जहिले पनि उत्तम हुन्छ।
यहाँ 'मोशन सिक्नेस'बाट जोगिने केही उपाय सुझाइएका छन्।
यात्रा गर्नुअघि :
- धेरै मात्रामा र मसालेदार खाना नखानुहोस्
- क्याफिन र अल्कोहलको उपभोगलाई सीमित राख्नुहोस्
- पर्याप्त सुत्नुहोस्
यात्राका क्रममा :
- सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस्। कार भए अघिल्लो सिटमा बस्नुहोस्, डुङ्गा हो भने बीचको सिटमा बस्नुहोस् र रेल हो भने झ्यालपट्टि अघिल्लिर फर्केर बस्न मिल्ने सिट रोज्नुहोस्
- क्षितिजतर्फ हेर्नुहोस्
- अचानक टाउकोलाई यताउता घुमाउनबाट जोगिनुहोस्
- सम्भव भएसम्म ताजा हावा आउने गरी झ्याल खोल्नुहोस्
- पढ्ने, फिल्म हेर्ने वा विद्युतीय उपकरण चलाउने काम नगर्नुहोस्
- गीतसङ्गीत सुन्नेजस्ता क्रियाकलापबाट आफूलाई परै राख्नुहोस्
- आँखा बन्द राख्नुहोस्
- प्रशस्त पानी पिउनुहोस्
अदुवा
तस्बिर स्रोत, Getty Images
केही अध्ययनहरूले अदुवायुक्त ट्याब्लेट, विस्कुट वा चिया खाँदा बान्ता र वाक्वाकी घटाउन सकिने सुझाएका छन्।
तथापि प्राध्यापक गोल्डिङ अध्ययनहरूले यस सम्बन्धमा फरक–फरक परिणाम दिने बताउँछन्।
उनका अनुसार यदि अदुवाले सघाइरहेको भने "त्यो यसले पेटभित्र सक्रिय तत्वहरूलाई शान्त बनाइदिएका कारणले हुन सक्छ। त्यसैले यसले सिधै मोशन सिक्नेसलाई रोक्दैन र तपाईँलाई सजिलो महसुस गराउन भने सक्छ।"
नियन्त्रित श्वासप्रश्वास
नियन्त्रित श्वासप्रश्वासको अर्थ स्थिर रूपमा वा सामान्य दरमा श्वास फेर्नु हो।
प्राध्यापक गोल्डिङका अनुसार नियन्त्रित श्वासप्रश्वास 'मोशन सिक्नेस'को आधा ट्याब्लेट औषधी लिएजत्तिकै फाइदाजनक हुन्छ। यसको पैसा पनि पर्दैन र औषधीको जस्तो साइड–इफेक्ट पनि हुँदैन।
त्यसो गर्दा मस्तिष्कको ध्यान अन्तै मोडिने र वाकवाकी पनि कम हुने यी प्राध्यापक बताउँछन्।
अकुप्रेसर र नाडीमा 'रिस्ट ब्यान्ड' लगाउने
यिनीहरूले अकुप्रेसरका विन्दुहरूमा दवाव पैदा गरेर मद्दत गर्छन् भन्ने ठानिन्छ। तर, धेरैजसो अध्ययनहरूले अधिकांश मानिसका निम्ति यो प्रभावकारी नहुने सङ्केत गर्छन्।
औषधि
'मोशन सिक्नेस'विरुद्धका औषधिहरूले यसको लक्षणहरूको उपचार गर्नेभन्दा पनि त्यसलाई पैदा हुनबाट जोगाउन मद्दत गर्छन्। त्यसैले यात्रा गर्नुभन्दा ३०–६० मिनेटअघि औषधि खानुपर्छ ताकि औषधिले तपाईँको रक्तप्रवाहमा मिसिन पर्याप्त समय पाउँछ।
प्राध्यापक गोल्डिङका अनुसार 'मोशन सिक्नेस'ले ग्यास्ट्रिकको स्थिति पैदा गर्छ, जसले पाचन प्रक्रियालाई सुस्त बनाइदिन्छ। त्यसैले अस्वस्थ महसुस हुन थालेपछि मात्रै औषधि खानुभयो भने त्यो सोसिँदैन र कम प्रभावकारी हुन्छ।
अर्कातर्फ 'एन्टि–मोशन सिक्नेस प्याच'(कानको पछाडिपट्टि लगाइने औषधि) छालाको माध्यमबाट ग्रहण गर्नुपर्ने भएकाले यसले ट्याब्लेटले भन्दा ढिलो काम गर्छ। त्यस्तो औषधि यात्राभन्दा १० घण्टाअघि लिनुपर्छ।
यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस)ले त्यस्ता छालामा लगाउने औषधि वयस्क र १० वर्षमाथिकालाई मात्रै प्रयोग गर्न सुझाएको छ।
'मोशन सिक्नेस' र 'भर्टिगो'मा के फरक छ?
तस्बिर स्रोत, Getty Images
रिँगटा, वाक्वाकी र बान्ताजस्ता समान लक्षण हुने भएकाले 'मोशन सिक्नेस' र 'भर्टिगो' उस्तै उस्तै लाग्दछन्।
तर यी दुई अवस्थाका बीचमा केही निश्चित भिन्नताहरू छन् :
- तपाईँ गतिमान भएको वा नभएको अवस्थामा पनि चक्कर लाग्न सक्छ। यद्यपि तपाईँ सुतिरहनुभएको छ भने पनि रिँगाउन सक्छ।
- 'भर्टिगो'ले तपाईँलाई सबै कुरा फन्फन्ती घुमेजस्तो गम्भीर भ्रम पार्न सक्छ, तपाईँले टाउको हल्लाउनासाथ त्यस्तो महसुस हुनसक्छ।
- 'भर्टिगो'को स्थिति एक्कासी पैदा हुन्छ र केही सेकेन्डसम्म मात्रै रहन्छ
- सामान्यतया: यो वृद्धाअवस्थाका मानिसमा अधिक देखिन्छ
- प्रायस: यो कानको जरामा रहेको तरल पदार्थमा केन्द्रित हुन्छ, जसले सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ
त्यसैले 'मोशन सिक्नेस'को लक्षण देखिनुअघि नै त्यसको व्यवस्थापनबारे तयारी तथा योजना बनाउनु उत्तम हुन्छ।
केही पीडितहरू भन्छन्, 'मोशन सिक्नेस'लाई आफ्नो जीवनमा हावी हुन नदिनुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन