समोआ ठूलो अन्तरले पराजित, नेपाल विश्वकप क्रिकेट एशिया छनोट च्याम्पिअन

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

टी२० विश्वकप २०२६ का लागि एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको एक मात्र अपराजित टोलीका रूपमा नेपाल क्षेत्रीय छनोटको च्याम्पिअन बनेको छ।

विश्वकप छनोट विजेताको प्रबल दाबेदारका रूपमा हेरिएको नेपालले सोचेअनुरूपकै खेल पस्किन सफल भयो र उपाधिको ताज पहिरिने दृष्टिकोणले महत्त्वपूर्ण रहेको अन्तिम दिनको खेलमा समोआलाई १२४ रनको ठूलो अन्तरले सहजै पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको नेपालले पूरा इनिङ्स खेलेर चार विकेटको क्षतिमा २११ रन बनायो। जारी प्रतियोगितामा नेपालले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो।

तस्बिर स्रोत, CAN

जबाफी ब्याटिङ गरेको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा ८७ रन मात्र बनायो।

विश्वकप छनोट खेल्न जानुअघि वेस्ट इन्डिजसँगको टी२०आई शृङ्खला जितेको नेपालले यसपालि 'लगातार विश्वकप पुग्ने' नारा बोकेर झन्डै एक वर्ष लामो तयारी गरेको थियो।

लक्ष्यअनुरूप नै नेपालले समूह चरण र 'सूपर सिक्स'मा गरी खेलेको छ वटै खेल जित्न सफल भयो। यद्यपि युएई, कतार र कुवेतविरुद्धको खेल जित्न नेपाललाई हम्मेहम्मे परेको थियो।

अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी२० विश्वकपमा छानिएको नेपालको यो लगातार दोस्रो विश्वकप तथा समग्रमा तेस्रो विश्वकप सहभागिता हो।

तस्बिर स्रोत, CAN

अन्तिम खेल सकिएपछि बोल्दै कप्तान रोहित पौडेलले विश्वकपका लागि आफू उत्साहित भएको र भारत, अस्ट्रेलिया अनि इङ्ग्ल्यान्डजस्ता ठूला टीमहरूसँग खेल्न चाहेको बताए।

"भारतमै भारतका विरुद्ध खेल्न अवसर पायौँ भने यो सबै नेपाली फ्यानहरूका लागि एकदमै राम्रो हुने छ।"

खुलेको ब्याटिङ

समोआले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएपछि दबावरहित खेलमा नेपाली ब्याटरहरूले खुलेर ब्याट घुमाउन थालेका थिए।

पहिलो विकेटको लागि कुशल भुर्तेल र आशिफ शेखले ६३ रनको साझेदारी गरे। भुर्तेल आउट भएपछि शेख र दीपेन्द्रसिंह ऐरी दुवैले अर्धशतकीय पारी खेले।

आशिफले ४१ बलमा ६९ तथा दीपेन्द्रले ३३ बलमा ५३ रन बनाए। लोकेश बमले १२ बलमा ३९ रनको आक्रामक पारी खेलेपछि नेपालले यसपालिको छनोट प्रतियोगितामा पहिलो पटक २०० भन्दा बढी रनको आँकडा पार गरेको थियो।

लोकेशले चार छक्का र दुई चौका प्रहार गरे। कप्तान रोहित पौडेलले २१ रन बनाए।

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नेपालका लागि आशिफ शेखले सर्वाधिक ६९ रन बनाएका थिए

फील्डिङ

तस्बिर स्रोत, CAN

आज नेपाली खेलाडीहरू जसरी खुलेर खेलेका थिए, समोआका खेलाडीहरू चाहिँ नेपालविरुद्ध दबावमा खेलेको देखिन्थ्यो।

नेपाली बलिङ कसिकसाउ थियो। त्यसका कारण समोआका खेलाडीहरू सुरुदेखि नै बाँधिन पुगे।

पहिलो पटक खेलिरहेका करण केसीले डारियस भिसेरलाई एलबीडब्ल्यूको धरापमा पारे। ललित राजवंशीले बेन्जामिन मैलाटालाई कट एन्ड बोल्ड तथा सोलोमन नासलाई बोल्ड गरेपछि समोआले 'पावरप्ले'मा तीन विकेट गुमाइसकेको थियो।

सन्दीप लामिछानेले र कप्तान रोहित पौडेलले पनि एकएक विकेट लिए।

चार खेलाडी परिवर्तन

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, ओमानमा यसपालि भएका नेपालका प्रायः सबै खेलमा नेपाली फ्यानहरूको उल्लेख्य उपस्थिति थियो

प्रशिक्षक स्टुआर्ट लले आज टोलीमा लोकेश बम, आरिफ शेख, ललितनारायण राजवंशी र करण केसीलाई पहिलो रोजाइमा राखेका थिए।

करणले जारी छनोटमा खेलेको यो पहिलो खेल हो।

यी खेलाडीले स्थान पाउँदा सोमपाल कामी, सन्दीप जोरा, कुशल मल्ल र आदिल आलम भने टोलीभन्दा बाहिरै रहे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।