रवि लामिछाने केही मिडियामाथि खनिएपछि कसले के भने

तस्बिर स्रोत, RSP

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार छाड्ने निर्णयसँगै नेपाली मिडियाका विषयमा गरेको टिप्पणीले तरङ्ग पैदा गरेको छ। लामिछानेले आइतवार एउटा पत्रकार सम्मेलनमार्फत् विभिन्न सञ्चार गृहका सञ्चालक, पत्रकार, सम्पादकदेखि आमट्विटर प्रयोगकर्तामाथि प्रत्यक्ष आरोप लगाए अनि कतिपयलाई व्यङ्ग्य समेत गरे।

नेपाली सञ्चारमाध्यममा सिन्डिकेट एवं स्वार्थको द्वन्द्व हाबी भएको र आफूहरूले गर्ने “अपराध लुकाएको” लामिछानेको दाबी हो।

पत्रकारहरूले आममानिसको नभई “आफ्ना साहुको मुद्दा स्थापित” गर्ने गरेको उनको आरोप छ।

नेपालका धेरै सञ्चारमाध्यमले आफ्नो मुद्दा दबाएर लामिछानेलाई चाहिँ निरन्तर प्रहार गरेको उनको भनाइ छ।

आफूले सार्वजनिक रूपमा भनेको र अदालतमा रहेको मुद्दा हरेक दिनको शीर्ष समाचार बन्नुप्रति उनले आक्रोशसमेत व्यक्त गरेका छन्।

उनले भनेका छन्,”गृह मन्त्रालयमा म कानुनको शासन स्थापित गर्नुपर्छ भनेर काम गर्दै थिएँ। त्यो गन्ध-दुर्गन्ध मिडियासम्म पुग्यो र त्यहीँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भयो।”

प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूबीच हुँदै नभएको कुराकानी समेत समाचारमा आएको उनले बताएका छन्। कतिपय पत्रकारलाई ‘देशको दुस्मन’ र केहीलाई ‘जोकर’समेत उनले भनेका छन्।

उनले बोल्दै गर्दा आफू आक्रोशित भएको स्वीकार पनि गरेका छन्।

सोमवार प्रकाशित कान्तिपुर दैनिकको सम्पादकीयमा लामिछानेको अभिव्यक्तिबारे भनिएको छ,”उपप्रधान तथा गृहमन्त्री गुमाउनुपरेको र पुनः प्राप्त गर्न नसकेको झोकमा आफ्नो पदीय हैसियत बिर्सेर निज लामिछानेले जे–जस्तो बरबराहट गरेका छन्, त्यसले उनकै कद मात्र नराम्ररी घटाएको छैन, नेपाली समाज–राजनीतिमै दूषित सन्देश सञ्चार गरेको छ । र, प्रेस स्वतन्त्रतामाथि ठाडो धावा समेत बोलेको छ ।”

उनको अभिव्यक्तिले घृणाको वातावरणलाई प्रवर्द्धन गर्न खोजेको र उदाउँदै गरेको नेताको रवैया कसैका लागि पाच्य नहुने जनाइएको छ।

सञ्चारकर्मीहरूबाहेक आममानिसले पनि लामिछानेको प्रस्तुतिलाई विभिन्न कोणबाट प्रशंसा वा आलोचना गरिरहेका छन्।

कतिपयले रवि लामिछानेले नेपाली सञ्चारमाध्यमलगायत जिम्मेवार निकायहरूको “असली अनुहार उजागर” गरेको तर्क गरेका छन् भने केहीले उनले “आफ्नै खुट्टामा बन्चरो हान्ने काम” गरेको विचार अघि सारेका छन्।

ट्विटर प्रयोगकर्ता ठाकुरप्रसाद गजुरेलले लामिछानेको मन्तव्यलाई “हिम्मत र आँट”को सङ्ज्ञा दिएका छन्।

उनले लेखेका छन्,”रवि लामिछाने साहस, गरिमा र आशाको दियो हुन्। उनी जनताको ढुकढुकी हुन्।“

उनकै साहसमा भरोसा गरेर धेरै पीडितहरूले खुल्ने आँट गरेको उनको तर्क छ।

फेसबुकमा गोपाल उप्रेतीले लामिछानेको आत्मविश्वासको प्रशंसा गर्दै लेखेका छन्,”रविको आक्रोश ठिकै लाग्यो। उनले यो सब सोचेरै बोलेका होलान् र यसको मूल्य चुकाउन तयार भएरै बोलेका होलान्।“

त्यस्तै अर्का ट्विटर प्रयोगकर्ता ज्ञानु कटुवालले पनि लामिछानेको पक्षमा आफ्नो मत राखेका छन्।

उनले लेखेका छन्,”रवि लामिछानेसँग मिडिया साहु र पत्रकारबाहेक सबै खुसी भएका छन्। कति निडर, कति निर्भीक हुन् उनी। खासमा देशले खोजेको, जनताले रोजेको यस्तै नेता हुन्।”

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 1

फेसबुकमा राम एकबाल मेहराले भने “अरूलाई गाली गर्नुबाहेक रवि लामिछानेको कुनै स्पष्ट भिजन आजसम्म नदेखेको” बताएका छन्।

उनले सहानुभूति बटुल्नका लागि सञ्चारमाध्यममाथि खनिएको उनको धारणा छ।

“अन्यथा उनले जनतालाई सरकार किन छाडेको भन्ने जबाफ दिनुपर्थ्यो। जसको एउटै जबाफ थियो - मन्त्री नपाएकोले,“ उनले लेखेका छन्। “त्यही जबाफबाट पन्छिन उनले वितण्डा मच्चाए। अरू केही होइन।“

त्यस्तै सामाजिक अध्येता तथा लेखक रमेश पराजुलीले ट्विटरमा लेखेका छन्,”मलाई भारतभन्दा नेपाली समाज भिन्न छ भन्ने पहिले लाग्थ्यो। तर रविलाई चितवनमा थुन्दा जुन मानिसहरू सडकमा उर्ले, त्यसपछि नेपाल पनि भारतजस्तै भइसकेछ भन्ने मलाई लाग्यो। पछिल्ला घटनाक्रमले त्यही देखाउँछ।“

उनले यहाँ बुँदागत रूपमा चर्को गाली, हिरोइजम् र भिक्टिमहुड बिक्ने र रविसँग यी तीनवटै चिज रहेको विचार राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 2

यद्यपि, केहीले भने तारिफ वा चर्को आलोचनाको बीचमा रहेर आफ्नो धारणा राखेका छन्।

“आवेशमै भए पनि धाराप्रवाह यति बोल्न सक्नु मुक्तकण्ठले तारिफ गर्नुपर्ने चाहिँ पक्कै हो। यति बलियो तर्कसहित सरकारमा गएपछि सरकार छोड्ने/मन्त्री फिर्ता बोलाउने कारण भने फिटिक्कै चित्तबुझ्दो लाग्दैन,” साहित्यकार नयनराज पाण्डेले लेखेका छन्।

उनले लामिछाने आँटिलो भएको बताउँदै उपचुनावमा “मत सोतर पार्ने छाँट” देखिएको बताएका छन्।

त्यस्तै लामिछानेको मन्तव्यपछि डा. अनुप सुवेदीले उनी “देश राम्ररी चिनेकै मान्छेजस्तो” लागेको बताउँदै ट्वीट लेखेका छन्।

“सबैले ओरालो लागेको मृग भन्दै छन्। यो देशमा कस्तो राजनीति सफल हुन्छ भन्ने थुप्रै खाँटी विश्लेषकले बरु बुझेनन् कि? यो पत्रकार सम्मेलनको दूरगामी प्रभाव रहनेछ। देशलाई त के लाभ होला र? तर यो रणनीतिक रूपले देश सुहाउँदो राजनैतिक मास्टर स्ट्रोक थियो,“ उनले लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 3

मिडियामा सिन्डिकेट रहेको स्वीकार्छन् पत्रकार सहयोग रञ्जित। उनी लामिछाने पनि त्यही सिन्डिकेटबाटै आएका तर उनको पद जानु वा उनले गृह मन्त्रालय नपाउनुमा उक्त सिन्डिकेटको भूमिका नभएको मत राख्छन्।

“त्यसमा कानुनी र राजनीतिक थियो। राजनीतिक सिन्डिकेटबारे उनी बोलेनन्, मौनता तोडेनन्। उनी अभिमन्यु बन्ने पथमै छन्,” उनले लेखेका छन्।

नेपाल पत्रकार महासङ्घले लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोपहरू लगाएको उल्लेख गर्दै विज्ञप्ति जारी गर्‍यो।

त्यसरी “धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको प्रहार” भएको जनाइएको छ।

त्यसमा सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नाम नै तोकेर सार्वजनिक रूपमा धम्की दिइनुले उनीहरूले असुरक्षित हुनसक्ने तथ्यबारे ध्यानाकर्षण भएको समेत लेखिएको छ।