विश्वका लागि सन् २०२४ कस्तो रह्यो? तस्बिरहरूमा हेर्नुहोस्

तस्बिर स्रोत, ANTON BRINK/EPA

तस्बिरको क्याप्शन, आइसल्यान्डको रेकिनेज प्रायद्वीपस्थित एउटा सडकमा लाभा बगिरहेको दृश्य
पढ्ने समय: ७ मिनेट

सन् २०२४ मा समाचार संस्थाहरूका फोटोग्राफरहरूले विश्वका विभिन्न स्थानमा खिचेकामध्ये केही शक्तिशाली तस्बिरहरू यहाँ चयन गरिएको छ।

तस्बिर स्रोत, Qian Weizhong/VCG via Getty Images

राष्ट्रपति जो बाइडनको प्रशासन रहेको बेला अमेरिका-मेक्सिको सीमानाकाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या ठूलो स्तरमा बढेपछि नोभेम्बरको चुनावअघि राष्ट्रपतिका लागि त्यो राजनीतिक टाउको दुखाइको विषय बन्यो। सन् २०१८ बाट आप्रवासीहरूको आगमन खास गरी मध्य अमेरिकी देशबाट भयो, जसका कारणमा गरिबी, सामूहिक हिंसा, राजनीतिक दमन र प्राकृतिक विपद्‌ रहेको देखियो।

तस्बिर स्रोत, AP Photo/David J. Phillip

अमेरिकी सङ्गीतकार एलिसिया किजले २०२४ 'सूपर बाउल'को मध्यतिर प्रस्तुति दिइन्। रातो रङ्गको पहिरनमा रातो रङ्गकै पियानोपछाडि उभिएर उनले आफ्नो एउटा हिट गीत गाइन्। त्यसपछि उनी सन् २००४ को युगल गीत "माई बू" को प्रस्तुतिका लागि आर एन्ड बी स्टार अशरसँग सामेल भइन्।

तस्बिर स्रोत, Reza Saifullah/AP

इन्डोनेशियाका उद्धारकर्ताहरूले आचेह तटदेखि पर खिया लागेको एउटा डुङ्गामा घामले डढेका र डिहाइड्रेटेड ६९ जना रोहिन्ज्या शरणार्थीहरूलाई फेला पारे। इन्डोनेशियाको खोज तथा उद्धार निकायका अनुसार नौजना बालबालिका, १८ जना महिला र ४२ जना पुरुषलाई बचाउन अधिकारीहरू सफल भए। करिब ८० जनालाई पानीले बगाएर लगेको र उनीहरूको मृत्यु भएको हुन सक्ने ठानिएको छ।

तस्बिर स्रोत, Leon Neal/Getty Images

मार्चमा उत्तरी युरोपभरि नोर्दन लाइट्सका धेरै दृश्य देखिए। आगामी केही वर्ष ओरोरा बोरिआलिस देखिने सम्भावना अत्यधिक छ किनकि सन् २०२४ को अन्त्य अथवा सन् २०२५ को सुरुवातमा सूर्य आफ्नो ११ वर्षे चक्रको उत्कर्षमा पुग्दै छ।

तस्बिर स्रोत, AFP

उत्तरी गाजा स्ट्रिपमा खसाउन लागिएका सहायता प्याकेज टिप्नका लागि जाँदै मानिसहरू। अरू उपायहरू प्रभावकारी नदेखिएका बेला आकाशबाट मानवीय सहायता सामग्री खसाल्ने विधि खास गरी द्वितीय विश्वयुद्धताका सुरु भएको थियो तर यो अहिले प्रभावकारी सिद्ध भएको छ।

तस्बिर स्रोत, Carlos Garcia Rawlins/Reuters

ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्पले भवनलगायतका पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको थियो। खास गरी उक्त टापुको पूर्वी क्षेत्रमा बढी क्षति भएको थियो।

तस्बिर स्रोत, Chip Somodevilla/Getty Images

एप्रिलमा उत्तरी अमेरिकाको ठूलो हिस्सामा लाखौँ मानिसले खग्रास सूर्यग्रहण अवलोकन गरिरहँदा वाशिङ्ग्टन डीसीस्थित वाशिङ्ग्टन मोनुमन्टमाथि आकाशमा देखिएको सूर्य।

तस्बिर स्रोत, Dan Kitwood/Getty Images

सुडानमा जारी द्वन्द्वका कारण एक करोडभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्, तीमध्ये ठूलो सङ्ख्यामा महिला तथा बालबालिका छिमेकी देश चाड पुगिरहेका छन्। सन् २०२३ को एप्रिलदेखि सेना र शक्तिशाली अर्धसैनिक बल सत्ता सङ्घर्षमा होमिएपछि सुडान अस्तव्यततामा धकेलिएको छ।

तस्बिर स्रोत, Ihsaan Haffejee/Reuters

दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतहरूको शासनविरुद्ध सङ्घर्ष गरेको र तीन दशकदेखि सत्तामा हाबी रहेको एएनसी पार्टीले गत मेको आमनिर्वाचनमा हार बेहोर्‍यो।

तस्बिर स्रोत, AP/Evan Vucci

पेन्सिल्भेनिआको बट्लरमा एउटा चुनावी र्‍यालीका बेला नजिकैको एउटा घरको छाना माथिबाट गोली चलाइएपछि डोनल्ड ट्रम्पलाई तत्काल मञ्चबाट हटाइएको थियो। रिपब्लिकन पार्टीका उम्मेदवारलाई तल लगिँदै गर्दा उनको अनुहारको एकापट्टि रगत देखिएको थियो। गुप्तचर सेवाका एजेन्टहरूले मञ्चलाई घेरा हालिरहँदा ट्रम्पले मुठी कसेको हात उचालेका थिए।

तस्बिर स्रोत, FRANCOIS-XAVIER MARIT/REUTERS

सन् २०२४ को ओलिम्पिक्स प्यारिसमा भव्य रूपमा भयो। हजारौँ खेलाडीहरूले सेन नदीमा नौकाविहार, पुल, तट र छानाहरूमाथि प्रदर्शन गरे। समारोह ट्रोकाडीरोमा समापन भइरहँदा नजिकैको आइफल टावर प्रकाशले जगमगाइरहेको थियो।

तस्बिर स्रोत, Jerome BROUILLET/AFP

प्यारिस ओलिम्पिक्समा ब्रजिली सर्फर ग्याब्रिएल मेडिनाको एउटा शक्तिशाली तस्बिर। फ्रेन्च फोटोग्राफर जेरोम भूइएलाई थाहा थियो कि त्यस दिनकै सबैभन्दा ठूलो छालसँग सर्फरको जम्काभेट हुने बेलाको तस्बिर खिच्ने मौका उनीसँग छ। त्यो फोटो पछि 'भाइरल' बन्यो।

तस्बिर स्रोत, REUTERS/Alkis Konstantinidis

इरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएको विरोधमा लेबननको सिडोनमा मानिसहरूले प्रदर्शन गरे। गाजामाथि नियन्त्रण रहेको प्यालेस्टिनी समूहले इरानका राष्ट्रपति मसूद पेजेस्कीआनको शपथग्रहण समारोहका लागि पुगेका हानिया तेहरानमा इजरेली हमलामा मारिएका बतायो।

तस्बिर स्रोत, Noah Berger/AP

क्यालिफोर्निआमा जुलाईमा लागेको डढेलोका कारण १,५०० वर्गकिलोमिटरभन्दा बढी क्षेत्रमा फैलँदा थुप्रै घरहरू नष्ट भए भने हजारौँ मानिस विस्थापित भए। एक पुरुषमाथि जलिरहेको कार एउटा घाटीमा धकेलेर डढेलो निम्त्याएको आरोप लगाइयो।

तस्बिर स्रोत, Evgeniy Maloletka/AP

रुसले सन् २०२४ को जुलाईमा युक्रेनभरि गरेका क्षेप्यास्त्र हमलाका क्रममा किएभस्थित एउटा बाल अस्पताल पनि पर्‍यो। ओख्माडित बाल अस्पतालमाथि हमला हुँदा दुई जनाको ज्यान गयो भने उक्त अस्पतलले ठूलो क्षति बेहोर्‍यो।

तस्बिर स्रोत, GUILLAUME HORCAJUELO/EPA

पचास वर्षअघि बिहे गरेका श्रीमान् र अरू ५० जनाले बलात्कार गरेको आरोपमा मुद्दा चलिरहँदा जीजेल पेलिको केन्द्रमा रहिन्। नाम सार्वजनिक नगर्ने आफ्नो अधिकार प्रयोग नगरेकी उनी धेरैका लागि साहसकी प्रतीक बनिन्। अभियुक्तहरूबारे विस्तृत विवरणले समाचार वेबसाइटदेखि सामाजिक सञ्जालसम्ममा सनसनी निम्त्याए।

तस्बिर स्रोत, REUTERS/Hatem Khaled

लडाइँबीच बस्ती खाली गर्न इजरेलले भनेपछि खान यूनिसको पूर्वी भागबाट भागेकामध्ये केही प्यालेस्टिनीहरू क्षतिग्रस्त कारमा बसिरहेका देखियो। द्वन्द्व सुरु भएको एक वर्षपछि इजरेली सेनाले अक्टोबरमा उनीहरूलाई उत्तरी गाजाबाट फेरि अन्यत्र जान भन्यो।

तस्बिर स्रोत, Jacquelyn Martin/AP

अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिस लस भेगसमा सेनाको हेलिकप्टर चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्न रोकिइन्। उनी चुनावी प्रतिस्पर्धाका हिसाबले निकै महत्त्वपूर्ण रहेको नेभादा गइरहेकी थिइन्।

तस्बिर स्रोत, Alberto Saiz/AP

पूर्वी स्पेनमा मुसलधारे वर्षापछि आएको बाढीका कारण २०० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाए। अचानकको बाढीले धेरै घर तथा पुलहरू बगाए भने सडकहरूमा फोहोरमैला थुपारे।

तस्बिर स्रोत, Matthew Dominick/Nasa

समुद्री आँधी मिल्टन फ्लोरिडातर्फ बढ्दै गर्दा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको ड्र्यागन इन्डेभरले सन् २०२४ को अक्टोबर ९ मा अभूतपूर्व दृश्य कैद गरेको थियो। समुद्री आँधी बज्रिएपछि उक्त राज्यमा त्यसले व्यापक विध्वंस मच्चायो। प्रतिघण्टा २०५ किलोमिटर गति भएको आँधीले ठूलो स्तरमा क्षति पुर्‍याएको थियो।

तस्बिर स्रोत, Kim Hong-ji /REUTERS

दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति यून सुक यउलको राजीनामा माग गर्दै मैनबत्ती लिएर प्रदर्शन गरिरहेका मानिसहरू। मार्शल ल घोषणा गर्ने उनको कदमले देशभरि आश्चर्य र आक्रोश निम्त्यायो।

तस्बिर स्रोत, Omar HAJ KADOUR / AFP

इस्लामवादी लडाकु समूह हयात तहरिर अल-शाम र उससँग आबद्ध लडाकु गुटहरूले पश्चिमोत्तर सिरियामा ठूलो आक्रमण सुरु गरेर सिरियामा असद परिवारको ५० वर्षभन्दा लामो शासनको अन्त्य गरायो। विद्रोहीहरूले थोरै समयमा दोस्रो ठूलो सहर अलेपोमाथि कब्जा गरे अनि त्यसपछि राजधानी दमास्कसमाथि कब्जा गर्न उनीहरू राजमार्गदेखि दक्षिणतर्फ लागे। सेना ध्वस्त भइसकेको अवस्थामा बशर अल-असद भागेर मस्को गए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।