'न सास भेटियो न लास': बस दुर्घटनामा परेका यात्रुका आफन्तको पीडा

तस्बिरको क्याप्शन, रौतहटका सुखल दास अब छोरा नभेटिएपछि गाउँ फर्केर परालको पुत्ला बनाएर अन्तिम संस्कार गर्ने बताउँछन्
    • Author, ईश्वर जोशी
    • Role, नारायणगढ
  • पढ्ने समय: ४ मिनेट

रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको सरुअठाका सुखल दास चार दिनदेखि जिल्ला प्रहरी कार्यालय चितवनमा आफ्नो छोराको खबर कुरेर बसेका छन्।

उनका छोरा तुलसी दास काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको रात्रिबस चढेका थिए। उक्त बस गत शुक्रवार सबेरै चितवनको सिमलताल क्षेत्रमा आएको पहिरोसँगै बगेर त्रिशूलीमा खसेपछि दर्जनौँ अरू मानिससँगै बेपत्ता भए।

छोरा घरमा आउने आशमा बसेका सुखल दास बस दुर्घटनामा परेको खबर सुनेलगत्तै शनिवार नै घटनास्थलमा पुगेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'त्रिशूलीमा हराएका परिवारजनको शव छिटो खोजिदेऊ, सरकार'

मङ्गलबार साँझसम्म आफ्ना छोराको अत्तोपत्तो नभएको उनले बताए।

प्रहरी तथा सेनाले खोजतलास गरिरहे पनि बस र छोराको अवस्था थाहा हुन नसकेपछि उनले अझ कति दिन कुर्नुपर्ने हो भनेर निकै चिन्तित देखिन्थे। जतिसक्यो चाँडो खोजीकार्य सम्पन्न गर्न उनले आग्रह गरे।

सामान्य किसान सुखल दासका छोरा आठ दिनपछि रोजगारीका लागि विदेश जाने तयारीमा थिए।

काठमाण्डू गएर म्यानपावर कम्पनीलाई पैसा बुझाएर उनी घर फर्कँदै गर्दा उनी नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोमा परेका थिए।

उक्त घटनामा दुई यात्रुवाहक बस बगाउँदा त्रिशूली नदीमा उनी समेत झन्डै ६२ मानिस हराएका थिए। बुधवार बिहानसम्म १७ शव फेला परेका छन्।

‘भाइ र देवर दुवै हराए’

तस्बिरको क्याप्शन, आफन्तको खोजखबर बुझ्न परिवारजन चितवन जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन्

छोरासँगै आफ्ना सम्धीका छोरा राम दास पनि हराइरहेको सुखल दासले बताए।

उनी भन्छन्, “चार दिन भइसक्यो, छोराको न त लास भेटियो न त सास।”

सुखल दाससँगै उनकी छोरी फुलादेवी दास पनि आफ्नो भाइ र देवरलाई खोज्न आएकी छन्।

सामाजिक सञ्जालबाट घटनाबारे थाहा पाएपछि घटनास्थलमा आएको उनले बताइन्।

उनका अनुसार भाइ तुलसी दास र देवर राम दास सँगसँगै विदेश जाने तयारीमा थिए।

छोराको कुनै अत्तोपत्तो नलागेपछि भारी मन लिएर घर फर्किने कि भनेर विचार गरिरहेको सुखल दासले बताए।

घर फर्केर परालको पुत्ला बनाएर अन्तिम संस्कार गर्ने उनले बताए।

सुखल दासजस्तै बसमा हराइरहेका अरू यात्रुका आफन्तहरू चितवनको प्रहरी कार्यालयअगाडि शव भेट्टिने आशामा कुरेर बसिरहेका छन्।

मुटुको उपचार गर्न जाँदा पहिरोले बगायो

वीरगन्जका शहीद मियाका काका र काकी वीरगन्जबाट काठमाण्डूतर्फ जाँदै थिए।

सिमलतालमा दुर्घटना भयो भनेर टिकट काउन्टरबाट फोन आएपछि आफू शुक्रवार नै घटनास्थलमा पुगेको उनी बताउँछन्।

काका सलिम मियाको मुटुको शल्यक्रिया गर्न काका र काकी काठमाण्डू गएको उनले बताए।

आवश्यक प्रविधि नहुँदा खोजतलास प्रभावकारी नभएको उनी ठान्छन्।

शुक्रवारदेखि आफ्नो काका र काकीको शव कुरेर बसेका मियाले अब अरू दुई दिन कुर्ने र त्यसपछि घर फर्किने बताए।

भारतबाट पनि आए आफन्त

भारत मोतीहारी जिल्लाका हीरामणि बजारका जावेद अन्सारी शुक्रवारदेखि आफ्नो दाजुको खबर कुरेर बसिरहेका छन्।

काठमाण्डूमा गार्मेन्टमा काम गर्ने दाजु आविद हुसेन वीरगन्जबाट काठमाण्डू जाँदै थिए।

हुसेनको कमाइले नै उनको परिवार चल्ने गरेको तर अब छ जनाको परिवार समस्यामा परेको जावेद अन्सारीले बताए।

उक्त दुई बसमा गरी १० जना भारतीय नागरिक रहेको विवरण अधिकारीहरूले दिएका छन्।

बसमा काम थालेको ४-५ दिनमै दुर्घटना

काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको बसका सहचालकका भिनाजु चन्द्रकिशोर राय यादव हराइरहेका मानिस भेटिने आशा अब मरेको बताउँछन्।

रौतहटको माधवनारायण नगरपालिका तीन सखुअवाका सहचालक लक्ष्मीनारायण रायले उक्त बसमा काम गर्न थालेको एक साता पनि नभएको उनले बताए।

शुक्रवार नै चितवन आएका यादव आफ्नो सालाको खबर पाउन नसक्दा घरमा आमाबुवाको बेहाल भएको बताउँछन्।

तस्बिरको क्याप्शन, लक्ष्मीनारायण रायले सो बसमा सहचालकको काम थालेको केही दिन मात्र भएको उनको भिनाजु चन्द्रकिशोर राय यादवले बताए

सहचालक रायको आमा बुवाअचेत हुने गरेपछि अस्पताल लगेर उपचार गर्नुपरेको उनका भिनाजु यादवले बताए।

चितवनका होटल व्यवसायीहरूले बस दुर्घटनामा आफन्त गुमाएका परिवारजनलाई हाल नि:शुल्क बस्न र खान सुविधा दिएको बताएका छन्।

उक्त घटनामा दुई बसका ६५ जना यात्रु परेकामा तीन जना बाँच्न सफल भएका थिए।

बुधवार बिहानसम्म फेला परेका १७ जनाको शवमध्ये नौ जनाको सनाखत भएको प्रहरीले बताएको छ।

अझसम्म दुवै बस फेला परेका छैनन् भने हराइरहेका यात्रुहरूको शव पनि दुर्घटनास्थलभन्दा निकै तल करिब १०० किलोमिटर तलसम्म फेला परिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।