महिनावारीका बेला छोरीलाई सघाउने यी बुवाहरू
तस्बिर स्रोत, Getty Images
- Author, यास्मिन रुफो
- Role, बीबीसी न्यूज
- पढ्ने समय: ५ मिनेट
सोह्र वर्षीया हेलेनको पहिलोपटक महिनावारी हुँदा घरमा अभिभावकका रूपमा उनका बुवा मात्रै घरमा थिए।
त्यस बेला उनले आफ्नी छोरीलाई आवश्यक मद्दत गरे।
भर्खरका किशोरीहरूसँग महिनावारीबारे कुराकानी गर्न अलि असहज हुन्छ। अझै तपाईँ आफैँले त्यो अनुभव गर्नुभएको छैन भने त अझै असहज हुन्छ। तर हेलेनले आफ्ना बुवाले त्यसबारे पहिलादेखि नै खुलेर कुरा गर्ने गरेको र त्यसले उनको पहिलो पटकको महिनावारीलाई अत्यन्तै सहज बनाइदिएको बताएकी छन्।
बुवाहरूले "तपाईँले कस्तो अनुभव गर्नुहुन्छ वा यसले कहिलेकाहीँ तपाईँको जीवनलाई कसरी असर गर्छ भनेर ठ्याक्कै भन्न सक्नुहुँदैन तर उहाँहरूले सुझाव दिन र त्यसबारे कुरा गर्न सक्नुहुन्छ," उनले भनिन्।
तैपनि महिनावारीबारे बोल्न धेरैलाई आज पनि असहज नै महसुस हुन्छ र यसबारे धेरैजसो आमाहरू नै कुरा गर्छन्।
हेलेनका बुवा जोन एडम्स महिनावारीसम्बन्धी कुरा गर्न कतिपयले महसुस गर्ने अप्ठेरोलाई चुनौती दिने बुवाहरूमध्ये एक हुन्। उनीजस्ता बुवाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।
आफ्ना १६ र १२ वर्षका दुई छोरीहरू हुर्किरहँदा जोन घरमै बस्ने अभिभावक थिए। तर उनले अन्य थुप्रै आमाबुवा भेटेका छन् जो आफ्ना सन्तानसँग महिनावारीबारे कुरा गर्न असहज महसुस गर्ने गरेको भेटेका छन्।
"उनीहरू आफ्ना छोरीहरूले यसबारे विद्यालयमा जानून् भनेर कुरिरहेका थिए तर मलाई त्यो केवल शिक्षकको मात्रै काम हो भन्ने लाग्दैन।"
जोनले आफ्ना दुवै छोरीसँग महिनावारी हुँदा कस्तो हुन्छ, पेट कति दुख्छ र महिनावारीका बेला प्रयोग गर्ने विभिन्न प्रकारका स्यानिटरी प्याड कस्ता हुन्छन् भनेर कुरा गरेका थिए।
"पुरुषहरू गलत हुन सक्छन् तर उनीहरूले त्यो भार नबोकी विषयबारे व्यावहारिक तरिकाले कुरा गर्न सक्छन्," उनले बीबीसी रेडिओ फाइभसँग भने।
अहिले शिक्षा क्षेत्रमा काम गर्न जोनले आफू यो विषयमा विज्ञ नभए पनि यसबारे आफ्नी आमा र श्रीमतीसँग कुरा गरेको र अनलाइन स्रोतहरूबाट जानकारी लिएको बताए।
तस्बिर स्रोत, Shutterstock
'तपाईँ भाग्न सक्नुहुन्न'
उनका लागि महिनावारी भनेको केवल स्वास्थ्यसमम्बन्धी विषय हो न कि कुनै सरम मान्नुपर्ने कुरा। बुवाहरूले महिनावारी कुरा गर्ने विषयमा छलफलबारे धारणा विभाजित भए पनि जोनले "आफ्ना सन्तानका लागि कुरा गर्न सक्ने हुनु" महत्त्वपूर्ण हुने बताए।
श्रीमती गुमाएका रोयका लागि भने कुनै विकल्प थिएन। उनले आफ्नी श्रीमतीको क्यान्सरका कारण मृत्यु भएपछि छोरीलाई एक्लै हुर्काए।
छोरी नौ वर्ष हुँदादेखि नै उनले केही किताब पढ्दै महिनावारीमा के हुन्छ भनेर त्यसबारेमा कुरा गर्न थालेका थिए।
"सुरुमा छोरीको अनुहारको रङ्ग उड्यो तर हामीले खुलेर कुरा गर्यौँ।"
पछि उनले छोरीलाई प्याड देखाए र त्यो उनले कसरी लगाउनुपर्छ भनेर देखाए। उनले छोरीलाई कसरी लगाउने भनेर आफैँ प्रयास गर्न पनि सुझाए।
"के भइरहेको छ भन्ने थाहा नहुँदा अलि डरलाग्दो पनि हुन्छ।"
"म मेरी छोरीलाई जीवनका लागि तयार गरिरहेको थिएँ र त्यसकै हिस्सामा महिनावारी, यौन, केटा साथी र सम्बन्धहरू थिए। यी सबै विषयमा कुरा गर्न कठिन हुन्छ तर तपाईँ यसबाट भाग्न सक्नुहुन्न।"
छोरीहरूका सुझाव
तस्बिर स्रोत, Hannah Routledge
धेरै महिलाका लागि आफ्नो पहिलो महिनावारीको स्मृति त्यति खुला हुँदैन।
हाना राउटलेज एउटा गैरनाफामुखी समूह 'हेइ गर्ल्स'मा काम गर्छिन्। उक्त समूहले महिनावारीसम्बन्धी अज्ञानता र आवश्यक सामग्रीको अभाव रोक्न काम गर्छ। हानाले आफ्नो महिनावारीका बेला भएको असहजता सम्झिइन्।
"म एकदमै सानै छँदा मेरो महिनावारी भयो। म जम्मा १० वर्षकी थिएँ," उनले भनिन्। "म त्यस्तो विद्यालयमा गएँ जहाँ प्याड फाल्ने भाँडो पनि थिएन र कुनै व्यवस्था पनि थिएन।"
हेइ गर्ल्सले 'प्याड्स फर ड्याड्स' अभियान सन् २०१९ मा सुरु गरेको थियो। उक्त अभियानले बुवाहरूलाई महिनावारीबारे कुरा गर्न मद्दत गर्न सन्दर्भसामग्रीहरू नि:शुल्क उपलब्ध गराउँछ।
"यो महिनावारीलाई लिएर विद्यमान अप्ठेरो तोड्नका लागि बुवा र अभिभावकका लागि बनाइएको हो," उनले व्याख्या गरिन्। "ठूलो संवादका लागि नकुर्नूस्, साना प्रसङ्गहरूमा त्यसबारे कुरा गर्नूस्, महिनावारीका लागि चाहिने आवश्यक प्याडहरू घरमा राख्नूस् र सहयोगी बन्नूस्।"
हानाले आमाबुवाले महिनावारीबारे आफ्ना छोराहरूसँग पनि त्यसबारे सचेतनाका लागि कुरा गर्नुपर्ने बताइन्।
महिला स्वास्थ्यमा विशेषज्ञता हासिल गरेकी डाक्टर निघत अरिफले आफ्ना छोरासँग छ वर्षकै उमेरदेखि महिनावारीबारे कुरा गर्न थालेकी थिइन्, जब छोराले बाथरूममा उनको ट्याम्पन फेला पारेका थिए।
"मैले 'यो कुरा आमाले प्रयोग गर्नुपर्छ किनभने आमाको रगत बग्छ' भने।" सुरुमा यसले छोरालाई चिन्तित गरायो, तर उनले त्यो सामान्य भएको र प्रत्येक महिलालाई प्रत्येक महिना हुने गरेको बताइन्।
हानाले प्रवृत्ति छिट्टै फेरिइरहेको र आफ्नै बुवामा पनि त्यो परिवर्तन याद गरेकी छन्। उनका बुवा कुनै बेला महिनावारीबारे कुरा गर्न हच्किन्थे र गर्नै चाहँदैनथे। तर अहिले "यदि नातिनीहरूले त्यसबारे कुरा गर्न चाहे उहाँले खुला रूपमा मद्दत गर्नुहुन्छ।"
कार्यस्थलको अप्ठेरो कम गर्ने प्रयास
यूकेको न्याश्नल हेल्थ सर्भिस 'एनएचएस'मा कार्यरत स्त्रीरोगविशेषज्ञ डाक्टर क्रिस्टिन एकेचीले 'प्यूबर्टी'बारे बालबालिकासँग कुरा गर्नेबारे आमाबुवामा प्राय: दोहोरो मापदण्ड हुने गरेको बताइन्।
"धेरै एकल आमाहरूका छोरा छन् जसलाई हामी यौवनावस्था, किशोरावस्था वा सुरक्षित यौन सम्बन्धबारे कुरा गर्न सक्दैनौँ भनेर भन्दैनौँ।
"त्यसो भए बुवाले छोरीसँग कुरा गर्नेबारे हामी किन अझै त्यसमै रुमलिइरहेका छौँ?"
घरमा खुलापन बढ्नुको व्यापक असरहरू हुने र महिनावारीबारे जानकार बुवाहरू असल सहकर्मी र अगुवा पनि हुने डाक्टर एकेची बताउँछिन्।
यसले कार्यस्थलमा महिनावारीबारेका अप्ठेरो कम गर्न मद्दत गर्छ र काममा पनि महिनावारीसम्बन्धी समानतामा सुधार ल्याउँछ।
यी सबैभन्दा पनि माथि, "बुवा र छोरीबीचको सुधार गर्ने यो एकदमै गज्जब उपाय हो," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन