शीतका कारण अवरुद्ध दाउन्ने सडक तीन दिनपछि 'खुल्यो', सयौँ सवारीसाधन फसेकाले स्थिति 'अझै असहज'
तस्बिर स्रोत, Nepal Photo Library
नारायणघाट-बुटवल सडकखण्ड अवरुद्ध हुँदा कैयौँ सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परे।
शीतलहर फैलिएपछि पश्चिम नवलपरासीको दाउन्ने-खुर्सानी खोला क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे भएकाले सवारीसाधनहरू चिप्लिन र फस्न थालेकाले विगत तीन दिनदेखि उक्त सडकखण्डमा आवागमन प्रभावित हुन पुग्यो।
अधिकारीहरूका अनुसार बुधवार दिउँसोदेखि सडक सञ्चालनमा आएको छ तर जाममा फसेका सवारीसाधनको सङ्ख्या अधिक भएकाले ती निकै सुस्त गतिमा अगाडि बढेका छन्।
सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले शीतलहरको अवस्था कायम रहेको र गाडीहरूको सङ्ख्या पनि निरन्तर थपिएकाले आवागमन सहज हुन नसकेको बताए।
राजमार्गमा लामो जाम भएकाले यात्रुहरूले सास्ती पाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको जाममा बिहानसम्म झन्डै १,५०० वटा सवारीसाधन फसेका थिए।
वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
तस्बिर स्रोत, Nepal Photo Library
सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
निर्देशनालयले अहिलेको समस्या समाधान गर्न केही समय अझै लाग्न सक्ने जनाएको छ।
यी हुन् वैकल्पिक मार्ग -
- पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारीसाधनका लागि नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा हुँदै वा गैँडाकोटको कालीगण्डकी चोकबाट रामपुर-पीपलडाँडा हुँदै बुटवल
- काठमाण्डूबाट बर्दघाट पश्चिम र बुटवलबाट काठमाण्डू जाने सवारीसाधनका लागि मुग्लिङ-पोखराको मार्ग
तस्बिर स्रोत, Nepal Photo Library
तस्बिर स्रोत, Nepal Photo Library
नेपालभरि पश्चिमी वायुको प्रभाव
अहिले नेपालभरि पश्चिमी वायुको आंशिक प्रभाव परेकाले हुस्सु लागेको र चिसो बढेको हो। मौसमविद्हरूका अनुसार अझै केही दिन सबै प्रदेशमा विशेष गरी तराई क्षेत्रका अधिकांश भूभागमा शीललहर चल्ने छ।
जल तथा मौसम मौसम पूर्वानुमान शाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहन सक्ने जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि छ।
तस्बिर स्रोत, Nepal Photo Library
तस्बिर स्रोत, Nepal Photo Library
विभिन्न जिल्लामा विद्यालयहरू बन्द
तस्बिर स्रोत, RSS
काठमाण्डू उपत्यकामा पनि तापक्रम घट्दो क्रममा छ। महाशाखाका अनुसार बुधवार तापक्रम यो वर्षकै न्यूनतम बिन्दु ४.८ °C मा पुगेको थियो तर बिहीवार ५ °C मापन भयो।
शीतलहरका कारण विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। सुनसरी जिल्ला र पर्साको वीरगन्जमा विद्यालयहरू १८ गतेसम्मका लागि बन्द भएका छन्।
सुनसरीमा स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
तस्बिर स्रोत, RSS
हिमपात भएको र चिसो बढेको भए पनि मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ।
हिन्दू र बौद्ध तीर्थस्थलका रूपमा प्रख्यात मुक्तिनाथ समुद्री सतहबाट ३,८०० मिटरको उचाइमा छ।
मुक्तिनाथ मन्दिर क्षेत्रमा बिहान र बेलुकी तापक्रम -१५ °C डिग्रीसम्म पुग्ने गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन