'सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला': ४५ दिन चल्ने महाकुम्भ प्रयागराजमा आरम्भ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कुम्भमेलामा सहभागी हुन लिन लाखौँ मानिस उत्तर प्रदेशको प्रयागराज पुगेका छन्
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, प्रयागराज
  • पढ्ने समय: ६ मिनेट

भारतमा अधिकारीहरूले देशको उत्तरमा अवस्थित प्रयागराज सहरमा आयोजना हुन लागेको कुम्भमेला पर्वको तयारीमा आफूलाई केन्द्रित गरेका छन्।

यसलाई संसारकै सबैभन्दा ठूलो मानव जमघट हुने पर्व मानिन्छ। सोमवार औपचारिक रूपमा सुरु भएको यो महाकुम्भ ४५ पछि फेब्रुअरी २६ मा समापन हुने छ।

मङ्गलवार पहिलो ठूलो कुम्भ स्नान हुने छ। त्यसमा खरानी घसेका दिगम्बर नागा साधुहरूले स्नान गर्ने कार्यक्रम छ।

गङ्गा, यमुना र अहिले लुप्त भइसकेको सरस्वती नदीको त्रिवेणीस्थललाई तीर्थहरूमध्ये श्रेष्ठ मान्दै प्रयागलाई 'तीर्थराज' भन्ने गरिएको छ। हिन्दू धर्मावलम्बीहरू ती नदीको सङ्गममा गएर स्थान गर्छन्।

तीर्थालुहरू त्यहाँ स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने विश्वास गर्छन्।

संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानवजातिको 'अमूर्त सम्पदा'को मान्यता दिएको छ। अन्तरिक्षबाट पनि यसलाई देख्न सकिने बताइएको छ।

झन्डै ४० करोड मानिस उक्त मेलामा सहभागी हुने अपेक्षा गरिएको एक भारतीय अधिकारी विवेक चतुर्वेदीले बीबीसीलाई बताए।

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, प्रयागराजमा साधुसन्तहरूको ठूलो भिड लागिसकेको छ

कुम्भ मेलाको पहिलो दिन ५० देखि ८० लाख भक्तजनले स्नान गर्ने ठानिएको छ। यो सङ्ख्या मङ्गलवार माघे सङ्क्रान्तिको दिन दुई करोडसम्म पुग्ने ठानिएको छ।

नागा साधुहरूले बरफजस्तै चिसो पानीमा डुबुल्की मारिरहेको दृश्य चाखलाग्दो हुने ठानिएको छ। तर भक्तजनहरूका लागि यसको विशेष महत्त्व छ। उनीहरूले साधुले गर्ने स्नानले जललाई तिनको आस्था र व्यवहारका कारण पवित्र पार्ने विश्वास राख्ने गर्छन्।

सप्ताहान्तदेखि नै ठूलो भिडमा होहल्लास गर्दै दनिसहरू मेलामा सहभागी हुन आइरहेका छन्।

शरीरमा खरानी घसेका साधुहरूको भिडमा कोही निर्वस्त्र थिए भने केहीले लगौँटी मात्र लगाएका थिए। सयपत्रीको माला घाँटीमा लगाएका उनीहरू त्रिशूल, तरवार र डमरु बोकेर लामबद्ध हुँदै हिँडेका थिए।

अर्को समूहमा रथमा टोलीका नेता सवार थिए। उनलाई एउटा साङ्गीतिक टोली, नर्तक, घोडा र ऊँटसहितको टोलीले बस्ने ठाउँसम्म पुर्‍याएको थियो।

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, हिन्दू धर्मावलम्बीहरू तीन पवित्र नदीको त्रिवेणीमा स्नान गर्दा पाप पखालिने विश्वास गर्छन्

कुम्भमेला के हो?

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ।

अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको सङ्ख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

रविन्दर पुरी नाम गरेका एक साधुका यसपालिको कुम्भ "अझ विशेष" हुने भन्दै ठान्छन्।

"घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्," उनले बीबीसीसँग भने।

"यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।"

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, डेढ महिनासम्म धर्मावलम्बीहरू प्रयागराजमा गङ्गा, यमुना र लुप्त सरस्वतीको सङ्गममा स्नान गर्छन्

कुम्भमेलामा स्नान गर्ने मुख्य दिन कुनकुन हुन्?

ग्रह र नक्षत्रको आधारमा ज्योतिषीहरूले स्नान गर्ने दिन तोक्छन्।

यसपालि स्नान गर्न उत्तम विशेष दिन यी हुन् ‍

  • १३ ज्यानुअरी : पौष शुक्ल पूर्णिमा
  • १४ ज्यानुअरी : मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति)
  • २९ ज्यानुअरी : मौनी अमावस्या (माघ कृष्ण औँसी)
  • ३ फेब्रुअरी : वसन्तपञ्चमी (श्रीपञ्चमी)
  • १२ फेब्रुअरी : माघ शुक्ल पूर्णिमा (माघस्नान समाप्त हुने दिन)
  • २६ फेब्रुअरी : महाशिवरात्रि

नागा सम्प्रदायका साधुहरूले ज्यानुअरी १४ र २९ अनि फेब्रुअरी ३ का विशेष स्थान गर्ने छन्। त्यसलाई 'शाहीस्नान' भन्ने गरिन्छ।

ज्यानुअरी २९ मा माघे औँसी पर्ने भएकाले सो दिन पाँचदेखि छ करोड मानिसले स्नान गर्ने अनुमान गरिएको छ।

तस्बिर स्रोत, Getty Images

तीर्थालु र पर्यटकहरू अट्ने गरी नदीको किनारमा अवस्थित मैदानको ४,००० हेक्टर क्षेत्रफलमा "पालको सहर" बनाइएको छ।

"हामीले ६५० मिटर लामो अस्थायी बाटो निर्माण गरेका छौँ अनि पाल र शौचालयहरू बनाएका छौँ। यसलाई सफल पार्न ४०,००० प्रहरी र सुरक्षाकर्मीसहित एक लाखभन्दा बढी मानिस अहोरात्र खटेका छन्," चतुर्वेदीले भने।

प्रयागराज सहर पनि यो विशाल मेलाका लागि सिँगारिएको छ। झन्डै २०० वटा सडक फराकिलो पारिएको छ, सङ्गमतिर जाने घरका अग्रभाग रङ्गाइएको छ र भित्तामा पौराणिक कथा तथा पात्र प्रतिविम्बित हुने गरी रङ्गीन चित्र बनाइएको छ।

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, कुम्भमेलामा भाग लिन आएका दशौँ हजार विदेशीमध्ये आर्जेन्टिनाका सेबास्टिएन डिएगो पनि हुन्

हजारौँ तीर्थालु र पर्यटक प्रयागराज पुगिसकेका छन्।

तीमध्ये आर्जेन्टिनाका सेबास्टिएन डिएगो ९० जनाको समूहमा आएका हुन्। उनी कुम्भमेलामा "यस्तो भक्तिभाव" प्रत्यक्ष अनुभव गर्ने रहरले आफूलाई यहाँ डोर्‍याएको बताउँछन्।

"मलाई गङ्गाले तानिन्, त्यसैले म आएँ। म नदीमा स्नान गर्छु किनभने मैले गङ्गासँगको सम्बन्ध महसुस गर्नुपर्छ।"

कुम्भमेला कति ठूलो?

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, पर्यटक र भक्तजनहरूका लागि प्रयागराजमा विभिन्न संरचना बनाइएको छ
  • ४,००० हेक्टर क्षेत्रफल
  • १.६ लाखवटा पाल
  • ४०,००० प्रहरी र सुरक्षाकर्मी
  • १५,००० सफाइ कर्मचारी
  • ५ लाखजति सवारीसाधन अट्ने ९९ वटा पार्किङ क्षेत्र
  • ३० वटा पन्टून पुल (धातुबाट निर्मित नाउहरूमाथि बनाइएको विशेष पुल)
  • ६७,००० वटा स्ट्रीट लाइट
  • १.५ लाख शौचालय र २५,००० फोहोरदानी
  • २०० वटा पानी एटीएम र ८५ वटा ट्यूबवेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अधिकारीहरूले ३० वटा अस्थायी पुल बनाएर आगन्तुकहरू सङ्गमसम्म पुग्न सजिलो बनाइएको बताएका छन्

भारत सरकारले कुम्भमेलाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार यो मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रुपैयाँजति राजस्व सङ्कलन गर्ने छ।

तर मेला सुरु हुनुभन्दा केही घण्टाअघि प्रगागराजमा हिउँदे वर्षा भयो। त्यस बेला मेला आयोजना हुने मैदानको धेरै भागमा तयारीको काम सकिएको थिएन। साधुसन्त र अन्य भक्तजन आफैँले बनाएका धेरै क्याम्पमा पानी आपूर्ति भइसकेको थिएन र बिजुली पनि अनियमित थियो।

शौचालयका हजारौँ क्यूबिकल ठड्याउन बाँकी नै थियो। पानीको आपूर्ति नभइसकेकाले बनिसकेका धेरै क्यूबिकलमा प्रयोग गर्न सकिने स्थितिमा थिएनन्।

तस्बिर स्रोत, Ankit Srinivas

तस्बिरको क्याप्शन, कतिपय भक्तजनले मेला आयोजनास्थलमा पर्याप्त सुविधा उपलब्ध नभएको बताइरहेका छन्

चतर्वेदीका अनुसार यो वर्ष बर्खामा परेको पानीको तह घट्न ढिलो भएकाले निर्माणको काम गर्न पर्याप्त समय भएन।

यद्यपि उनले भने, "तयारी लगभग सकियो र तीर्थालुहरूलाई स्वागत गर्दा सम्पूर्ण प्रणाली यथोचित स्थानमा हुने छ।"

ठूला अखडाका सन्त र अगुवाहरूले कुम्भमेलाजस्तो विशाल कार्यक्रम आयोजना गर्दा देखा पर्ने जटिलता आफूले बुझेको बताएका छन्। तर केही तीर्थालुले सुविधा नभएको भन्दै गुनासो गरेका छन्।

साठीवर्षे सन्त बाबा अमरनाथले हामीलाई प्रयागराजमा आफूले बाँसलाई कपडा र प्लास्टिकले छोपेर बनाएको आफ्नो 'कुटी' देखाए।

यसअघि आफू प्रशासनले बनाएको पालमा निःशुल्क सुत्ने गरेको स्मरण गर्दै उनले यसपालि त्यस्तो सुविधा नपाएको बताए।

"प्रहरीहरू मलाई यहाँबाट लखेट्न खोज्छन्। तर म कहाँ जाऊँ?"

"सबै जना यो मेला मजस्ता साधुका लागि हो भन्छन्। तर म चाहिँ सबै तयारी पर्यटकहरूका लागि मात्र गरेको देख्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।