हमासले शनिवारसम्म बन्धक मुक्त नगरे गाजामा युद्धविराम भङ्ग गर्ने चेतावनी

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ४ मिनेट

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले शनिवार दिउँसोसम्म बन्धकहरू मुक्त नगरे युद्धविराम भङ्ग हुने र फेरि लडाइँ चर्किने चेतावनी दिएका छन्।

उनले इजरेली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताए।

नेतन्याहूका अनुसार हमासले बन्धकहरूलाई मुक्त गर्ने कार्य स्थगित गर्ने बताएपछि आफूले त्यस्तो आदेश दिइएको हो।

यद्यपि नेतन्याहूले हमासको कब्जामा रहेका बाँकी ७६ बन्धकलाई मुक्त गर्नुपर्ने माग गरेका हुन् कि युद्धविराम सम्झौताअन्तर्गत आगामी शनिवार मुक्त हुने भनिएका थप तीन बन्धकका सन्दर्भमा उक्त चेतावनी दिएका हुन् भन्ने स्पष्ट पारेनन्।

एक इजरेली मन्त्रीले प्रधानमन्त्रीले "सबै बन्धक" मुक्त गर्नुपर्छ भन्ने सन्दर्भमा उक्त अभिव्यक्ति दिएको बताएकी छन्।

हमास के भन्छ?

तस्बिर स्रोत, EPA

हमासले युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको र "कुनै पनि प्रकारका जटिलता वा ढिलाइका लागि इजरेल जिम्मेवार" रहेको प्रतिक्रिया दिएको छ।

तीन साताअघि भएको युद्धविराम सम्झौतालाई इजरेलले उल्लङ्घन गरेको हमासको आरोप छ। उसले महत्त्वपूर्ण मानवीय सहायता अवरुद्ध गरिएको आरोप पनि लगाएको छ। तर त्यसलाई इजरेलले खण्डन गरेको छ।

यसै सप्ताहान्तका लागि निर्धारित बन्धक मुक्त गर्ने काममा विलम्ब गर्ने हमासको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल पनि सम्झौताबाट पछि हट्दा हुने बताएका थिए।

उनले शनिवारसम्ममा "यदि सबै बन्धकहरू मुक्त नगरिए" युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए।

इजरेली सेनालाई कस्तो आदेश दिइयो

मङ्गलवार इजरेली सुरक्षा मन्त्रिपरिषद्को चार घण्टा लामो बैठकपछि नेतन्याहूले एउटा भिडिओ सन्देशमा आफूले "राष्ट्रपति ट्रम्पको सुझावलाई स्वागत गरेको" बताए।

उनले भने, "सम्झौता उल्लङ्घन गर्ने र हाम्रा बन्धकहरूलाई रिहा नगर्ने निर्णयबारे हमासले गरेको घोषणाको पृष्ठभूमिमा हिजो राति मैले आईडीएफलाई गाजा स्ट्रिपभित्र र त्यसको वरपर फौजहरू भेला पार्न निर्देशन दिएँ।"

"यो काम अहिले यस बेला पनि भइरहेको छ र छिट्टै पूरा हुने छ।"

तस्बिर स्रोत, Reuters

उनले सुरक्षा मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा उक्त निर्णय अनुमोदन गरेको बताउँदै भने, "यदि हमासले शनिवार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई फिर्ता गरेन भने युद्धविराम समाप्त हुने छ, आईडीएफले हमासको अन्तिम पराजय नभएसम्म कडा लडाइँ सुरु गर्ने छ।"

इजरेली अधिकारीहरूले नेतन्याहूले सबै बन्धकलाई मुक्त गर्न भनेका हुन् वा शनिवार मुक्त गर्ने भनिएका तीन बन्धकबारे मात्र कुरा गरेका हुन् भन्नेबारे फरकफरक सन्देशहरू दिइरहेका छन्।

एउटा स्रोतलाई उद्धृत गर्दै एक इजरेली समाचारपत्रले शनिवार तय गरिएअनुसार थप बन्धकहरू मुक्त भए युद्धविराम जारी रहने जनाएको छ।

पछि इजरेली यातायातमन्त्रीले सामाजिक सञ्जाल 'एक्स'मार्फत् ड्रम्पको सुझावजस्तै शनिवारसम्म सबै बन्धकहरू मुक्त हुनुपर्ने निर्णय भएको जनाएकी छन्।

आईडीएफले दक्षिणी कमान्ड तत्पर अवस्थामा रहेको जनाएको छ। उक्त कमान्डले गाजामा कारबाही गर्ने जिम्मा पाएको छ।

ट्रम्पको प्रस्तावको विरोध

तस्बिर स्रोत, EPA

हमासले युद्धपछि गाजा कब्जा गर्ने र त्यहाँ बसोबास गर्ने २० लाख प्यालेस्टिनीहरूलाई स्थायी रूपमा स्थानान्तरण गर्ने ट्रम्पको विवादास्पद योजनालाई अस्वीकार गरेको छ।

सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीन जना अझै पनि गाजामा बन्धकका रूपमा छन्। यदि बन्धकहरू रिहा नभए नसोचिएको अवस्था देखा पर्ने ट्रम्पको चेतावनी थियो।

प्यालेस्टिनी प्रशासन र अरब देशहरूले पनि ट्रम्पको उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् भने संयुक्त राष्ट्रसङ्घले त्यस्तो कार्य जातीय सफाया हुन सक्ने चेतावनी दिएको छ।

नेतन्याहूले चाहिँ ट्रम्पको प्रस्तावलाई "क्रान्तिकारी अवधारणा" भन्दै त्यसको प्रशंसा गरेका थिए।

मङ्गलवार हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग युद्धविराम सम्झौतालाई पुन: कार्यान्वयनमा लैजान अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हस्तक्षेप गर्नका लागि ढोका खुला रहेको बताएका थिए।

कति बन्धक मुक्त भए

तस्बिर स्रोत, EPA

ज्यानुअरी १९ मा युद्धविराम सुरु भएयता १६ इजरेली र पाँच थाई बन्धक मुक्त भएका छन्। त्यसको बदलामा ५६६ जना प्यालेस्टिनी बन्दीहरू पनि रिहा भए।

अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झन्डै ३३ बन्धक र १,९०० प्यालेस्टिनीहरू मुक्त हुने छन्। इजरेलले ३३ मध्ये आठ जनाको मृत्यु भएको जनाएको छ।

हमासले झन्डै १,२०० जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेलभित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७,५०० जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुईतिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।