आप्रवासी धरपकडपछि चर्किएको प्रदर्शन रोक्न ट्रम्पद्वारा सेना परिचालन, गभर्नरले उनैविरुद्ध हाले मुद्दा
तस्बिर स्रोत, CAROLINE BREHMAN/EPA
अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा ट्रम्प प्रशासनले थप २ हजार न्याशनल गार्ड परिचालन गरेको अनि ७०० यूएस मरिन सैनिक पठाउन लागेको छ।
आप्रवासीहरूलाई सङ्घीय निकाय आईसले धरपकड गरेपछि त्यहाँ चर्किएका विरोध प्रदर्शनहरू लगातार तेस्रो दिन जारी रहे भने प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच झडपहरू भए।
राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनले अनावश्यक रूपमा सेना परिचालन गरेको भन्दै मुद्दा हालेका छन्। न्यूसम र लस एन्जलस सहरकी मेयर क्यारेन बासले स्थानीय प्रहरी स्थिति नियन्त्रणमा लिन सक्षम रहेको जिकिर गर्दै आएका छन्।
गभर्नरको स्वीकृति बेगर सेना खटाएको भन्दै राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पलाई मुद्दा हालेका हुन्।
गभर्नरको तीखो आरोप
यसअघि परिचालित २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र खटिएको र बाँकी विना आदेश त्यत्तिकै बसिरहनु परेको अवस्थामा ट्रम्पले थप २ हजार परिचालन गरेको उनले बताए।
साथै सङ्घीय कर्मचारी तथा भवनहरूको सुरक्षाका लागि भन्दै ट्रम्पले ७ सय मरिन सैनिक पनि खटाउने भनेका छन्।
गभर्नर न्यूसमले ती मरिनहरू 'निरङ्कुश राष्ट्रपतिको बहुलठ्ठीपूर्ण कल्पना पूरा गर्न' खटिन लागेको बताए।
तस्बिर स्रोत, Jason Armond / LA Times
यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै सेना खटाउने राष्ट्रपतिको कदमको बचाउ गरेका छन्।
"यो प्रशासन अराजकताबाट तर्सने छैन," भान्सले लेखेका छन्। "राष्ट्रपति ट्रम्प पछि हट्ने छैनन्।"
अमेरिकामा घरेलु शान्ति सुव्यवस्थाका मामिलामा सेना खटाइनु निकै अस्वाभाविक ठानिन्छ।
लस एन्जलसको घटना 'नजिर' बन्न सक्ने
पछिल्लो अवस्थाबारे जानकारी दिँदै सहरकी मेयर क्यारेन बासले सिटी हलमा एक र्याली भएको जुन पछि सङ्घीय भवनमा पुगेको र त्यो शान्तिपूर्ण भएको बताइन्।
अहिले उक्त भवनमा केही सय मानिस रहेको तर त्यहाँ हिंसाका कुनै विवरण नआएको उनले बताइन्। उक्त भिडलाई प्रहरीले हटाइरहेका तस्बिर आएका छन्।
सहरका प्रहरी प्रमुख जिम मक्डोनलले भिडलाई जोखिम भएका ठाउँबाट हटाउने नीति अपनाइएको बताए। भिडलाई ढुङ्गा वा अन्य वस्तु अधिकारीहरूलाई हान्न नसक्ने गरी तितरवितर पार्न खोजिएको उनले बताए।
मेयर बासले उनको सहरमा आप्रवासीलाई धरपकड गर्नु पर्ने कुनै अवस्था नरहेको बताएकी छन्। धरपकडका कारण दङ्गा फैलिएको थियो।
"मलाई लाग्छ हाम्रो सहर एक नजिर बनेको छ," उनले स्थानीय सरकारलाई बेवास्ता गर्दै सङ्घीय सरकारले हस्तक्षेप गरेको तर्फ इँगित गर्दै भनिन्।
लस एन्जलस सहरमा 'आप्रवासीहरूको अतिक्रमण' भएको भनेर ट्रम्प प्रशासनले गरेको चित्रणलाई उनले 'घिनलाग्दो' भनेकी छन्।
"हामी विभाजित होइन एकताबद्ध हुनु पर्छ। आप्रवासीहरूको सहरको पहिचानलाई हामीले सदैव अँगालेका छौँ," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन