'रुसको पतन निम्तिन सक्छ': युक्रेनमा भीषण हमला गरेपछि पुटिनसँग ट्रम्प असन्तुष्ट

तस्बिर स्रोत, Mikhail Svetlov/Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो "निकै घनिष्ठ सम्बन्ध" भएको बताउने गरेका ट्रम्पले केही समयअघि कतै उनले आफूबाट फाइदा लिन मात्रै खोजेका त होइनन् भनेर संशय व्यक्त गरेका थिए
पढ्ने समय: ४ मिनेट

रुसले युक्रेनमा अहिलेसम्मकै भीषण हवाई हमला गरेपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग "सन्तुष्ट नभएको" बताएका छन्।

पुटिनको हतपत आलोचना नगर्ने ट्रम्पले उनका बारे कडा टिप्पणी गर्दै भने, "उनलाई के भएको छ? उनी धेरै मान्छे मार्दै छन्।" रुसी आक्रमणलाई इङ्गित गर्दै ट्रम्पले पुटिन "निकै बहुलट्ठी बनेको" भने।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणप्रति वाशिङ्टन डीसीको "मौन"का कारण पुटिन अझ हौसिएको भन्दै मस्कोविरुद्ध कडा प्रतिबन्धसहित "चर्को दबाव" सिर्जना गर्न आग्रह गरेका थिए।

आइतवार राति रुसले गरेका आक्रमणहरूमा परी युक्रेनमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। आक्रमणका क्रममा रुसले ३६७ वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो। रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि धावा बोलेपछि यसपालि एकैरात पहिलो पटक त्यति सघन हवाई हमला गरेको हो।

युक्रेनका विभिन्न भेगमा सोमवार बिहान पनि सर्वसाधारण मानिसहरूलाई ड्रोन र क्षेप्यास्त्र प्रहार भएको जनाउ तथा सुरक्षित रहन चेतावनी दिन साइरन बजेको सुनियो।

पूर्वोत्तर सहर खार्किभमा एक नाबालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी त्यहाँका नगरप्रमुख इहोर तेरखोभले दिए। दक्षिणी जापरिज्या क्षेत्रमा दुई मानिस घाइते भएको त्यहाँका क्षेत्रीय प्रशासक इभान फेडेरोभले दिए।

९६ वटा युक्रेनी ड्रोन ध्वस्त पारेको दाबी

यसैबीच रुसी समाचारसंस्था 'तास'का अनुसार रुसको रक्षा मन्त्रालयले युक्रेनबाट रुसका विभिन्न १२ वटा क्षेत्रमा राति प्रहार गरिएका ९६ वटा ड्रोनलाई सेनाले आकाशमै छेकेर ध्वस्त पारिदिएको दाबी गरेको छ।

उसका अनुसार तीमध्ये छवटा ड्रोनलाई मस्कोको आकाशमा निस्तेज पारिएको थियो।

यसअघि मस्कोका नगरप्रमुख सर्गेइ सोब्यानिनले युक्रेनले रुसी राजधानीतिर प्रहार गरेका दुइटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारिदिएको बताएका छन्। त्यहाँ कोही हताहत भएको विवरण आएको छैन।

तर ओरिओल र र्‍याजान क्षेत्रका प्रशासकहरूले त्यहाँ मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।

ट्रम्पले पुटिन र रुसबारे के भने

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसले गरेको हवाई हमलामा कैयौँ मानिसहरू हताहत भएका छन्

न्यूजर्सीमा आइतवार राति संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले भने, "म उनलाई धेरै पहिलादेखि चिन्छु, सधैँ उनीसँग मेरो राम्रो सम्बन्ध रहेको छ। तर उनी सहरमा रकेट हान्दै छन्, मान्छे मार्दै छन्। मलाई त्यो पटक्कै मन पर्दैन।"

के अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने विचार गरेको छ त भन्ने प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, "पक्कै पनि।"

ट्रम्पले बारम्बार रुसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् तर अहिलेसम्म त्यस्तो कुनै कारबाही गरिसकेका छैनन्।

त्यसको केही समयपछि ट्रम्पले सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा प्रेषित एउटा पोस्टमा पुटिन "निकै बहुलट्ठी बनेको" लेखे।

"मैले सधैँ उनी पूरै युक्रेन हात पार्न चाहन्छन्, सानो भाग मात्र हैन भन्दै आएको छु। त्यो कुरा प्रमाणित हुन लागे जस्तो छ। तर उनले त्यसो गरे भने त्यसले अन्ततः रुसको पतन निम्तिने छ!"

जेलेन्स्कीबारे के भने

ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीको पनि आलोचना गरे। ट्रम्पका अनुसार जेलेन्स्कीले "मनपरी कुरा गरेर उनले आफ्नो देशको हित हुने काम गरेका छैनन्"।

"उनको मुखबाट निस्किने सबै कुराले समस्या उत्पन्न गर्छन्। मलाई त्यो मन पर्दैन। त्यो रोकिँदा राम्रो," ट्रम्पले जेलेन्स्कीबारे 'ट्रूथ सोशल'मा टिप्पणी गरे।

युक्रेनका युरोपेली साझेदारहरूले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्। तर अमेरिकाले भने आफूले शान्तिवार्ता गराउने प्रयास गरिरहेको तर त्यसमा कुनै प्रगति नभए त्यो "परित्याग" गर्ने बताएको छ।

गत साता ट्रम्प र पुटिनबीच अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सहमतिबारे दुई घण्टा फोनवार्ता भएको थियो।

आफूहरूबीच "निकै राम्रो" संवाद भएको भन्दै ट्रम्पले रुस र युक्रेनले युद्धविरामका लागि र लडाइँ अन्त्य गर्न "तत्काल वार्ता थाल्ने" बताएका थिए।

युक्रेनले तीन दिनका लागि युद्धविराम गर्न आफू तयार भएको सार्वजनिक घोषणा गरिसकेको छ।

पुटिनले चाहिँ "भविष्यमा सम्भावित शान्ति"का विषयमा एउटा "पत्र" को मस्यौदा गर्न युक्रेनसँग मिलेर काम गर्ने जनाएका छन्। किएभ र युक्रेनका युरोपेली साझेदारहरूले त्यसलाई "विलम्ब गर्ने रणनीति" भनेका छन्।

सन् २०२२ पछि युक्रेन र रुसपबीच पहिलो पटक गत मे १६ मा इस्तान्बुलमा प्रत्यक्ष वार्ता भएको थियो।

गत साता युद्धबन्दीहरू आदानप्रदान गर्ने एउटा सम्झौता गर्नुबाहेक उक्त वार्तामा दुई पक्षबीच लडाइँ रोक्ने विषयमा खासै प्रगति भएन।

अहिले रुसले युक्रेनको झन्डै २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। त्यसमा सन् २०१४ मा रुसले आफ्नो देशमा गाभेको क्राइमिया प्रायःद्वीप पनि पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।